दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डकाे चेतावनी
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।
बुधबार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले जनताको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख जनता आउने बताएका हुन् ।
विरोध सभामा पाँच लाख मानिसहरु सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ हेरेर ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गरे । उनले संविधानको मर्म, भावना र नेपाली जनताको चाहाना विपरितका काम भए दुर्भाग्य हुने समेत बताए । विरोध सभाको उपस्थितिले सर्वोच्च अदालतलाई फैसला गर्न सहज हुने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका छन् । ७० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा आफुहरु आधिकारिक पार्टी भनि दश दिनभित्रै निर्वाचन आयोगमा भनेको उल्लेख गर्दै उनले त्यसलाई हिसाब नगरी केपी ओलीको धम्क्याईलाइ मात्रै हिसाब गरे अयोगको खुट्टी नेपालले देख्ने उनको भनाई छ ।
संवैधानिक निकायमा पुगेका मान्छेहरुले खेलाची ठाने देश र जनताले दुःख पाउने भन्दै अध्यक्ष प्रचण्डले त्यस्तो गल्ती कसैले गर्नु नहुने बताए । उनले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रह समेत गरे ।
अध्यक्ष प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु फर्किन थालेको समेत दाबी गरे । ओली सरकारका दुईजना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किनका लागि आफूसँग वार्ता गरिरहेको उनले दाबी गरे । प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा राम मन्दिर बनाउने बताएको बताउँदै उनले उक्त भूमि रामभूमि भएको ऐतिहासिक र पुरातात्विक रुपमा प्रमाणित गर्न अनुसन्धान गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले आफूसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको पनि बताए । उनले प्रधानमन्त्री ओलीलाई राजिनामा दिन सुझाव पनि दिएका छन् ।