रत्न पराजित

काठमाडाैं । नेपालका नं. १ खेलाडी रत्नजित तामाङ पराजित भएका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनल प्रवेशका लागि भएको पुरुष एकल स्पर्धामा सेनाका रत्नजित सेनाकै क्लबका हिमाल चन्दसँग पराजित भएका हुन् ।

प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका तामाङ्ग २१.१६, १३.२१, १२.२१ ले  पराजित भएका हुन् । पुरुष एकलमा जोड दिँदा अझ बढि चोट ब्यहोर्नुपर्ने भएकाले पुरुष युगलका लागि आफूलाई सुरक्षित राखेको तामाङ्गले बताए ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका प्रिन्स दाहाल, भोजपुरका पूर्व नम्बर एक खेलाडी विकास श्रेष्ठ, सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठ, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन र एपिएफका दीपेश धामी रहेका छन् ।

यु १७ ब्वाईजतर्फ सेनाका भोजबहादुर गुरुङ्ग, दाङ्गका हिमांशु कवार मगर, कपिलवस्तुका रोहित बराल, सेनाका आयुष्मान नागरी, दाङ्गका सुरज गुप्ता, सेनाका हिमाल चन्द, कञ्चनपुरका विवेक चौधरी र सुर्खेतका नरेन्द बामले पनि अन्तिम-८ मा स्थान बनाए ।

राष्ट्रिय वरियताको २० देखि बाहेकका खेलाडीहरुको पुरुष युगल तर्फका खेलमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।

यस्तै साईनो र जेष्ट ब्याडमिन्टन एकेडेमीका राम बानिया र इन्द्र महताको जोडी, एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडी, कास्कीका भुगोल गुरुङ्ग र विशाल खड्का, एपिएफका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडी, साईनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा सेनाका भोज बहादुर गुरुङ्ग र दीवस शंकर जोडी पनि क्वाटरफाइनल प्रवेश गरेका छन् ।

प्रतिक्रिया