हाम्राे लडाइँ कुर्सी र पदकाे लागि हाेइन : माधव नेपाल
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको लडाइँ गलत विचारको विरुद्ध भएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफूहरुको लडाइँ सहि विचारको निम्ति र गलत विचारको विरुद्ध भएकाे बताएका हुन् । आफूहरुको लडाइँ पार्टीभित्र पद र कुर्सीकाे हानाथापमा भएको नभई पार्टीलाई विचार, विधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति भएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको बताए । प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भएपनि सत्तामा बसिरहन चाहेको उनले जिकिर गरे ।
कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विगत ३ वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेकाे बताए । माजवादी बाटो छोडेर भद्दा किसिमको पुँजीवादी उदारवाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उनकाे भनाइ छ । ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको आरोप पनि उनले लगाए ।
कार्यक्रममा वरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्र माथिको आक्रमण भएको तर्क गरे । प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरेकाे उनकाे भनाइ छ ।