देशकै ठूलो सूर्यविनायक तरकारी बजार सञ्चालनमा
काठमाडौं । भक्तपुरको सूर्यविनायक सिपाडोलमा नेपालकै ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार खुलेको हो । २०७५ सालको फागुनदेखि निर्माण सुरु भएको उक्त बजार दुई वर्षपछि सञ्चालनमा ल्याइएको हो । अरनिको राजमार्ग अन्र्तगत आदर्श बस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको यो बजार रहेको छ ।
आधुनिक रुपमा निर्माण गरिएको बजारमा भित्र पस्ने र बाहिर निस्कने छुटाछुटै दुई द्वाराको व्यवस्था गरिएको छ । एउटा प्रवेशद्वार अरनिको राजमागर्मा जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । साथै त्यहाँं पार्किङको पनि व्यवस्था छ । कृषि बजारभित्र तरकारी पुर्याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको दाबी गरे । अहिले अनौपचारिक रुपमा सुरु गरी वैशाखमा कृषि मन्त्रीबाट शुभारम्भ गरी औपचारिक रुपमा बजार खोल्ने तयारी रहेको उनले बताए ।
उनका अनुसार बजारमा माछामासु तर फलफूल बजार बनाउन बाँकी रहेको जानकारी दिए । बजारलाई अहिलेसम्मकै सवैभन्दा व्यवस्थित बजारको रुपमा अगाडि बढाउने योजना छ ।
बजारमा साढे ७ सय स्टल छन् । बजार प्रत्येक दिन बिहान २ बजेदेखि बेलुकी ८ बजेमा खुल्ला रहने जनाइएको छ । थोक खरिदबिक्री गर्ने बजारको मूख्य उद्देश्य भए पनि स्थानीयका लागि खुद्रा बिक्री पनि गर्ने जनाइएको छ ।
काठमाडौंको कालीमाटी बजार बस्तीभित्र परेपछि गाडी लान बेलुकीसम्म कुर्नुपर्ने हुँदा झण्डट भएको छ । यसले तरकारी खराब हुने सम्भावना छ । त्यस्तो हुन नदिन भक्तपुरको सिपाडोलमा उक्त बजार स्थापना गरिएको हो । यो पूर्वी नाकाबाट आउने सबै तरकारी यही बजारबाट काठमाडौं लगायतका ठाउँंमा लैजान सकिने छ । बजारका लागि १५ वर्षका लागि जग्गा लिजमा लिइएको हो ।