बलात्कार र बलात्कारी मनाेविज्ञान !

  • सृष्टि नेपाल

काठमाडौं । ०७५ साल, साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको शव उखुबारीमा फेला पर्याे । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भयो ।

साथीको घरमा पढ्न गएकी उनको घर फर्कने क्रममा बाटोमै बलात्कार र हत्या भएको हो । घटना भएको झण्डै तीन वर्ष पुगिसक्दा पनि उनको हत्यारा पत्ता लाग्न सकेको छैन ।

०००

बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको गएको असोज ७ गते बलात्कारपछि हत्या भयो । साँझ ५ बजे घरबाट गाई–गोरुलाई गोठभित्र बाँध्न निस्केकी उनको स्थानीय २० वर्षीय युवकले बलात्कारपछि हत्या गरेका हुन् । ती युवक पक्राउ परेपश्चात् उनले यसअघि पनि १४ वर्षीया बालिकालाई बलात्कार गरेको र घटना मिलापत्रमा टुंग्याइएको अनुसन्धानमा खुल्यो । अहिले ती युवक प्रहरी हिरासतमा छन् ।

०००

करिब एक साताअघि मात्रै बैतडीकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७वर्षीया किशोरी भागिरथी भट्टकोलवलेक सामुदायिक वनमा शव फेला पर्याे । गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी उनको बिहीबार साँझ शव फेला परेको हो । प्रहरी अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भयो । अहिले उनको हत्याको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । घटना घटेको एक साता बितिसक्दा पनि प्रहरीले अहिलेसम्म दोषीलाई नियन्त्रणमा लिन सकेको छैन ।

०००

गएको सोमबार राति ९ बजेतिर मोरङको जहदा गाउँपालिका–१ की १४ वर्षीया बालिका घरको आँगनबाट अपहरणमा परिन् । पिसाब फेर्न बाहिर निस्किएकी उनको गाउँलेले खोजी गर्ने क्रममा पत्ता लाग्यो, उनी सामूहिक बलात्कारको शिकार भएकी रहिछन् । अघिल्लो बिहीबार मोरङकै कानेपोखरी–२ की १७ वर्षीया किशोरी पनि बलात्कृत भइन् । भान्जी भनेर सम्बाेधन गर्नेले नै उनलाई घरैमा बाेलाएर बलात्कार गरेकाे पीडित परिवारको बयान छ ।

उल्लिखित पात्र र घटनाले पनि महिलाहरू कहीँ-कतै सुरक्षति छैनन् भन्ने देखाउँछ । कमजाेर कानून र गल्तीमाथि ढाकछाेप गराउने समाज तथा परिवारकाे कु-संस्कारका कारण दिनहुँ कलिला बालबालिकादेखि वृद्धासम्म बलात्कारको शिकार भइरहेका छन् । उनीहरु न परिवारबाट सुरक्षति छन् न समाजबाट ।

पीडकलाई नै संरक्षण गर्ने पितृसत्तात्मक साेच र चल्तीका कारण महिलाहरू न्यायलयसम्म पनि पुग्न डराउनुपर्ने अवस्था छ । न्यायलय, प्रहरी प्रशासनमा पुगिहाले पनि समाज र परिवारकाे दबाबका कारण दाेषीले सजाय नपाउने अवस्था छ ।

मुलुकमा जुनसुकै तन्त्र (प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र) आएपनि महिलाहरु निर्धक्क घरबाहिर चहलपहल गर्न सक्ने वातावरण अझै बनिसकेकाे छैन । राज्यले पनि यस्ता घटना नियन्त्रणमा त्यति जाेड दिएकाे पाइँदैन, जसकाे उदाहरण बलात्कार र हत्या भएकाे वर्षाैँसम्म पनि दाेषी पत्ता नलाग्नु नै हाे । पीडितलाई लाञ्छना लगाएर दाेषीलाई उल्टाे सम्मान गर्ने प्रवृत्तिका कारण दिनहुँ महिला तथा बालबालिकाहरू बलात्कृत हुन बाध्य भएका छन् ।

चार महिनामा ७६६ बलात्कारका घटना, सबैभन्दा बढी प्रदेश १ मा

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो चार महिनामा ७६६ बलात्कारका घटना घटेका छन् । प्रदेश १ मा सबैभन्दा बढी बलात्कारका २११ वटा घटनाबारे उजुरी परेको प्रहरी तथ्यांकले देखाएको छ ।

प्राप्त तथ्यांक अनुसार पछिल्लो चार महिना (असोज, कात्तिक, मंसिर, पुस) मा प्रदेश १ मा २११, प्रदेश २ मा ११२, वाग्मती प्रदेशमा ७९, गण्डकी प्रदेशमा ५५, लुम्बिनी प्रदेशमा १२१, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ७३ वटा बलात्कारका उजुरी परेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो चार महिनामा ७२ वटा बलात्कारका उजुरी परेको प्रहरी तथ्यांकले देखाएको छ । कतिपय ठाउँमा बलात्कारका घटना प्रहरीसम्म पुग्नै पाउँदैन, परिवार र समाजले मिलापत्र गराउँछ । यसकारण घटना अझै बढी हुन सक्ने सम्भावना छ !

किन बढिरहेछ बलात्कार ? कस्तो हुन्छ ‘बलात्कारी मानसिकता’ ?

मनोविद् एवम् अब्बल– WE कि प्रबन्ध निर्देशक विजया बिजुक्छेंका अनुसार कोही सेक्सुअल डिजायरलाई नियन्त्रण गर्न नसक्ने किसिमका हुन्छन् र यौन सन्तुष्टिका लागि बलात्कारतर्फ उन्मुख हुन्छन् भने कोही अरुलाई पीडा दिएर रमाउने स्वभावका हुन्छन् र यस्ता कु–कार्यमा अग्रसर हुन्छन् ।

कोही भने बाल्यकालमा आफू पनि पीडित भएर त्यसको बदला लिन अरुलाई पीडा दिने स्वभावका हुन्छन् । पितृसत्तात्मक सोचले पनि यस्ता घटना घटाउन भूमिका खेलिरहेको छ । अलिकति उमेर बढ्दै गएपछि समाजमा अपाच्य व्यवहार देखाउँदा उसका परिवारले बेवास्ता गरेमा उसले आफूले जे गर्दा पनि हुने रहेछ भन्ने धारणा बन्छ उसकाे मनस्थितिमा ।

ठूलो हुँदै जाँदा मनोमानी गर्ने, अरुलाई दबाउनुपर्छ, अथवा मलाई जे मन पर्छ त्यो कुरा मैले पाउनैपर्छ भन्ने किसिमका सोचहरु बढ्दै जान्छन् । अर्काे भनेका अपराधमा अग्रसर हुने मानिसले पहिला त्यस्ता के-कति घटनाहरु  घटे, सजाय भए कि भएनन् भन्नेबारे पनि विचार गरिरहेकाे हुन्छ । त्यहि अनुसार उसले धारणा बनाउँछ र गलत काम गर्छ ।

हिंस्रक व्यक्तिले प्राःय आर्थिक, शारीरिक, मानसिक अवस्था कमजाेर भएकालाई आफ्नो शिकार बनाइरहेका हुन्छन् । त्यसकारण बलात्कारीले बालबालिका, अशक्त महिलाहरूलाई टार्गेट गरिरहेको हुन्छ ।

बलात्कारपछि हत्याका घटनाहरू पनि उतिकै घटिरहेका छन् । बलात्कार र हत्याको बीचमा के भइरहेको हुन्छ, अथवा किन हत्या भयाे भन्नेबारे हामीलाई थाहा छैन । जस्तो कि कुनै पुरुषले कुनै महिलालाई मन परायो तर त्यो महिलाले इग्नोर गर्यो भने ग्याङ रेप गराएर बदला लिने । पीडितले सजाय दिन्छु भनेर प्रतिकार गर्दा त्यहीँ मारिदिने । यस्तो भइरहेको छ ।

यो विकृत मानसिकता हो । बौद्धिक, इमोश्नल र सामाजिक आइक्यु ब्यालेन्समा रहेका व्यक्तिबाट यस्ता अपराधिक घटना सम्भवतः हुँदैनन् । आफूले अरुलाई पनि समान तथा सम्मानको नजरले हेर्न नसक्ने भनेको पनि कमजोर मानसिक अवस्था अथवा मानसिक विकारको अवस्था हो ।

तर त्याे व्यक्तिलाई कमजोर मानसिक विकारको अवस्थामा पुर्याउने चाहीँ उसैकाे परिवार, सामाजिक सिकाइहरूले हाे । गलत कार्य हाे भन्दाभन्दै पनि ऊ किन त्यसतर्फ उन्मुख हुन्छ भन्दा, त्याे समाज, परिवार र राज्यले सजाय नदिएर हाे ।

खान्दानी, शिक्षित परिवारमा पनि हुन्छन् पीडित महिला

मनोविज्ञानले हामी खुशीकाे पछि लाग्छौँ भन्छ । कसैलाई पढेर खुशी मिल्छ भने कसैलाई नाचेर, कसैलाई गाएर त कसैलाई अरुको शरीरमा अधिकार जमाएर खुशी मिल्छ भन्छ मनाेविज्ञानले । कुनैपनि व्यक्ति शिक्षित, समाजसेवी हुँदैमा, राम्राे पदमा हुँदैमा उसमा अवगुण नै हुँदैन, उसले बलात्कार नै गर्दैन भन्ने हुँदैन । बाहिरबाट हेर्दा सज्जन देखिएपनि उसले भित्रभित्र सोच्नै नसकिने खालका कर्तुतहरु गरिरहेको हुन्छ ।

सञ्चार माध्यमहरूमा प्रायः साना गाउँठाउँका घटनाहरू मात्रै आइरहेका हुन्छन् । ठुला, खान्दानी तथा शिक्षित परिवारभित्रै भएका याैन दुर्व्यवहार, हिंसा, बलात्कारका केसहरु प्रायः बाहिर नआउने गरेकाे मनाेविद् विजया विजुक्छें बताउँछिन् । उनका अनुसार परिवारमा हिंसा भएपनि उल्टो महिलालाई नै दबाइन्छ, घटना बाहिर आउन दिइँदैन ।

केटाहरु भनेको यस्तै हो भन्ने खालका कुराहरु गर्ने, सजाय दिनतिर नलाग्ने भएपछि पीडितले घटना बाहिर ल्याउने हिम्मत गर्दैन । याे भनेकाे हिंसा गर्नेहरुका लागि चिठ्ठा परेजस्तै हुने भयाे ।

रहर, सिकाइ र सचेतना 

‘यस्ता घटना घट्न नदिन पहिले त कानुन तथा सजाय एकदमै कडा हुनुपर्छ, ताकि कसैले कुनैपनि अपराध गर्नुअघि १० पटक सोचोस् । दया, माया गरेर यी हिंसात्मक गतिविधि नराेकिने मनाेविद् विजया विजुक्छें बताउँछिन् ।

यस्ता घटना हुन नदिन सर्वप्रथम त नयाँ पुस्तालाई हुर्काउने क्रममा छोराछोरीबीच लालनपालनमा भेदभाव गर्न हुँदैन । छोरालाई बलियो र छोरीलाई कमजोर देखाउने हाम्राे सिकाइ राम्रो छैन । छोरीलाई छोराजस्तै गरी हुर्काउनुपर्यो । महिला र पुरूष दुवैले समान सम्मान पाउने पारिवारिक वातावरण सिर्जना गर्नुपर्छ । महिलालाई परिवार र समाजमा विचराको पात्र बनाउनु हुँदैन, छाेरीलाई पनि छाेरासरह शिक्षा, दिक्षा र अवसर दिनुपर्छ ।

यस्तै अरुलाई नोक्सानी पुर्याएर खुशी प्राप्त गर्ने रहर मैले पाल्नु हुँदैन भन्ने ज्ञान परिवारले सिकाउनुपर्छ । अर्काे कुरा भनेकाे  कसैले जथाभावी छाेएकाे, दुर्व्यवहार गरेको कम्प्लेनहरु गरेकाे छ भने परिवारले तुरुन्त एक्सन लिनुपर्छ, ताकि ऊ भविष्यमा ठुलो अपराध गर्न डराओस् । हिंसात्मक गतिविधलाई मिलापत्रमा टार्नु भनेकाे अपराध र अपराधीलाई प्राेत्साहन गर्नु हाे । नागरिकलाई कानुनमाथि विश्वास छैन, त्यसकारण मिलापत्र भइरहेको छ । यदि पीडितले साँच्चिकै न्याय पाउने हो, पीडकले कडा सजाय पाउने हाे, पीडितलाई कानुनले संरक्षण दिने हाे भने यस्ता घटनाहरू कम हुँदै जान्छन् ।

फाँसीकाे कानुन ल्याउँदा भने कहिलेकाहीँ निर्दाेष पनि फस्न सक्ने कारण यसलाई समर्थन गरिहाल्ने अवस्था नभएकाे उनी बताउँछिन् । ‘व्यक्तिगत तवरबाट भन्नुपर्दा म फाँसीकाे समर्थन गर्छु । तर कहिलेकाहीँ महिलाले पनि स्वार्थका कारण पुरुषलाई बलात्कार केसमामा फसाएका धेरै केसहरू छन् । तपाईँसँग पैसा छ भने प्रमाण मज्जाले जुट्छ, न्यायलय पनि बिकेकाे पछिल्ला घटनाहरूले देखाउँछन्,’ उनले मकालु खबरसँग भनिन्- ‘यसकारण निर्दोष व्यक्ति पनि फस्ने भएका कारण यसबारे राज्यले विचार गर्नुपर्छ । सरकारले कडा कानुन ल्याएमा मात्रै यस्ता घटना कम हुन सक्छन् ।’

प्रतिक्रिया