[कथा] दुपट्टा र जेसिका
- रवि शिखा
मेरो हातबाट पूरै रगत बगिरहेको थियो । मलाई यति थाहा थियो कि उनी मेरो छेउमा लडेकी छिन् । उनी बिस्तारै उठिन् र मेरो हातमा लागेको रगत दुपट्टाले पुछिदिइन् । हातमा घाउ भएको रहेछ शायद । दुपट्टा च्यातेर हात बाँधिदिइन्, रगत आउन बन्द भयो । छोए पनि दाग लाग्नेजस्तो अनुहार, पिपलपाते ओठ अनि त्यसैमाथि पिंक कलरको लिपस्टिक, काला अनि चञ्चल उनका आँखामा छट्पटी खुब सुहाएको थियो । मेरा कापी अनि किताब यताउति छरिएका थिए । उनले कापी-किताब बटुलेर मलाई दिइन् र त्यँहाबाट जान आँटिन् । उनी केही बोल्न खोज्दै थिइन् तर उपयुक्त शब्द नभेटेर बोलिरहेकी थिइनन् ।
यता पनि उनीसँग बोल्न शब्द भण्डारमा शब्द थिएनन् । उनी केही नबोली त्यहाँबाट गइन्, म उनी गएको हेरिरहेको थिएँ । आँखाले उनलाई देखेसम्म पछ्याइरहे । उनी एकपटक पनि पछाडि नफर्की गइन् । म बल्ल होसमा आएँजस्तो भए । मेरो हातमा उनले थमाइदिएका किताब र कापी थिए भने हात दुपट्टाले बाँधिएको थियो । हातमा लागेको रगत राम्ररी पुछिएको थिएन ।
म पनि कोठातिर लागे । प्रेम सिंह धामिको सालिकभन्दा अल्लि पर, माथितिरको अँध्यारो गल्लीमा यो सबै घटना घटेको थियो । कोठामा पुगेर चाबी खोलेर भित्र पसेँ । टेबुलमा किताब कापी राखेँ, कापी अलि फरकजस्तो लाग्यो । त्यो मेरो कापी थिएन, भित्र हेरेँ, नाम उनकै थियो । किताब कापी बटुल्ने बेला उनका पनि कापी किताब छरिएका थिए । शायद उनलाई थाहा भएन, उनको कापी मसँग र मेरो कापी उनीसँग गएको ।
मैले कापी टेबलमै राखेँ र बाथरुममा गएर हातमा लागेको रगत धोएँ अनि दुपट्टा फुकाएर घाउ सफा गरेँ । घाउ त्यति ठूलो थिएन । औषधि लगाएर घाउमा पट्टी बाधेँ । रात परिसकेको थियो । खाना बनाएर खाना खाएँ । जिउ अलिअलि दुखिरहेको थियो । अरू दिनभन्दा छिटो ओछ्यानमा पल्टिएँ । निन्द्रा कोशौँ पर थियो । दिउँसोको घटना आँखामा आउन थाल्यो ।
साँझको चार पाँच बजेतिर म ट्युसनबाट कोठातर्फ फर्किँदै थिएँ । घटनाको मुख्य जिम्मेवार व्यक्ति जेसिका नै थिइन् । कहिलेकाही हामी ट्युसनबाट सँगै घर फर्किन्थ्यौँ । उनको कोठा शायद मोहती क्षेत्रमा थियो भने मेरो बङ्गाबगडमा थियो । हामी त्यही अँध्यारो गल्लिको अलि माथि मेघा बैंकबाट छुट्टिन्थ्यौँ । आज पनि सँगै फर्किरहेका थियौँ, अचानक त्यो अँध्यारो गल्लीमा पुग्दा चार पाँच जना केटाहरू आएर मलाई पिट्न थाले । मैले तिनिहरू कसैलाई चिनेको थिइनँ । मैले प्रतिकार गर्नुभन्दा पनि आफूलाई बचाउने प्रयास गरे । पूरै लुगा च्यातिएकी महिलाले दुई हातले लाज छोप्ने चेष्टा गरेझैं मैले पनि कति पो छेक्न सक्थेँ र दुई हातले ! मेरो हात त्यहाँ फुटेका सिसामा परेको थियो शायद ! त्यसैले रगत आएको थियो । म लडेको थिएँ । शायद, ती केटाहरुलाई जेसिकाले चिन्थिन् । नगर यस्तो भनी कराउँदै थिइन् । उनीहरू किन मान्थे र ! अन्त्यमा उनीहरू त्यहाँबाट गए । जानुभन्दा अगाडि जेसिकालाई पनि धकेलेर लडाइदिए । म सम्हालिन खोज्दै थिएँ तर सकिरहेको थिइनँ । मलाई यो सबै के हो भनेर सोध्न मन थियो तर म जेसिकाको अघि रित्तो थिएँ । उनी दुपट्टाले हात बाँधेर गइन्, कुनै अपरिचित मान्छे झैँ । उनीहरू को हुन् ? किन पिटे मलाई ? यी यावत् प्रश्नको जवाफ भेटिरहेको थिइनँ । तिनीहरुमध्ये कोही एकजना जेसिकालाई मन पराउने होला । त्यसैले बिचमा जेसिकासँग हिँडेको देखेर ममाथी आक्रमण गरेको हुन सक्छ । उनीहरुले अरु दिन पनि ट्युसनबाट हामीलाई फर्किरहेका देख्थे होला र आज प्लान बनाएका हुन सकछन् । त्यो गल्ली अलि अँध्यारो र मान्छेहरूको भीडभाड नहुने भएकाले त्यो गल्ली उनीहरूले रोजेका हुन सक्छन् । मसँग सम्भावित उत्तरमात्रै थिए । सोच्दा सोच्दै कति बेला निदाएछु पत्तै भएन ।
बिहानको अलार्मले निन्द्राबाट ब्युँझायो । उठेँ, हातमुख धोएँ, चिया पकाएर चिया पिएँ । शरीर हिजोभन्दा पनि आज बढी दुख्दै थियो, हात पनि बढी नै दुख्दै थियो । परीक्षा नजिक आएकाले क्याम्पसको एकदिन पनि धेरै महत्त्वपूर्ण थियो । क्याम्पस जान तयार भएँ, किताब कापी झोलामा राखेँ । ऐना हेरेँ, धन्न ! अनुहारमा चोट रहेनछ, कपाल मिलाएर म क्याम्पसतिर हिडेँ । बङ्गाबगडबाट आउने साथीहरू एक दुई जनामात्रै थिए । कहिले उनीहरू अघि जान्थे, कहिले म अघि जान्थेँ । म कम बोल्ने स्वभावको भएकाले पनि होला मेरै सेक्सनका बाहेक अरू सेक्सनका साथीहरूसँग म बोल्दैनथेँ । म एक्लै हिँडिरहेको थिएँ ।
हिजो हिँडेको गल्लिको बाटो जान मन लागेन, अर्को बाटो भएर गएँ । राधाकृष्ण चोक पुग्दा दुई-तीन जना साथीहरू भेटिए, हामी गफ गर्दै गयौँ । क्याम्पस पुगेर आफ्नो सिटमा बस्यौँ ।
म सधैं बिचको लाइनको तेस्रो बेन्चमा बस्थेँ । अरु दुई जना साथी तलपट्टी बस्थे । बिचमा बस्न अप्ठ्यारो लाग्थ्यो । लेख्दा पनि असजिलो हुने भएकाले म छेउतिर बस्थेँ । मलाई आज कसैसँग पनि बोल्न मन लागिरहेको थिएन । साथीहरू के भयो भनेर सोधिरहेका थिए, मैले टाउको दुखेको छ भनिदिएँ ।
हिजोको कुरा मनमा अझै खेलिरहेको थियो । त्यतिकैमा जेसिका आएर मेरो कापी दिइन् र मैले झोलाबाट उनको कापी दिएँ । उनी पनि आज गम्भीर देखिएकी थिइन् । साथीहरूले ओइ के हो पारा, केको कापी हो, किन साटासाट गर्या भनेर हैरान पारे । मैले म्याथको नोट कापी हो भनेर टारेँ । त्यसपछि उनीहरू चुप लागे । अरू दिन चकचक गर्ने जेसिका आज चुप थिइन् । दुई तीन पिरियड सकिएपछि इन्टरभल भयो । म छतमा गएर बसेँ । जेसिका आइन् र भनिन् ‘सरि है, हिजो मेरो कारणले तिमीलाई धेरै गाह्रो भयो । मैले सोचेको पनि थिइनँ कि यस्तो हुन्छ भनेर । मिल्छ भने मलाई माफ गरिदेउ,’ आँखामा आँसु छचल्काएर उनले भनिन् । मैले को हुन् तिनिहरू र किन मलाई पिटेका भनी सोधेँ । उनले भनिन्, ‘सेक्सन ‘सी’ का केटाहरू हुन् । सधैँ मेरोपछि लाग्थे, तीमध्ये एउटाले मलाई मन पराउँथ्यो तर ऊ मलाई कत्ति पनि मन पर्दैनथ्यो । मैले मेरो पछि नलाग । म अरुलाई नै मन पराउँछु भनेँ । उनीहरुले सोचे होलान्- म तिमीलाई मन पराउँछु । त्यही भएर यसो गरेका हुन् ।’ उनले फेरि भनिन्, ‘ट्युसनबाट फर्किँदा उनीहरुले पछ्याउँछ्न् भनेर म सधैं तिमीसँगै जान खोज्थेँ तर तिमीले यो सबै कहिल्यै बुझेनौ । बाँकी कुरा तिम्रो कापीमा लेखेकी छु हेर्नू ।’ यति भनेर उनी तल झरिन् । म पनि केहीबेरमा तल झरेँ । के लेखिन् होला उनले कापीमा ? खुल्दुलीले मन पढाइमा गइरहेको थिएन । म दुई पिरियड पढेर कोठामा फर्किएँ ।
साथीहरू नजा किन जाँदैछस् ऐले, भन्दै थिए । टाउको धेरै दुखेको छ भनेर म कोठामा आएँ । कोठामा पुगेपछि झोला हेरेँ । अचम्म ! झोलामा कापी थिएन । कतै जेसिकाले लेखेको कुरा साथीहरूले देखेर कापी त लुकाएनन् । म ज्यादै डराएँ । म कक्षामा कसैसँग पनि बढी बोल्दैनथेँ । झन् केटीसँग बोलेको उदाहरण त ज्यादै कम थिए । साथीहरूले त्यो लेखेको देखेको भए पनि कापी त नलुकाउनुपर्ने । बरु पाना च्यातेर राख्नुपर्ने । आखिर कसले लग्यो त कापी, म सोच्न थालेँ । अब क्याम्पस जान पनि डर लाग्न थाल्यो साथीहरुले थाहा पाएर बिल्ला गर्छन् भन्ने भयो । दिउँसो दिवशको फोन आयो, फोन उठाउन पनि डर लाग्न थाल्यो । उठाएँ, उसले भन्यो, ‘ओइ ! भोलि हाम्रो क्याम्पसमा गजल वाचन प्रतियोगिता छ, मैले पनि नाम लेखाएको छु । धेरै गजल लेखेको छु । भोलि कुन वाचन गर्दा राम्रो होला छनोट गर्न सहयोग गर न यार ।’ यति भनेर ऊ चुप लाग्यो ।
धन्न उसले थाहा पाएनछ भनेर म ढुक्क भएँ र केहि बेरमा तेरै कोठामा आउँछु भनेर फोन राखेँ । यदि साथीहरूले जेसिकाले लेखेको देखेर कापी लुकाएका भए दिवशले अहिले भनिहाल्थ्यो । पक्कै पनि कापी उनीहरूसँग छैन तर कापी कसले लग्यो त ! म सोच्दै सोच्दै दिवशको कोठामा पुगेँ । उसका गजलमध्ये दुईवटा गजल राम्रा लागे, ती दुइटै गजल उसले भोलि वाचन गर्ने भयो । आखिर भोलि पनि आयो, साथीहरु कार्यक्रमको तयारी गर्दै थिए । जेसिका आएर ‘हाई !’ भनी मैले पनि ‘हाई’ भनेँ । हिँड, छतमा जाऊँ भनी । म पनि छतमा गएँ । उनले कुरा सुरु गरिन् । मैले हिजो लेखेको कुरा पढ्यौ त भनी सोधिन् । मलाई के बोलौँ के बोलौँ भयो । मैले भनेँ- मेरो कापी त झोलामा थिएन । उनले थपिन्, ‘कापी त मैले लगेकी थिएँ ।’ मैले अचम्म मान्दै सोधें किन ? उनले बोल्न सुरु गरिन्, ‘तिमी हिजो छतमै थियौ, सिँडीबाट तल झर्दै गर्दा सोचेँ । तिमी अर्कैलाई पो मन पराउँछौ कि ! एक मनले भन्यो कापीमा लेखेको कुरा छाडिदिउँ । अर्को मनले भन्यो मैले हतार गर्नुहुन्न । यति सोचिसक्दा म क्लासमा पुगिसकेकी थिएँ ।
यसो हेरेँ क्लासमा कोही थिएनन् । पछिल्लो मनले सोचेको कुरा नै मैले माने मैले कापी तिम्रो झोलाबाट निकालेँ र मेरो झोलामा राखेँ । अनि बाहिर आएँ । त्यतिन्जेल तिमी कोठामा पुगिसकेका थियौ । म बाहिर रेलिङमा उभिएकी थिएँ । तिमीलाई कापी लगेको कुरा भनौँला भन्ने सोचेकी थिएँ । सर आउनुभन्दा अगाडि नै तिमी गइसकेछौ ।’ उनले फेरि थपिन्, ‘मैले यति भनिसक्दा तिमीले अनुमान गरिसक्यौ होला मैले कापीमा के लेखेकी हुँला भनेर । घर गएर सोचेँ- मैले आफ्नो कुरा तिमीलाई बताउनैपर्छ । अस्ति लेखेको कुरा केही केरमेट गरिनँ । लेऊ, कापी आज पढ्नू ।’ मैले कापी समातेँ । ‘मेरा हात तिम्रा हात समात्न आतुर छन्, बाँकी तिम्रो हातमा छ’ गम्भीर हुँदै उनले भनिन् र तल आइन् । म पनि कापी झोलामा राखेर तल आएँ । कार्यक्रम पनि शुरु भइसकेछ । पूरै भीडमा जेसिकालाई देखिनँ । कार्यक्रम आफ्नै गतिमा भइरहेको थियो । मेरो ध्यान पूरै कापीमै थियो । आखिर के थियो कापीमा ? जो देखाउन जेसिकाले धेरै सोचिन् । कार्यक्रम सकियो, दिवश तेस्रो भयो । कोठामा गएर कापी खोलेँ । अन्तिम पानामा यस्तो लेखिएको थियो ।
‘म सङ्ग अहिले तिम्लाई प्रिय भन्ने अधिकार छैन, त्यसकारण बिनासम्बोधन यो सबै लेख्दैछु । हात काँपिरहेका छन् । जब तिमिलाई पहिलोपटक देखेँ क्याम्पसमा मेरो शरीरभरी एक कम्पन आयो । मेरा आँखाहरू तिमीलाई मनसम्म सजाउन आतुर हुन्थे सधैं । थोरै थोरै गरेर तिमीसँग बोल्न पनि मलाई पुरै एक वर्ष लाग्यो । यसमा मेरो केही दोष छैन । म बोल्न खोज्थेँ जहिले पनि, तर तिमी सधैं मौन रहन्थ्यौ । तिमिसँग बोल्न मलाई पूरै एक वर्ष लाग्यो । संयोगले दोस्रो वर्ष पनि हामी एकै सेक्सनमा पर्यौं । यतिन्जेलसम्म मलाई पछ्याउने आँखाहरू दिनदिनै बढ्दै थिए । थोरै थोरै भए पनि तिमी मसँग बोल्न थाल्यौ । मलाई आशा पलायो । मैले दुई शब्द बोल्दा तिमी फारू गरेर एक शब्द बोल्थ्यौ । सबैका आँखाले मेरो शरीरलाई पछ्याउँथे । मौका मिल्यो भने एक दुई शब्दमा प्रशंसा गर्न पनि भ्याउँथे । तर अपसोच तिम्रा आँखाले मलाई कहिल्यै पछ्याएनन् । मलाई कहिले लाग्थ्यो तिमी जवानी नआइकन बूढो भएका छौ । क्लासमा तिमीसँग बोल्न सम्भव थिएन किनकी तिमी आफ्नो बेन्चबाट कहिल्यै उठ्दैनथ्यौ । तिमीसँग ट्युसनबाट फर्किँदा अलि बोल्न पाइन्थ्यो । अलि अलि भए पनि तिमीसँग नजिक भएको महशुस हुन थाल्यो । समय आफ्नै गतिमा बित्दै थियो । एकदिन म क्याम्पसबाट फर्किँदै गर्दा सेक्सन ‘सी’ को एकजनाले मलाई मन पराउँछु भन्न थाल्यो । मैले भनेँ – म कोही अरुलाई मन पराउँछु । उसले भन्यो- म तिमीलाई पाउन जे पनि गर्न सक्छु । यति भन्दै उ त्यहाँबाट गयो । त्यही दिनदेखि म आफूलाई भन्दा बढी असुरक्षित महशुस तिमीलाई गर्थेँ । म तिम्रो मोहमा डुबिसकेकी थिएँ । म तिमीलाई पाउन जे पनि गर्न सक्थेँ । कहिलेकाही सोच्थेँ- यदि तिमीले अरू कसैलाई मन पराएका रहेछौ भने ? यसो सोच्नासाथ म भगवानसँग प्रार्थना गर्थेँ- त्यस्तो नहोस् भनेर । आखिर त्यो दिन पनि आयो, जुन दिन मैले मेरैअघि तिमीलाई पिटेको हेर्नुपर्यो । म त्यहाँ भएर पनि केही गर्न सकिनँ । आखिर उनीहरु गए । तिम्रो हातबाट रगत बग्यो । दुपट्टासँगै मेरो मन पनि च्यातियो । म केही बोल्न सकिनँ र त्यहाँबाट आएँ । तिमी त्यहीँ थियौ । तिमीलाई छाडेर म फर्किएँ । घर आएर रोएँ । आँसुहरू अनगिन्ती बगे । आँसुहरूले यति लेख्न बाध्य पारे । तिमी मलाई कुन नजरले हेर्छौ मलाइ थाहा छैन । म तिमीलाई आफ्नै सम्झिन्छु । म कामना गर्छु प्रिय मान्छे मलाई बुझ्ने कोशिस गर । म सधैं तिम्रै निम्ति पर्खिरहन्छु । पर्खाइको घडी अन्त्य गरिदेऊ । मेरो जीवनमा आइदेऊ । म पर्खिरहेकी छु ।’
यति पढिसक्दा म सोचमग्न भएँ । आखिर मलाई पनि उस्तै महशुस भएको थियो । मैले ढिला गरेँ, उनले हतार गरिन् । तर अब गन्तव्य एउटै भयो । म तिम्रा लागि सुन्दर प्रेमपत्र कोर्न खोज्दै छु । प्रिय जेसिका ! मेरो प्रेमपत्रको धैर्य गर ।