‘महिलालाई विदेश भ्रमणमा जान परिवारकाे स्वीकृती अनिवार्य नीति विभेदकारी’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘महिलालाई विदेश भ्रमणमा जान परिवारकाे स्वीकृती अनिवार्य’ नीति विभेदकारी रहेकाे भन्दै आपत्ति जनाएका छन् ।
बुधबार अध्यागमन विभागले विदेश भ्रमणसम्बन्धि कार्यविधिमा संशोधन गरि खाडी मुलुकमा पहिलोपटक भ्रमण गर्ने महिलालाई परिवारको सहमति वा वडाको सिफारिस अनिवार्य चाहिने प्रावधान राख्न सिफारिस गरेकाे थियाे । खाडीमा महिला कामदारको तस्करी नै हुने र उनीहरु जोखिममा रहेको भन्ने गुनासो आएपछि यस्तो व्यवस्था गरिएको विभागकाे भनाइ छ ।
यद्यपी यसकाे चाैतर्फी रूपमा विराेध भइरहेका बेला अध्यक्ष थापाले पनि यसबारे आपत्ति जनाएका हुन् । उक्त प्रस्तावकाे विराेध गर्दै अध्यक्ष थापाले यो कार्य कुनै हालतमा अघि नबढाउन आग्रह गरे ।
‘४० बर्षमुनिका नेपाली महिलालाई विदेश भ्रमणमा जाँदा वडा र परिवारको स्विकृती र सिफारिस आवश्यक पर्ने गरी नीति/नियमावली संशोधन गर्न लागेको बुझिएको छ,’ अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्, ‘यस्तो विभेदकारी, अनुचित, अव्यवहारिक र अमर्यादित सोच आपत्तिजनक छ । यो कार्य कुनै हालतमा अघि नबढाइयोस् ।’