औषधि विभागलाई प्रदेशमा विस्तार गर्नुपर्छ : मन्त्री बराल
रुपन्देही । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सङ्घीय सरकार अन्तर्गत रहेको औषधि विभागलाई सङ्घीय संरचना अनुसार प्रदेशमा पनि विस्तार गर्नुपर्ने बताएका छन् ।
बुटवलमा आज आयोजित नेपाल औषधि व्यवसायी सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा मन्त्री बरालले केन्द्रले औषधि विभागलाई प्रादेशिक संरचनामा विस्तार गरेमा विभागको प्रभावकारिता बढ्ने बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले विभागमा देखिएको जनशक्ति व्यवस्थापनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायी र सरकारबीच समन्वय बढाउने बताए ।
लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक शिव ज्ञवालीले कार्यक्षमतामा देखिएका समस्यालाई निराकरण गर्न व्यवसाय सहायक तालिमको आवश्यक रहेको बताए ।
तदर्थ समितिका सहसंयोजक अभयकुमार बस्नेतले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण मानिएको औषधि आपूर्तिमा योगदान पुर्याउँदै आएका व्यवसायीको समस्यालाई लिएर सरकार थप गम्भीर बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा सङ्घले प्रकाशित गरेको ‘सन्देश’ नामक पुस्तक विमोचन गरिएको छ ।
सङ्घीय संरचनाअनुसार सङ्घको संरचना गठन गर्नका लागि प्रथम अधिवेशन बुटवलमा भएको हो । अधिवेशनले आगामी तीन वर्षका लागि प्रदेशस्तरको नेतृत्व चयन गर्दैछ ।
विसं २०३० असार १० गते स्थापना भएको सङ्घमा देशभर करिब २८ हजार बढी व्यवसायी रहेका छन् भने लुम्बिनी प्रदेशका १२ जिल्लामा करिब चार हजार ८०० व्यवसायी रहेका छन् । रासस