सरकारबाट अख्तियार कुनै हस्तक्षेप हुँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् ।
अख्तियार दिवसको अवसरमा आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अख्तियार सरकारको लाचार छायाँ नभएको उल्लेख गर्दै निष्पक्ष र ढुक्क भएर काम गर्न पदाधिकारीहरूलाई आग्रह गरेका हुन् ।
‘अहिलेको सरकारबाट अख्यितारमा कुनै हस्तक्षेप हुँदैन । आफ्नो जिम्मेवारी निष्पक्ष ढंगले पुरा गर्नूस् । देश र जनतालाई केन्द्रमा राखेर सुशासनको मान्यतालाई शिरमा राखेर काम गर्नुस्’, उनले भने ।
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताकाे नीति लिएकाे स्पष्ट पार्दै प्रम ओलीले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार पनि प्रभावकारी भएर अघि बढ्नुपर्ने बताए । उनले अख्तियारलाई प्रभावित पार्न विभिन्न ठाउँबाट धम्की आउने उल्लेख गर्दै उनले भने, ‘तपाईंहरुलाई धम्की आउन सक्छ, सरकारले सुरक्षा दिन्छ । त्रासमुक्त भएर काम गर्नुस् ।’