बर्डफ्लु नियन्त्रणका लागि कृषि मन्त्रालयले बनायाे ‘र्यापिड रेस्पोन्स टीम’

 

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि ‘र्यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले जानकारी दिए । सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताए ।

कुनैपनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल र्यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि उनले बताए । नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पारे । उनका अनुसार अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट हाे, याे भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा  छ । तर एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइरहेकाे उनले जानकारी दिए ।

मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरुलाई सतर्क रुपमा राखेको पनि उनले बताए । साथै उनले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा छन्,  ठूलो मात्रामा कुखुरा मरेको पाइएमा तत्काल जानकारी गराउन समेत आग्रह गरेका छन् ।

त्यसबाहेक कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन उनले आग्रह गरे ।

उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सक्ने उनकाे भनाइ छ । मन्त्रालयले स्थानीय निकायहरुसँग पनि समन्वय गरी अनुगमन गरिरहेकोले कसैले मरेका कुखुरालाई काटेर विक्री वितरण गरेको पाइए कारबाही गर्ने समेत उनले बताए ।

प्रतिक्रिया