बुढीगंगाका तीन वडामा ४८ करोडको खानेपानी आयोजना

  • सुमन सुस्केरा

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकामा खानेपानीका लागि एउटै उपभोक्ता समितिले ४८ करोडको योजना संचालनमा ल्याएको छ । टंकिसिनवारी खानेपानी उपभोक्ता समितिले आफ्नो उपभोक्ता रहेको क्षेत्रमा शुद्ध खानेपानी पुर्याउने गरी ठेक्का सम्झौता लिएर काम सुरू गरेकाे हाे ।

४८ करोड ५७ लाखको स्वीकृत कार्यक्रममध्ये पहिलो चरणमा २७ करोड ५५ लाखको ठेक्का लागेर काम भइरहेकाे उपभोक्ता समितिका अध्यक्ष नवराज विष्टले जानकारी दिए । सगरमाथा शर्मा जेभीसँगको ठेक्का सम्भौताअनुसार परियोजनाको काम २०७७ जेठ १३ गतेदेखि शुरु गरी २०७९ मंसिर १२ मा सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर र टंकीसिनवारी खानेपानी उपभोक्ता समितिको संयुक्त साझेदारीमा यो परियोजना शुरु भएको हो । उपभोक्ता समितिको ३० प्रतिशत र सरकारको ७० प्रतिशत लगानीमा आयोना पुरा गर्नेगरी काम भइरहेको अध्यक्ष विष्टले बताए । ‘परियोजनाको सर्भेअनुसार पहिलो चरणमा ४ हजार २ सय घरमा शुद्ध खानेपानी पुर्याउने लक्ष्य रहेको छ’, उनले भने, ‘आगामी २० वर्षपछि यही खानेपानी ५९ हजार जनसंख्यालाई पुग्नेछ ।’

खानेपानी आयोजनाबाट दुईवटा ओभरहेड खानेपानी ट्यांकी, कार्यालय भवन, २ वटा पर्खाल, २ वटा भवन,  जेनेरेटर भवन र काउन्टर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।

कहाँ‚ कति काम सकियो ?
बुढिगंगा गाउँपालिका- ५ मा रहेको कर्मवीर माध्यमिक विद्यालयनजिकै रहेको ५ कठ्ठा २ धुर जग्गा निःशुल्क भाडामा लिएर डिप बोरिङ बनाउने काम सम्पन्न भएको छ । कार्यालय भवन निर्माण पनि पुरा भएको छ । यहाँ ४ लाख ५० हजारको ओभरहेड ट्याङ्की बनाउने काम ३० प्रतिशत सकिएको उपभोक्ता समितिले जनाएको छ ।

त्यस्तै वडा नम्बर २ बहुरामा समेत काम भइरहेको छ । जसमा कम्पाउण्ड वाल बनिसकेको छ भने पम्प हाउस, संकलन केन्द्र र गार्ड क्वाटर निर्माणको चरणमा रहेको छ । यस वडामा १ सय ७० परिवारले पानी उपभोग गर्दै आएकोमा ४५० घरधुरीमा पुर्याउने योजना रहेको वडा अध्यक्ष रेवतीनारायण चौधरीले जानकारी दिए । ती उपभोेक्ताको लागि पाइपलाइन बिछ्याउने काम ७० प्रतिशत सकिएको छ । योजनामध्येको डिपबोरिङ निर्माणको काम बाँकी छ ।

गाउँपालिका र वडा नम्बर २ कार्यालयको निर्णयबाट ४ कठ्ठा २ धुर जग्गा नि:शुल्क उपभोक्ता समितिलाई खानेपानीको लागि जग्गा उपलब्ध गराइएको उनले बताए ।

यता वडा नम्बर ३ को नेमुवा पुरानो खानेपानी भएको ठाउँमा भने ४ लाख ५० हजार लिटरको ओभरहेड ट्यांकी निर्माणको काम १५ प्रतिशत पुरा हुँदैछ । त्यस्तै दुई डिप बोरिङमध्ये एउटाको काम पुरा भएको छ भने एउटा निर्माणको चरणमा नै रहेको छ । ८ कोठे कार्यालय भवनको काम पनि द्रूत गतिमा भइरहेको उपभोक्ता समितले जनाएको छ ।

उपभोक्ता समितिका अध्यक्ष विष्टका अनुसार सरस्वती आधारभुत विद्यालयबाट ३० वर्षका लागि १० कठ्ठा जग्गा भाडामा लिइएको छ । गाउँपालिकाको निर्णयबाट विद्यालय व्यवस्थापन समितिले विद्यालयको जग्गा प्रतिवर्ष ४० हजार तिर्नेगरी सम्झौता भएको छ, यसैमा खानेपानीको ट्यांकी निर्माण हुनेछ।

परियोजना सकिँदासम्मकाे अवधिमा बुढिगंगा गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका करिब ५९ हजारले २०७९ सम्ममा स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । काम सम्पन्न हुँदासम्म यी वडाहरुमा १ सय ७५ किलोमिटर खानेपानीको पाइप लाइन बिछ्याइने विष्टले बताए ।

उपभोक्ताको ३० प्रतिशत ऋण र अनुदान
उपभोक्ता समितिले जम्मा गर्नुपर्ने रकम ३० प्रतिशतबारे उपभोक्ता समितिले ऋण र अनुदान खोजेको छ । पहिलो चरणमा १० प्रतिशत भुक्तानी गर्नुपर्नेछ भने ३ करोड ४० लाख बुढिगंगा गाउँपालिकाबाट अनुदान र बाँकी रकम उपभोक्ता समिति स्वयंले जम्मा गर्नेछ । तर बाँकी रहेको २० प्रतिशतको हकमा टंकिसिनवारी खानेपानी उपभोक्ता समितिले नगर विकास कोषसँग ऋण लिने जनाएको छ ।

२ सयबाट ५९ हजारको लक्ष्य
यसअघि टंकिसिनवारी खानेपानी उपभोक्ता समितिले वडा नम्बर १ देखि ४ सम्मका उपभोक्तालाई लक्षित गरी एक हजार ९ सय परिवारलाई आंशिक रुपमा खानेपानी वितरण गर्दै आएको थियो । २०५४ सालमा २ सय जना उपभोक्ताबाट १ हजारका दरले २ लाख रकम संकलन गरेर नेपाल सरकारसँग सम्झाैता गरी खानेपानी ट्यांकी निर्माण शुरु भएको थियो ।

२०६६ सालमा निर्माण सम्पन्न भएपछि खानेपानी वितरणको काम शुरु भएको थियो । तात्कालीन टंकिसिनवारी गाउँ विकास समितिले ४ कठ्ठा १९ धुर जग्गा उपलब्ध गराएपछि त्यही जग्गामा खानेपानीका लागि चाहिने संरचना निर्माण भएको थियो ।

शुरुमा खानेपानीमात्र वितरण गर्नेगरी शुरु भएपनि पछि शुद्ध खानेपानीको कुरा आएपछि प्रदेश सरकारको सहयोगमा शुद्ध खानेपानी प्रशोधन प्रयोगशाला निर्माणको काम भएको थियो । पुराना डिप बोरिङले काम गर्न छाडेपछि गाउँपालिका र प्रदेश सरकारले दुईवटा डिप बोरिङ अनुदानमा उपलब्ध गराएका थिए ।

प्रतिक्रिया