नेपाल टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल चयन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिको सदस्यमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । उनी सर्वसाधारण सेयर धनीका तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् । चैत्र १३ गतेका लागि तय गरेको सञ्चालक समिति सदस्य पदको निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गर्ने म्याद चैत ५ गतेसम्म रहेको थियो । उक्त म्यादसम्म पौडेलबाहेक अन्य कसैको पनि उम्मेद्वारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । १३ गते हुने साधारणसभाले उनी निर्वाचित भएकाे अनुमाेदन गर्ने छ ।

टेलिकमको १७ वर्षको इतिहासमा पौडेल पहिलो पटक सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालनक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

टेलिकमको इतिहासमै पहिलो पटक निर्विरोध रुपमा आफूलाई सञ्चालक सदस्य पदमा निर्वाचित गराउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै पाडेले खुसी व्यक्त गरे । टेलिकमले पूँजी, सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सही किसिमले परिचालन गर्न सके सबैभन्दा बढी कर तिर्ने, बोनस दिने, प्रतिफल दिने कम्पनी बन्न सक्ने नवनिर्वाचित बोर्ड सदस्य पौडेलले बताए ।

टेलिकम सरकार ९१.४९ प्रतिशत, सर्वसाधारण शेयरधनी र कर्मचारीको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व छ । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको २०७७ असारमसान्तसम्मको सञ्चित मुनाफा ७८ अर्बभन्दा बढी छ । स्थिर सम्पत्तिको हिसावले टेलिकम सबैभन्दा धनी कम्पनी हो ।

प्रतिक्रिया