अमेरिकी निर्वाचन : ट्रम्पले दायर गरेकाे ‘धाँधली’ निवेदन अदालतले गर्याे खारेज
काठमाडाैं । पेन्सलभानिया जिल्ला अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प पक्षले ‘अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली’ भएको भन्दै दिएको निवेदन खारेज गरेकाे छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट्स् उम्मेदवार जो बाइडेनका पक्षमा हुलाकमार्फत् कैयन् फर्जी मत खसेको, धाँधली भएकाे आरोप लगाउँदै ट्रम्प पक्षधरले अदालतमा दिएकाे निवेदन खारेज भएकाे सिएनएनले उल्लेख गरेकाे छ ।
संविधान उल्लंघन गर्ने अधिकार अदालतलाई नभएको उल्लेख गर्दै उक्त अदालतका एक न्यायाधीश म्याथ्यु ब्रायनले ट्रम्प पक्षको दाबीमा पुष्टि हुने आधार नदेखिएकाे बताएका छन् । जाे बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयास स्वरुप दायर गरेको मुद्दाका दाबीहरुलाई प्रमाणले साथ नदिने उनकाे भनाइ छ । ट्रम्प पक्षले बाइडेन पक्षमाथि कपोलकल्पित आरोपहरु लगाएकाे उनकाे ठहर छ ।
चुनावको नतिजा आफ्नो पक्षमा पार्ने सम्भावनाका लागि ट्रम्पले पेन्सिलभेनियाको मत आफ्नो पक्षमा पार्नै पर्ने हुन्छ । राज्यमा राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्र्याट जो बाइडेन ट्रम्प भन्दा ८१ हजार भन्दा बढि मतले अघि रहेका छन् । देशभर उनले ६० लाख भन्दा धेरै मतको अग्रता लिएका छन् ।
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति चुनाव भएको थियो । त्यसमा ट्रम्पलाई एक कार्यकालमा सीमित गर्ने गरि पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।
२०२० को चिर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आगामी २० जनवरीबाट सत्ता सम्हाल्दैछन् । राष्ट्रपति ट्रम्पले आफूले हारेको कुरा स्वीकार गरेका छैनन् । यद्यपि निर्वाचनमा बाइडेनकाे जीत ट्रम्प पक्षका पनि धेरैले स्वीकार गरिसकेका छन् । ट्रम्पले पनि निर्वाचन नतिजा स्वीकार गर्नुपर्ने ट्रम्प पक्षकै भनाइ छ । केही दिनअघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट आउसभित्र कमाण्डो पठाएर बाहिर निकाल्न सकिने बताएका थिए ।
एक अन्तर्वार्ताका क्रममा ओबामाले भनेका छन्, ‘यदि कोही ह्वाइट हाउसको कुनामा बसिरहेको भए मलाई लाग्छ, हामीले हाम्रो नेभिसील कमाण्डोहरू पठाएर जुनसुकै व्यक्तिलाई निकाल्न सक्छौँ ।’ नेभिसीललाई विश्वकै खतरनाक कमाण्डो टोलीका रूपमा लिइन्छ । सन् २०११ मे २ को रात पाकिस्तानको एबोट्टावादमा अल कायदाका नेता ओसामा बीन लादेनको हत्या यही नेभिसीलले गरेको थियो ।