लागू औषधसहित दुई जिल्लाबाट चार जना पक्राउ
काठमाडौं । अवैध लागू औषधसहित विभिन्न दुई जिल्लाबाट चार जना पक्राउ परेका छन् ।
कास्कीकाे पोखरा महानगरपालिका-५ जिरो किलोबाट अवैध लागूऔषध ४ किलो गाँजा सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बगर बस्ने कपिलवस्तु बिजयनगर गाउँपालिका-१ घर भएका २२ वर्षीय अर्जुन घर्ती मगर र स्याङ्जा पुतली बजार नगरपालिका-१४ घर भएका २२ वर्षीय सफल ढकाल रहेका छन् ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
यस्तै कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ तुमनाडीबाट ७ ग्राम ४ सय ९० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० सुकासाल बस्ने ३५ वर्षीय बिनोद चन्द र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय सुवाश लुहार रहेका छन् ।
लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सीमा प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।