माटोको ढिस्कोले पुरिएर मृत्यु
भक्तपुर । चाँगुनारायण नगरपालिका-५ छाँयाबस्तीस्थित बाटो निर्माण गर्ने क्रममा अचानक पहिरो खस्न गई त्यही बाटोमा काम गर्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका-४ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-५ छाँयाबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरीले पहिरोमा परेका ३ जनालाई उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौं पठाएको थियो ।
पहिरोमा परी घाइते भएका रामेछाप सुनापाती घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-५ छाँयाबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङलाई अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौं हुँदै थप उपचारका लागि टिचिङ अस्पतालतर्फ पठाइएको छ भने सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका-४ घर भई सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम लामा अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौंमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
उता, कालिकोट, रास्कोट नगरपालिका-९ गाउखेत फुगाड खोलामा माटो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर सोही ठाउँ पतलाझरना बस्ने १४ वर्षीया अम्बिका दर्जीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रासकोटबाट खटिएको प्रहरीले ई शव निकाल्ने कार्य गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।