नक्कली नोटसहित तीनजना पक्राउ

काठमाडौं । नक्कली नाेटसहित कञ्चनपुरबाट २ जना पक्राउ परेका छन् ।

जिल्लाकाे बेलौरी नगरपालिका-१० भुडाबाट १ हजार दरको १ थान र ५ सय दरको २ थान नक्कली नोट, ३ सय ८० वटा विभिन्न नोट साईजका कागज र केमिकल जस्तो कलेजी रंगसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा पुनर्बास नगरपालिका-६ बस्ने ४५ वर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका-१४ बौद्ध बस्ने ३३ वर्षीय बिष्णु भट्ट रहेका छन् । नेपाल भारत सीमा नाकाबाट नेपालतर्फ आउने क्रममा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त नक्कली नोट फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यस्तै पर्सा, वीरगञ्ज महानगरपालिका-१३ राधेमाईबाट भारतको मोतीहारी रक्सौल बस्ने २२ वर्षीय अमनदिप कुमार सिंहलाई १ हजार दरको १ सय ९३ थान जाली नोट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बिआर ०५ एएम ६०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त जाली नोट र ३ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया