सुनसरीका सबै पालिकामा ओली समूहले ताेक्याे अध्यक्ष

सुनसरी । सुनसरीका पालिकाहरूमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले अध्यक्ष ताेकेकाे छ । ओली समूहका नेताहरुले  नेकपा सुनसरी पुनर्गठन गर्दै पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण समेत गराएको छ । सत्तारूढ नेकपाभित्रको फुटकाे असर स्थानीय तहमा पनि देखिएकाे हाे ।

ओली समूहका नवनियुक्त अध्यक्षमा रेवतीरमण भण्डारी चयन भएका छन् । त्यस्तै उपाध्यक्ष निलम खनाल, सचिवमा पर्शुराम यादव र सहसचिव लिलम बस्नेत चयन भएका छन् । संगठन विभाग प्रमुख योग्यराज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकारी सदस्यहरु चयन भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

जिल्ला सदस्यहरुको संख्या थपेर अहिले ४६७ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । नेकपा ओली समूहले सुनसरीका १२ वटा स्थानीय तहको अध्यक्ष समेत तोकेको छ । जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा, धरानमा हर्कजंग एभेङ्ग, दुहवी नगरमा खडग नारायण उराउ, बराहक्षेत्रमा गजेन्द्र थापा, रामधुनीमा योगेन्द्र खडका, इनरुवामा विदुर सुवेदी, गढिमा प्रभाकर माझी, वर्जुमा दिल कुमार गुरुङ्ग, देवानगंजमा रामप्रसाद मेहता, हरिनगरमा जयप्रसाद शाह, भोक्राहामा नरसिंह अक्रम अन्सारी र कोशी गाउँपालिकामा रामखेलन शाह अध्यक्षमा चयन भएका छन् ।

बैठकले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा सुनसरी जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरीबाट ३० हजार सहभागिता गराउने गरि तयारी गरिएको बैठकपछि अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया