उद्यमी बनाउन रत्ननगर नगरपालिकाले बिना व्याज लगानी गर्ने

चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगर युवाहरूलाई उद्यमी बनाउन बिना ब्याज, बिना धितो कर्जा लगानी गर्ने भएको छ ।

नगर प्रमुखसँग उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत आर्थिक अवस्था कमजोर रहेका र कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरूलाई उद्यमी बनाउन नगरपालिकाले उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उद्यमशीलता प्रवर्द्धन कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरेको र बिना धितो, बिना व्याज एक लाखदेखि १५ लाखसम्म कर्जा प्रवाह गर्ने योजना रहेको मेयर नारायण वनले बताए ।

केन्द्र सरकारको सहकार्यमा सञ्चालन हुने कार्यक्रमले आत्मनिर्भरताको लागि उत्पादन मूलक काम गर्ने युवाहरूलाई नगरपालिकाले एक लाखदेखि १५ लाख रुपैयाँसम्म बिना व्याज, बिना धितो कर्जा प्रदान गरिने छ ।

सो कार्यक्रम सञ्चालनको लागि कार्यविधि तयार भइसकेको र एक हप्ता भित्र सो कार्यक्रम सुरु गर्ने मेयर वनले बताए ।

सो कार्यक्रम सञ्चालनको लागि रत्ननगर नगरपालिकाले नेपाल बैङ्कसँग सहकार्य गर्ने छ । बैङ्क मार्फत कर्जा लगानी हुने सो कार्यक्रम अन्तर्गत नेपाल सरकारले महिला उद्यमीको लागि ६ प्रतिशत र पुरुष उद्यमीका लागि ५ प्रतिशत व्याज अनुदान र रत्ननगर नगरपालिकाले उद्यमीका लागि ३ प्रतिशत व्याज अनुदान दिने छ ।

कोरोनाको प्रभावका कारण विदेशबाट फर्केका युवाहरूलाई सो कार्यक्रममा समेट्ने योजना रहेको भन्दै कोरोनाका कारण स्वदेश फर्किएर केही गर्छु भन्ने भावना भएका युवाहरूलाई प्राथमिकतामा राखेर कर्जा लगानी गरिने बताए ।

सो कार्यक्रम अन्तर्गत तरकारी खेती, गाई, बङ्गुर, कुखुरा, बाख्रा पालन, सिलाइ कटाइ, व्यापार, व्यवसाय, मेसिनरी औजार, जग्गा सुधार, साना उद्योग, सेवा व्यवसाय, परम्परागत पेसा, प्राविधिक शिक्षा पढ्ने विद्यार्थी समेतलाई कर्जा लगानी गर्ने कार्यविधिमा उल्लेख छ ।

नगर प्रमुखसँग उद्यमशीलता प्रवर्द्धन कार्यक्रमले पहिलो चरणमा नगर भित्रका १०० जनालाई उद्यमी बनाउने गरी कर्जा लगानी गरिने छ ।

प्रतिक्रिया