काठमाडाैंमा वाटर एटिएम

काठमाडाैं । खानेपानी मन्त्रालय, काठमाडाैं महानगरपालिका र काठमाडाैं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीबारदेखि काठमाडाैंमा वाटर एटिएम सञ्चालनमा आएको छ ।

बिहीबार एक कार्यक्रमका बिच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरेका हुन् । पहिलो चरणमा  रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम सञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा  स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ । वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिर्नुपर्नेछ ।

प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटिएमलाई ३ महिनासम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ । यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ ।

एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ । काठमाडाैं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिए ।

काठमाडाैंमा पिउने पानीको समस्या भइरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले आम सर्वसाधरणलाई सुलभ मुल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ ।

एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ । काठमाडाैं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटिएमको लागत २ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया