ओबामाको टिप्पणी- ‘धाँधली भएको ट्रम्पको दाबीले प्रजातन्त्रको अवमूल्यन’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर वरिष्ठ रिपब्लिकनहरूले प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन् ।

सीबीएस न्यूजमा आगामी आइतवार प्रसारण हुने एउटा अन्तर्वार्तामा ओबामाले जो बाइडन यो निर्वाचनमा ‘स्पष्ट रूपमा विजयी’ भएको बताएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले गत साता गरेको मतगणना परिणामको प्रक्षेपणमा बाइडन निर्वाचित भएको देखिएको छ । तर अझै केही राज्यमा मतगणना जारी छ ।

मतदानमा धाँधली भएको भन्दै ट्रम्पले धेरैतिर मुद्दा हालेका छन् । तर उनको टोलीले त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण देखाएका छैनन् ।

ओबामाले के भने ?
ट्रम्पले पराजय बेहोर्न नचाहेको हुँदा उनले मतगणनाबारे अनर्गल दाबी गरेको ओबामाले आरोप लगाए । ओबामाको दोस्रो कार्यकाल सकिएपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । यो निर्वाचन सकिएपछि ओबामा पहिलो पटक बोलेका हुन् ।

कुरा राम्ररी बुझेका अन्य रिपब्लिकनहरूले ट्रम्पको भनाइलाई समर्थन गरेकोमा आश्चर्य प्रकट गर्दै ट्रम्पले भने, “यो बाइडन-प्रशासनलाई मात्र नभएर सामान्य रूपमै प्रजातन्त्रको वैधानिकतामा प्रश्न उठाउने थप एउटा कदम हो । त्यो खतरनाक बाटो हो ।” ओबामा आफ्नो नयाँ संस्मरणात्मक कृति सार्वजनिक हुनुअघि बोलेका थिए ।

पुस्तकमा के छ ?
‘अ प्रोमिस्ड ल्यान्ड’ नामक पुस्तकमा ओबामाको सांसददेखि राष्ट्रपतिको पहिलो कार्यकालसम्मका विषयहरू समेटिएका छन् । नोभेम्बर १७ मा सार्वजनिक हुने उनको पुस्तक ह्वाइटहाउसमा ओबामाको कार्यकाल समेटिएको दुईमध्ये पहिलो किताब हो ।

सीएनएनले उद्धृत गरेको संस्मरणको एउटा अंशमा ओबामाले भनेका छन्- शक्तिमा ट्रम्पको उदय एउटा अश्वेत व्यक्तिले देशको नेतृत्व गर्दाको त्रास देखाएर भएको थियो । “ह्वाइटहाउसमा मेरो उपस्थितिले गहिरो तनाव सिर्जना गरे जसरी त्यसो गरियो । त्यो प्राकृतिक लहर नै बिगारिए जसरी उत्पन्न गराइएको धारणा थियो,” उनको पुस्तकमा लेखिएको जनाइएको छ ।

“एउटा अश्वेत व्यक्ति ह्वाइटहाउसमा पुगेकोमा आश्चर्यचकित दशौँ लाख अमेरिकीहरूलाई [ट्रम्पले] उनीहरूमा रहेको जातीय त्रासको निदानको वाचा गरेका थिए ।” –बीबीसीबाट 

प्रतिक्रिया