गैंडा तस्करी गरेकाे अभियाेगमा १४ जना पक्राउ

  • ध्रुवराज खनाल

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करी गरेकाे अभियाेगमा पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेकाे छ ।

निकुञ्ज मुख्यालय परिसरमा बुधबार पत्रकार सम्मेलन गरि निकुञ्जले पछिल्लो ४५ दिनमा गैंडा मारेर खाग तस्करी गरेकाे अभियाेगमा पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेको हो । यसअघि शिकार गर्नेलाई मात्र पक्राउ गर्ने गरिएकोमा पछिल्लो पटक कारोबारीलाई नै समाउन सफल भएको निकुञ्जले दाबी गरेकाे छ ।

तस्करमा संलग्न यति धेरै ठुलो संख्यामा सार्वजनिक गरिएको पहिलो घटना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । विभिन्न मितिमा देशका विभिन्न स्थानबाट उनिहरुलाइ पक्राउ गरिएको थियो । चोरी शिकारिमा संलग्न अन्य १८ जना भने फरार रहेको बरालले बताए ।

पक्राउ पर्नेको साथबाट तस्करमा प्रयोग हुने बन्दुक देखि गाडी समेत बरामद गरिएको छ । एउटा स्कारपियो गाडी, एउटा मोटरसाइकल, गाडीको ट्युब,भरुवा बन्दुक २ थान, बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर, पैसाको बण्डल जस्तो देखिने २३ थान बरामद गरिएको वाडेन बरालले जानकारी दिए ।

२०७७ साल भदौ १६ गते निकुञ्जको आइल्याण्ड क्षेत्रमा एउटा वयस्क भाले गैंडालाई गोली प्रहार गरि तस्करले मारेकोमा भदौ २१ गते गैंडा मृत फेला परेको थियो । यस्तै यसै बर्षको कार्तिक १९ गते आइल्याण्ड टापुको मर्दी घोलमा २२ बर्षको पोथी र अन्दाजी ३ बर्षको बच्चा गैंडा खाग काटिएको अवस्थामा फेला परेको थियो ।

एउटा गैंडा भने गत आर्थिक बर्षमा मारिएको थियो । गत बर्ष र यो आर्थिक बर्षमा ४ वटा गैंडा चोरी शिकारीबाट मारिएको छ । चितवन निकुञ्ज ,नेपाली सेना र नेपाल प्रहरिको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनिहरुलाई पक्राउ गरेको थियो । पत्रकार सम्मेलनमा नेपाली सेनाको बटुकदल गणका गणपती अरुण श्रेष्ठ, ब्युरोका डिएसपी राजकुमार राई लगायत सहभागी थिए ।

प्रतिक्रिया