भैरहवामा स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा
काठमाडौं । पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्योगको उद्घाटन गरेका थिए ।
उद्योगले बिहीबारबाट नै आफ्नो उत्पादन कार्य नियमित रुपमा सुरु गर्नेछ । भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एसएस ट्याङ्कीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको हो । नेपालमै पहिलो पटक दश हजार लिटरको एसएस ट्याङ्की यस उद्योगबाट उत्पादन हुनेछ र यस उद्योगले २ सय पचासदेखि दश हजार लिटरसम्मको भर्टिकल तथा होराइजन्टल एसएस ट्याङ्की उत्पादन गर्नेछ ।
उद्योगले वार्षिक ८० हजारवटा ३०४ तथा ३१६ ग्रेडका एसएस ट्याङ्की उत्पादन गर्नेछ । हाल काठमाडौंस्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्री गर्ने उद्देश्य राखेको जानकारी समूहका उप-महाप्रबन्धक देवेन्द्र साहुले गराए ।
आजको कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति थियो । पञ्चकन्या समूहले नेपालमा पहिलो पटक २०६९ सालदेखि एसएस ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको थियो ।