गाडी चढेर आमहड्तालमा सहभागी हुन पुगे प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडाैंमा पनि परेको छ ।

बिहीबार बिहानैदेखि काठमाडाैं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् । छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपांग्रे सवारी साधन भन्दा बढी दुई पांग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आह्वानकर्ताहरुले बिहानैदेखि चोक-चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन् ।

बन्द सफल पार्न भन्दै शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । नेता पुष्पकमल दाहाल नै सडकमा आएका थिए । देशव्यापी आमहड्ताल आह्वान गरेका दाहाल आफैँले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर आमहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए । गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीच सडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यसपछि उठेर फेरी गाडी चढेर उनी जावलाखेल तर्फ लागेका थिए ।

गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गर्नुभएको थियो । उनीसँगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरुले विभिन्न स्थानबाट जुलुस सहित प्रदर्शन गरेका थिए । चावहिल चोक बाट बिहान प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नियन्त्रणमा लिएको छ ।

यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट दर्जनौ बन्द आह्वानकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । आमहड्ताल सफल बनाउन प्रचण्ड- माधव समूहले काठमाडाैंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चाबहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिइएकाे थियो । उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

प्रतिक्रिया