डा. पाण्डेकाे खाेप अनुभव : ‘सामान्य रिंगटा लाग्याे’

काठमाडाैं । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डले काेभिड १९ विरुद्धकाे खाेप लगाएपछि आफ्नो शरीरमा सामान्य लक्षण देखिएकाे बताएका छन् । आज (आइतबार) फेसबुकमा आफ्नो खोप अनुभव सुनाउँदै उनले खाेप लगाएर घरमा आएपछि सामान्य वाकवाकी, रिंगटा, जीउ दुख्ने, जाडो हुने तथा शरीर तातो हुने लक्षण देखिएकाे बताए । रातिदेखि खोप लगाएको हात हल्का दुखेको पनि उनले बताएका छन् ।

उनले सबै नागरिकलाई पुग्ने गरि खाेप ल्याउने ब्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

यस्ताे छ डा. पाण्डेकाे खाेप अनुभव

हिजो कोरोनाको खोप लगाएको ५ मिनेटपछि अनुहारमा टिमुर खाएजस्तो रमरम भयो । घरमा आएपछि सामान्य वाकवाकी, रिंगटा, जीउ दुख्ने, जाडो हुने तथा शरीर तातो हुने लक्षण देखियो । रातिदेखि खोप लगाएको हात हल्का दुखेको छ । अरू लक्षण हराए ।

मसँगै खोप लगाएका स्वास्थ्यकर्मीहरूलाई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर लुलो भएजस्तो हुनेलगायत लक्षण देखिएका थिए । उहाँहरू आज फ्रेस हुनुहुन्छ । कोरोनाको खोपले एकाध स्वास्थ्यकर्मीलाई बाहेक गम्भीर लक्षण देखिएको छैन ।

खोप केन्द्रमा आफ्नो स्वास्थ्य अवस्था राम्रोसँग बताएर मात्र खोप लगाउने हो भने गाह्रो हुँदैन । आफू स्वस्थ भएको समयमा, खाना तथा पानी प्रशस्त सेवन गरेर एवम् उच्च मनोबलसहित खोप केन्द्रमा जानुहोला ।

हामी सबै नागरिकलाई पुग्नेगरी खोप ल्याउन सरकारले कूटनीतिक तथा व्यवस्थापकीय कौशलता प्रयोग गरोस् ।

प्रतिक्रिया