ओलीको कदमले गणतन्त्र जोखिममा : बस्नेत
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् ।
सोमबार शहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको विरोध र्याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताएका हुन् । प्रधानमन्त्री ओलीले यि सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेको उनको भनाइ छ ।
नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्ति लगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्यमान्यतालाई पनि सम्मान नगरेको बताए ।
ओलीको जनबिरोधी कदमका विरुद्ध शसक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको उनकाे भनाइ छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता भएको पनि उनले बताए । संसद पुन:स्थापना पहिलो प्राथमिकता रहेको नेता बस्नेतले बताए ।