सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी योङ ग्लोबल लिडर्स फोरममा छनोट
काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवाहरूलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट गोलबन्द गर्दै आएको छ ।
सन् २००४ मा वर्ल्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबद्वारा स्थापित फोरमले अन्तरसम्बन्धित विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँछ । यो फोरम नेतृत्व उत्सव मनाउने विश्वव्यापी मञ्च बनेको छ ।
फोरममा १२० भन्दा बढी मुलुकका १,४०० सदस्य/पूर्वसदस्य छन् । यीमध्ये कतिपय सदस्य सरकार प्रमुख, ‘फर्च्युन ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार विजेता, राष्ट्रसंघका सद्भावना दूत आदि छन् । हरेक वर्ष विश्वभरबाट चुनिएका हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएका छन् ।
फोरममा छनोट भएपछि निर्वाण चौधरीले विश्वस्तरीय मञ्चमा सहभागी हुन पाउँदा हर्षविभोर भएको प्रतिक्रिया दिएका छन् ।
‘विश्वभर उद्यमशीलता र नेतृत्व विकासमा योगदान पुर्याउँदै आएको फोरमबाट म सधैं प्रेरित रहँदै आएको छु । फोरमले विभिन्न क्षेत्र, मुलुक र पहिचान बोकेका समुदायमा नेतृत्व विकासका लागि पुलको भूमिका खेल्दै आएको छ,’ चौधरीले भने, ‘म यस्तो मञ्चमा सहभागी हुन पाउँदा गर्व गर्छु । आउँदो विश्वलाई सुखी र समृद्ध बनाउन प्रयासरत यो ब्याचका मेधावी सदस्यहरूसँगको अन्तक्रियाबाट मैले धेरै कुरा सिक्ने अवसर पाउनेछु । यसले अन्ततः आउने पिँढीका लागि समुन्नत समाज निर्माणमा सघाउनेछ ।’
फोरमले दिगो आर्थिक र सामाजिक विकासका लागि नेतृत्वको चेतना र क्षमता अभिवृद्धिमा लगानी गर्छ । विश्वभरका वैभवशाली उदाहरणहरू मार्फत फोरमले नवप्रवेशी सदस्यहरूलाई उत्प्रेरणा जगाउँछ ।