झाँक्री पक्राउबारे प्रचण्ड भन्छन्- हामीले रोक्न निकै बल गरेका थियाैँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित आदिवासी जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीले नेतृ झाँक्रीलाई पक्रन आदेश दिएको दाबी गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई पक्रिनै पर्यो, जसरी भएपनि पक्राउ गर भन्या छ भन्ने थियो । हामीले रोक्न बल गर्यौँ हिजो बेलुकादेखि बिहानसम्म पनि । अहिले खबर आयो उनीहरुले जबरजस्ती कमरेड रामकुमारीलाई पक्राउ गरेर लिएर गएका छन् ।’

झाँक्रीलाई पक्राउ गरेको घटनाले सरकारले उत्पीडित वर्ग जातीका प्रतिनिधिमाथि नै निसाना बनाएको भन्दै अध्यक्ष दाहालले त्यसविरुद्ध एकजुट हुन पनि आव्हान गरे ।

उत्पीडित जातीको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सके जति उपलब्धि प्राप्त गरेको भन्दै उनले थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने बताए । कुनै एउटा वर्गको विचारले सम्पुर्णरुपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही नराम्रा पक्ष पनि रहेको भन्दै उनले जीत्ने र हार्नेका बीचको सम्झौताको रुपमा बुझिदिन पनि उनले आग्रह गरे ।

उनले विगतमा भन्दा तुलनात्मक रुपमा स्थानिय तहदेखि केन्द्रसम्मको प्रतिनिधित्व कायम गर्न सक्नु पनि उपलब्धि नै भएको भन्दै त्यस प्रकारको उपलब्धि जोगाई राख्नका लागि सरकारको प्रतिगमन विरुद्ध एकजुट हुन पनि सबैलाई अपिल गरे ।

प्रतिक्रिया