पहुँचवालाको मात्रै पहुँचमा नपुगोस् काेभिडविरूद्धको खोप
- सृष्टि नेपाल
काठमाडौं । काेभिड १९ काे खाेप बनेकाे खबरले याे महामारीसँग जुधिरहेकाे विश्वलाई थाेरै भएपनि राहत दिएकाे छ । काेभिड १९ विश्वब्यापी रुपमा फैलँदै र नयाँ स्वरुपमा परिवर्तित हुँदै गरेकेा सन्दर्भमा नेपालमा पनि खाेपका कारण केही खुशी छाएकाे छ । भारतले अनुदानमा दिएको पहिलाे लटकाे १० लाख डाेज काेभिडविरूद्धको खोप काठमाडाैँ आइसकेको छ ।
आयातित पहिलो लटको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने र त्यहीँबाट आवश्यकता अनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा खोप पठाउने तयारी रहेकाे सरकारले जनाएकाे छ । ७७ वटै जिल्लामा एकैसाथ खोप लगाउने अभियान तत्कालै सुरु गरिने सरकारले जानकारी दिएको छ ।
भण्डारणदेखि वितरणका तयारी समेत सकिएकाे सरकारले दाबी गरिरहेका बेला नागरिकमा भने खाेप पहुँचवालाले मात्रै पाउने त हाेइनन् ? भन्ने शँका जन्मिएकाे छ ।
याे शंका जन्मनुका पछाडि विगतका अपारदर्शी गतिविधि नै मूख्य हुन् । हुन त सरकारले पहिलाे लटकाे खाेप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत काेभिडविरूद्ध अग्रपंक्तिमा खटिएका योद्धाहरूलाई लगाउने भनेको छ । तर सरकारकाे भनाइ र गराईमा फरक हुँदै आएका कारण पनि सरकारले जनाएका प्रतिबद्धता नागरिकलाई फुस्रो लाग्ने गरेकाे छ ।
त्यसमाथि पीपीई, पीसीआर परीक्षणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी भन्दा पहिले नेता, कार्यकर्ता तथा पहुँचवाला व्यक्तिले मात्रै पहिलाे प्राथमिकता पाएका कारण पनि खाेप वितरणमा समानता हुन्छ भन्नेमा विश्वस्त हुन सकिने अवस्था छैन ।
यदि सरकारले खाेप वितरणमा पनि ‘पीपीई-पीसीआर काण्ड’ दाेहाेर्याए नेपालमा फेरि काेभिड १९ काे नयाँ प्रजाति समुदायस्तरमा फैलन सक्ने सम्भावना प्रबल रहन्छ । चिकित्सक समेत खाेपबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएमा अग्रभागमा खटिने जनशक्तिकाे अभाव हुनेमा शंका छैन ।
विश्वकै अर्थतन्त्र शिथिल बनेकाे अवस्थामा नेपालमा काेभिडकाे नयाँ प्रजातिकाे संक्रमण फैलिए लकडाउनकाे स्थिति आउनेछ र कति नागरिक भाेकभाेकै प्राण त्याग्न बाध्य हुनेछन् । त्यसमाथि अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड विपरित भइरहेका प्रदर्शन, भेला, समाराेहले पनि नयाँ प्रजातिकाे संक्रमण फैलाउन भूमिका खेल्नेमा दुई मत छैन । याे अवस्थामा अग्रपंक्तिमा खटिएकाले खाेप पाएनन् भने काेभिडकाे भन्दा तीव्र गतिमा फैलन सक्ने क्षमता भएकाे नयाँ प्रजातिकाे संक्रमणले फेरि कयाैँकाे ज्यान लिनेछ, कतिकाे व्यवसाय उजाडिनेछ ।
काेभिडकाे खाेप नबन्दाकाे चिन्ता अलग्गै थियाे, तर भ्याक्सिन बनिसक्दा पनि फेरि लकडाउन गर्नुपर्याे भने नेपालकाे शिथिल अर्थतन्त्र झनै शिथिल बन्नेछ । पुन: राेजगारी पाउँदै गरेका कयाैँ नागरिककाे राेजिराेटी खाेसिनेछ । उद्याेग कलकारखाना बन्द हुनेछन् । स्वदेशमै उत्पादन हुने वस्तुहरु खेर जानेछन्, उत्पादनमा ह्रास आउनुका साथै हरेक खाद्यवस्तु आयातमै निर्भर हुनेछ । नेपाली नागरिकले प्राण बचाउन पनि विदेशी मुलुकको भर पर्नुपर्ने स्थिति आउनेछ ।
अब्यवस्थित बिगत
सन् २०१९ काे डिसेम्बरमा चीनमा कोभिड १९ संक्रमण फैलिँदै गर्दा विश्वभरका नागरिक चिन्तित थिए । महिनौँसम्म लकडाउन हुँदा स्कुल, कलेज, उद्योग कलकारखाना बन्द भए । त्यहाँबाट विदेशी विद्यार्थी र कामदार समेत त्रासमा स्वदेश फर्किए ।
विश्व स्वास्थ्य संगठनले कोभिड १९ संक्रमण विश्वभर फैलने चेतावनी दिइरहेका बेला नेपालमा भने ‘भिजिट नेपाल–२०२०’ चलिरहेको थियो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नेपालमा कोरोना नआउने दाबी गर्दै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने चेष्टा समेत गरेनन् । उल्टाे देश-विदेश पुगेर प्रचार-प्रसारमा प्रतिनिधि खटाए ।
समयमै सचेतना नअपनाउँदा नेपालमा पनि माघमा पहिलाे पटक कोरोना संक्रमित बिरामी भेटिए । त्यतिबेलासम्म पनि नेपालमा तयारी शुन्य थियो । स्वास्थ्य सुरक्षाका सामग्रीहरु समयमा नआउँदा चिकित्सकहरु छुन त परै जाओस् कोरोना संक्रमितको छेउसम्म पर्न डराएका थिए । बिरामीलाई बन्द कोठामा उसकै हालतमा छोडिदिनु चिकित्सककाे बाध्यता थियाे ।
राहतको अवस्था उस्तै थियो, पहुँचवालाको रजाईँ । निमुखा गरीब भोकभोकै रात बिताउन बाध्य भए ।
उता क्वारेन्टिन अव्यवस्थित हुँदा सम्भावित संक्रमितको समेत भागाभाग चल्यो र समुदायस्तरमा फैलियो काेभिड १९ संक्रमण । संक्रमणको तीव्र गतिलाई मध्यनजर गर्दै सरकारले पीपीई लगायतका स्वास्थ्य सामग्री त ल्यायो तर जसले पाउनुपर्ने हो, त्यसैको हातमा परेन । न त खरिदमा पारदर्शीता नै अपनायाे । संकटका घडिमा समेत भ्रष्टाचारकाे दुर्गन्ध फैलिएपछि नागरिक सरकारप्रति निराश देखिन्थे, निराश सुनिन्थे ।
छिमेकी मुलुकबाट मगाइएकाे पीपीई सेट पनि नेता, कार्यकर्ता लगायत पहुँचवालाले मात्रै पाए । पीपीईमा फोटो खिचाउने, पिसिआर रिपोर्ट हप्तैपपिच्छे सामाजिक सञ्जालमा सार्वजनिक गर्ने होडबाजी नै चल्यो, उनीहरूकाे । यता चिकित्सकको भने रुवाबासी । संक्रमणकाे डरसँगै डेरामा पस्नै नपाउनेगरी घरबेटीकाे दुर्व्यवहार समेत खेप्नुपर्याे । आफ्नै टोल छिर्दा समेत ठाउँ-ठाउँमा कुटिए तर चिकित्सकले हार भने मानेनन् । उनीहरू कति पनि विचलित नभइ काेभिड बिरामीकाे उपचारमा खटिए ।
चिकित्सक, सुरक्षाकर्मीकाे रात-दिनकाे एकाेहाेराे खटाइका कारण अहिले केही हदसम्म काेभिडकाे लडाइँ लड्न नेपाल सफल भएकाे छ । काेराेना संक्रमित र मृतक दर घट्दाे छ । निकाे हुनेकाे संख्या बढिरहेकाे छ ।
त्याे तिताे विगत भुलिँदै गर्दा अहिले फेरि कोभिडको नयाँ प्रजातिको संक्रमणको बिउ हुर्किँदै छ । विश्वका १० भन्दा बढी देशमा नयाँ स्वरुपको कोरोना फैलिसकेको छ । नेपालमा पनि तीन जनामा संक्रमण पुष्टि भइसकेको छ ।
त्यसैले पनि, फेरि लकडाउनकाे स्थिति आउन नदिन, भर्खरै तंग्रिँदै गरेकाे अर्थतन्त्र पुनः धर्मराउन नदिन पनि नेता, कार्यकर्ताका आसेपासे, चाकडीबाजले भन्दा काेभिडविरूद्ध खटिएका असली योद्धाले खोप पाउन जरुरी छ । त्यसैले सरकारले मुखले मात्रै नभइ व्यवहारमा पनि खाेप वितरण पारदर्शी बनाउन जरूरी छ ।