कोभिड खोप सबैलाई पुर्याउन विश्व बैंकको ८ अर्ब ७० करोड सहयोग
काठमाडौं । कोभिड–१९ विरुद्धको खोपमा सबै नेपालीको पहुँच पुर्याउन विश्व बैंकले नेपाललाई ७ कराेड ५० लाख करोड अमेरिकी डलर अर्थात् ८ अर्ब ७० करोड नेपाली रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी खोपको समतामूलक वितरणमा उक्त आर्थिक सहयोगले सघाउने अपेक्षा सहित विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत उक्त सहयोग गर्ने निर्णय गरेको हो । उक्त सहयोग रकमबाट नेपालको कम्तीमा पनि ३३ प्रतिशत जनसंख्यामा खोपको पहुँच विस्तार हुने विश्व बैंकले अनुनमान गरेको छ ।
‘यस महामारीले हाम्रा सामु विशाल चुनौति र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरीद, आपूर्ति र वितरणको सन्दर्भमा,’ नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो।’
गतवर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड–१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो।
सहयोगको ९० प्रतिशत रकम कोभिड–१९ विरुद्धका खोप खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुने विश्व बैंकले विज्ञप्ती मार्फत जनाएको छ ।
बाँकी रकमले कोभिड–१९ खोपका पहलहलाई सघाउन र कोभिड–१९सँग सम्बन्धित निदान परीक्षण, प्रयोगशाला उपकरण र चिकित्सकीय सामग्री खरिद जस्ता काममा सहयोग हुने अपेक्षा छ । यसबाहेक सामुदायिक संलग्नता र जोखिम संचारमा पनि सहयोग पुर्यापउने र हाल मौजूद डिजिटल प्रविधिमा आधारित महामारी सम्बन्धी तथ्यांक, निगरानी तथा अनुगमन प्रणालीलाई पनि सुधार गर्ने विश्व बैंकले जनाएको छ।
‘यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रकालागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ,’ विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक गेल रिचर्डसनले भने, ‘कोभिड–१९ को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिड–१९को विनाशकारी प्रभावबाट उत्थानशिल पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य शर्त हो।’
नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो।