‘घाम लागेपनि प्रदुषण बाँकी नै छ, बाहिर निस्कँदा सावधानी अपनाऔँ’

काठमाडौं । सोमबार र मंगलबार दिनभर काठमाडौंको आकाश धुम्म रह्यो । मंगलबार बढी प्रदुषण हुने विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बरमा पर्याे । आइक्यु एअरका अनुसार मंगलबार बिहान काठमाडौंको वायुमण्डलको ‘एयर क्वालिटी इन्डेक्स’ ३७२ पुगेको थियो भने सोमबार बिहान ४८७ रहेकाे थियो । तुवाँलोयुक्त वातावरणका कारण घर बाहिर निस्कँदा आँखा पोलेको महसुस गरिएकाे थियाे ।

वातावरण विभागले समेत बिहान र बेलुकी प्रदूषण अत्याधिक बढेको भन्दै बालबालिका, वृद्धवृद्धा एवम् दम, मुटु, फाेक्साेका राेगीलाई सकेसम्म घर बाहिर ननिस्कन अपिल जारी गर्यो । घर बाहिर निस्कनै परे पनि विशेष सावधानी अपनाउन विभागको आग्रह थियो । बुधबार भने काठमाडौंको आकाश सफा देखिएको छ । बिहानदेखि घाम लागेको छ । वातावरण विभागको तथ्यांकले पनि काठमाडौंमा अहिले एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १३१.८ मा झरेको जनाएको छ ।

घाम लागेपनि वायु प्रदुषण कायमै रहेकाले अझै पनि सावधानी अपनाउन जरुरी रहेकाे वातावरणविद् भुषण तुलाधर बताउँछन् । यस सन्दर्भमा हामीले वातावरणविद् तुलाधरसँग कुराकानी गरेका छाैँः

प्रदुषणबाट जोगिन सावधानीका उपाय के-के हुन सक्छन् ? 

पहिलो कुरा त, कुन स्थानमा बढी प्रदुषण छ, त्यो स्थानमा सकेसम्म नजाने । जस्तो कि, सवारी साधनको चाप भएका, कुनै वस्तु जलाइरहेका ठाउँमा नजानु नै स्वास्थ्यका लागि उत्तम हुन्छ ।

दोस्रो भनेको कुन समयमा बढी प्रदुषण हुन्छ, त्यो समयमा घर बाहिर ननिस्कने । काठमाडौं उपत्यकाको सन्दर्भमा बिहान ८/९ बजे प्रदुषण पिकमा जान्छ भने दिउँसो १२/१ बजेदेखि कम हुँदै जान्छ । प्रदुषण कम हुने समयमा मात्रै बाहिर निस्कन सकिन्छ।

र तेस्रो भनेको सुरक्षा हाे, सुरक्षाका लागि मास्क लगाउन सकिन्छ । कोभिडका लागि मात्रै होइन, वायु प्रदुषणका लागि पनि मास्क केही हदसम्म उपयोगी हुन्छ ।

वायु प्रदुषणले मानव स्वास्थ्यमा कस्तो असर गर्छ ?

वायु प्रदुषणले शरीरका हरेक अंगमा असर पुर्याउँछ । विशेषगरी यसले श्वासप्रश्वासमा समस्या निम्त्याउँछ । मुटु, फाेक्साे लगायतका राेगकाे जाेखिम बढाउनुका साथै यसले गर्भमा रहेकाे शिशुमा समेत असर पुर्याउँछ ।

केहि अध्ययनले नेपालमा मुटु रोगबाट ज्यान गुमाउनेहरू मध्ये ३७ प्रतिशतकाे कारण वायु प्रदुषण रहेकाे छ । यस्तै नेपालमा वायु प्रदुषणकै कारणले वर्षेनी ४२ हजार भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको समेत विभिन्न अनुसन्धानमा खुलेकाे छ । यो भनेको दिनको १ सय १५ जनाकाे दर हो ।

यी राेगहरूकाे कारक बाहिरको वायु प्रदुषण मात्रै होइन, यसमा ठुलो हिस्सा घरभित्रको वायु प्रदुषण रहेको छ । नेपालमा अहिले पनि दुई तिहाइ घरमा परम्परागत चुलो रहेको छ । दाउरा, गुइँठा बालेर मानिसहरुले खाना बनाउने गर्छन् । यसले विशेषगरी महिला र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पारेको छ ।

वायु प्रदुषणले आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा  घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउनुपर्छ ।

वायु प्रदुषण कसरि कम गर्न सकिन्छ ?  

अहिले काठमाडौंभित्र नै वायु प्रदुषणका स्रोत बढेका छन् । जाडो मौसममा मानिसले ताप्ने आगोबाट निस्किएको धुवाँले पनि प्रदुषण बढाउँछ । अर्को भनेको काठमाडौं बाहिरबाट पनि वरिपरिको डँढेलोका धुवाँहरु आएको छ, त्यसकारण प्रदुषण ह्वात्तै बढेको हो । त्यसमाथि मौसमको कारणले प्रदुषण बाहिर जान नपाएका कारण पनि प्रदुषण बढेको देखिएको हो ।

अहिले मौसम खुलेका कारण प्रदुषण बाहिर गइरहेको छ । हावाले सबैतिर प्रदुषण छरेका कारण काठमाडौंको वायु सफा देखिएको छ । यद्यपी प्रदुषण नै नरहेकाे भने हाेइन । प्रदुषण हुन नदिन विभिन्न उपाय अपनाउन सकिन्छ ।

विशेषगरी काठमाडौं उपत्यकाको हकमा वायु प्रदूषणजन्य स्रोतहरुको वृद्धि तथा तिनीहरुले उत्सर्जन गर्ने प्रदूषणको उच्च मात्राले गर्दा सबैभन्दा बढी प्रदूषित भएको देखिन्छ । उपत्यकाको जनसंख्यामा तीव्र वृद्धिसँग बढेकाे शहरीकरण तथा अव्यवस्थित उद्याेग-कलकारखानाहरूले प्रदुषण बढाइरहेकाे छ । प्रदुषण घटाउन सर्वप्रथम त अव्यवस्थित उद्याेगहरूलाई व्यवस्थित बनाउन जरुरी छ।

कृषियोग्य जमिनको निरन्तर ह्रास, पुराना सवारी साधनहरुको बढ्दो चाप, ट्राफिक, सडक, ढल, खानेपानी जस्ता भौतिक पूर्वाधारहरुको अवैज्ञानिक व्यवस्थापनलाई वैज्ञानिक तवरबाट व्यवस्थित बनाएमा पनि केही हदसम्म प्रदुषण राेक्न सकिन्छ । फाेहाेर व्यवस्थित रूपमा बिसर्जन गर्ने, विभिन्न चेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेर जनस्तरमा वातावरणीय चेतना फैलाउने र वातावरणमैत्री पूर्वाधार विकासमा जाेड दिने हाे भने प्रदुषण कम गर्न सकिन्छ ।

प्रतिक्रिया