धुलो दूध, बटर, मासु र अण्डामा नेपाल आत्मनिर्भर घोषणा हुँदै
काठमाडौँ । सरकारले केही पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरताको घोषणा गर्ने भएको छ । धुलो(पाउडर) दूध, बटर, मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको धोषणा गर्ने तयारी भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा एक समारोहको आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गराउन लागेको हो ।
पछिल्लो समय नेपालले वार्षिक खपतभन्दा बढी धुलो दूध, कुखुरा तथा खसीबोकाको मासु, बटर र अण्डा उत्पादन गर्न थालेकोले यी वस्तुमा आत्मर्निभर भएको घोषणा गर्न लागिएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा यी वस्तुको पशुपन्छीजन्य उत्पादनको आयात शुन्यमा झरेको पनि मन्त्रालयले दाबी गरेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा ३ हजार मेट्रिक टन मात्र धुलो दूध आवश्यक रहेकोमा उत्पादन भने ३ हजार ४ सय ५० मेट्रिक टन उत्पादन भइरहेको छ । वार्षिक ५ हजार मेट्रिक टन धुलो दूध उत्पादनको लक्ष्य मन्त्रालयले राखेको छ । त्यस्तै, १ हजार २ सय मेट्रिक टन बटर उत्पादन र खपत हुन थालेको छ ।
त्यस्तै, वार्षिक ४ लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । यो मध्ये ४६ प्रतिशत हिस्सा कुखुराको मासुको रहेको छ । दैनिक १० लाख केजी कुखुराको मासु खपत हुने गरेको छ । त्यस्तै, खसीबोकोको मासुमा पनि नेपाल आत्मनिर्भर भएको छ ।
त्यस्तै, वार्षिक १ अर्ब ४० करोड गोटा अण्डा उत्पादन हुने गरेको छ । यसअधारमा हाल वार्षिक प्रतिव्यक्ति ५४ ओटा अण्डा नेपालमा खपत हुने गरेको छ । प्रतिव्यक्ति अण्डा खपत १०० गोटा पु¥याउने लक्ष्य मन्त्रालयको छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीले सोही समहारोहमा दूध ढुवानी गर्ने गाडीका लागि छुट्टै संकेत चिन्ह (लोगो) पनि सार्वजनिक गर्ने कार्यक्रम छ । कुनै पनि अवस्थामा दूध ढुवानीलाई अवरोध नहोस् भनेर लोगो वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।