दल सञ्चालनको विधि नफेरिँदा लोकतन्त्रप्रतिको वितृष्णा बढ्यो : गगन थापा

आज वैशाख ११ गते अर्थात लोकतन्त्र दिवस । २०६२-६३ सालको दोश्रो जनआन्दोलनको बलमा तत्कालिन संसद पुनः स्थापना भएको सम्झनामा लोकतन्त्र दिवस मनाउने गरिएको हो । लोकतन्त्र स्थापनाको डेढ दशक पूरा भएपनि लोकतन्त्रप्रतिको आम नागरिकको आशा र भरोशा भने अझै यथार्थ बन्न नसकेको गुनासो हुनेगरेको छ । भन्नलाई लोकतन्त्र भनिएपनि त्यसानुसारको चरित्र निर्माण र पद्धतीको शुरुवात हुन नसकेको स्वयम् राजनीतिक दलका नेताहरू स्विकार्छन । आखिर किन लोकतन्त्रको यो अवधीपनि आम नागरिकको आशा अनुसारको हुन नसकेको अनि अब त्यो आशा कसरी यथार्थमा बदल्नेलगायत विषयमा मकालु खबरका लक्ष्मण कार्कीले नेपाली कांग्रेसका युवा नेता गगन थापासंग गरेको कुराकानी:-

हामीले लोकतन्त्र प्राप्त गरेको डेढ दशक पूरा भयो । तर जे-जे कुरा हुन्छ भनेर लोकतन्त्रका लागि नागरिक लडेका थिए उनीहरु नै सन्तुष्ट हुन नसकिरहेको अवस्था छ । यो अवधिलाई लोकतन्त्रको आँखाबाट हेर्दा तपाईँ कस्तो पाउनुुहुन्छ ?

यसलाई दुईवटा कोणबाट हेर्न अनुरोध गर्छु । दोश्रो जनआन्दोलनबाट हामीले प्राप्त गरेको उपलब्धि चानचुने होइन । लामो समय युद्धबाट गुज्रेका देशहरुको अभ्यास हेर्दा शान्ति प्रक्रियापछि पनि अन्य जटिलतामा फसेका उदाहरणहरु धेरै छन् ।
नेपालजस्तै देशहरु जो हिंसात्मक अवस्थाबाट, गृहयुद्धबाट, निरंकुशताबाट बाहिर त आए तर, अत्यन्तै छोटो समयमा ती देशहरु कि त अर्को निरंकुशताको चपेटामा परे कि त सम्हालिन नसकेर जातीय वा धार्मिक वा कुनै यस्तै थप द्वन्द्वमा फस्न पुगे । यो आलोकबाट हेर्दा हामीले यो अवस्था सम्हाल्यौं । यो खतरनाक अवस्थाबाट जोगियौं । हामी आवधिक चुनाबतिर गयौँ । संविधान निर्माण गर्यौं । ठुला कामहरु भए । हामी १५ वर्षपछाडि हेर्दै गर्दा समस्याहरु पक्कै छन् । तर, हामी मूलरुपमा ठिक ठाउँमै छौं । मूल बाटोमै छौँ । अब अर्को पक्षबाट हेरौँ- नागरिकले यो लोकतन्त्रपछिको अवस्थालाई हेरेर म कुन ठाउँमा छु । मेरो जीवनमा चाहिँ यो लोकतन्त्रले के फरक पार्यो ? मेरो जीवनस्तर कति उकासियो भनेर पनि त हेर्छन् । एउटा ब्यवस्था बदललेर अर्को ब्यवस्था अपनाएपछि केही समय त्यसलाई ब्यवस्थापन गर्न लाग्छ तर यसको नाममा संक्रमणकाल त सँधैभरि हुन सक्दैन नि । निश्चित विन्दुमा पुगेपछि नागरिकले आफ्नो जीवनमा आएको वा आउनसक्ने परिवर्तनको पक्षबाट पनि हेर्छ सोच्छ र मूल्यांकन गर्छ ।

यसरी हेर्दा सन्तुष्ट हुन सकिने अवस्था छैन । राज्यका विभिन्न निकायहरुले, दलहरुले, लोकतान्त्रिक संस्थाहरुले भरोसा गुमाएका छन् । राजनीतिक नेतृत्वले ०६२-६३ सालमा धेरै भरोसा आर्जन गरेको थियो । राजनीतिक नेतृत्वले त आफ्नो पूँजीलाई सम्पूर्ण रुपमा गुमाएको छ । आजभन्दा भोली भरोसायोग्य हुन्छ वा आशालाग्दो हुन्छ भनेर आशा होइन आजभन्दा भोली झन् खराब हुनेछ भन्नेहरु धेरै हुन थालेका छन् । यसरी हेर्दा योभन्दा अझ खतरनाक र भयावह अवस्था आउनसक्थ्यो भनेर चित्त बुझाउने कुरा एउटा हो । यसले क्षणिक सन्तोष त दिन्छ । तर, लोकतन्त्रमा जे हुुनपर्ने हो वा हुन्छ भन्ने आशा थियो त्यो कति पूरा भयो त भन्ने हिसाबले हेर्दा नागरिक खुशी हुुनुपर्ने कुनै ठाउँ देख्दिन । म स्वयम् पनि सन्तुष्ट छैन ।

यहाँ त कुनै दल वा नेता वा सरकार विशेषसँग नागरिक असन्तुष्ट हुने होइन कि सिंगो ब्यवस्थाप्रति नै असन्तुष्टि जनाउने र निराश हुने अवस्था छ । यो भनेको त यो सिंगो प्रणाली वा पद्धतीका लागि खतरनाक कुरा होइन र ?

२०६२-६३ सालमा हामीले नागरिकसामु अहिलेसम्मका कमी कमजोरीका लागि माफी दिनुहोस् अब ती कमजोरी दोहोर्याउँदैनौँ भन्ने बाचा गरेर थप संकल्पका साथ अघि बढेका हौँ । त्यसपछिका पाँच सात बर्ष नागरिकले दलहरुलाई त्यो लाभ दिए । हामी काम गरिरहेका छौँ भन्दै गयौं । संविधान लेखन शान्ति प्रक्रिया लगायतका काम बाँकी थिए र ती पूरा गर्न सजिलो पनि पक्कै थिएन । नागरिकले पनि त्यो सुविधा हामीलाई दिए । ढिलै भएपनि केही काम त हुँदै छ भनेर उनीहरुले शंकाको सुविधा दिइरहे । तर ती काम सकिएपछि त अब केही हुनेछ भन्ने भरोसा अझ मुखर भएर आउने नै भयो । एउटा बहाना वा यथार्थ जे भनेपनि २०७४ सालसम्म चित्त बुझाउने कुरा थियो । मलाई के लाग्छ भने त्यसपछिका तीन-चार वर्षमा नागरिक अझ बढी निराश बन्न पुगे । चुनावबाट आएको बहुमतको सरकार डेलिभरि गर्ने कुरामा चुक्यो । अझ अहिले पछिल्ला केही महिना हेर्ने हो भने त हामी विकृत राजनीतिक अवस्थाको अभ्यास गरिरहेका छौँ । यसले थप निराशा जन्माएको छ ।

२०७४ सालभन्दा अघिसम्म नागरिकले पर्खिरहेपनि त्यसपछि जुन विन्दुमा हामी पुग्यौं त्यहाँबाट डेलिभरि हुनुपर्नेमा त्यो हुन नसक्दा निराशा र आक्रोश बढेको हो । एकातिर राज्यका निकायहरुको विश्वास खस्कँदै जानु अर्कातिर राजनीतिक शीर्ष नेतृत्वले विश्वासलगायतको सम्पूर्ण पूँजी गुमाउनुले कुनै दल वा सरकारप्रति होइन सिंगो ब्यवस्थाप्रति नै नागरिक असन्तुष्ट रहेको, उही त रहेछ नि भन्ने निष्कर्ष निकालेको अवस्था हो । यसले गर्दा आजभन्दा भोली राम्रो हुन्छ भनेर भर पर्ने कुनै पनि आड भरोसा नागरिकले पाउन सकेनन् । तपाईँले भनेको जस्तो, यस्तो अवस्था खतरनाक हो । यो ब्यवस्थाका लागि लडेको मानिस स्वयम यो ब्यवस्थाप्रति निराश हुनु सामान्य कुरा होइन नि ।

२०७४ सालपछिको अवस्था भनेर तपाईँले यसको दोष बढी सरकारका कारण यस्तो अवस्था आएको हो भनेर औंलो सरकारतिर तेस्र्याइरहनुभएको हो ?

एउटा कुरा के हो भने, चुनावपछि बहुमतका साथ आएको सरकारले नागरिकलाई धेरै सेवा सुविधालगायत आधारभूत कुरा पुरयाउनुपर्ने जिम्मेवारी पाएको हो । राजनीतिक हिसाबले धेरै कुरा समाधान भइसकेको अवस्थामा सरकारसँग आम अपेक्षा धेरै हुने नै भयो । सरकाले त्यो भार बोक्नुपर्ने थियो । ५ वर्षका लागि बहुमतका साथ आएको सरकारले थिती बसाउने, बिग्रेको प्रणालीलाई बलियो बनाउने, राज्यका निकायहरुलाई कमजोर होइन थप सुदृढ र सम्बृद्ध बनाउने गरि काम गरेको भए नागरिकका आशा सम्बाेधन हुने थिए । तत्काल सम्भव हुने कुरा प्राप्त गर्न थालेपछि पछिका लागि काम भइरहेका छन् भन्ने आशा हुने थियो । यति भएको भए मैले अहिले नागरिकका तर्फबाट निराशाका यी कुराहरु राख्ने ठाउँ नै हुने थिएन ।
२०७४ सालपछि ०७५ सालमा पनि वैशाख ११ आयो र त्यसबेला हामी धेरैले आशाका कुरा गरेका थिर्यौँ । निर्वाचन पछि आएको स्थायी सरकारले काम गर्ने भरोसा थियो । सरकारले पक्कै केही गज्जब गर्नेछ भन्ने हामीलाई पनि थियो नागरिकलाई पनि थियो ।

तर यो अवधिमा भयो के भने राज्यका संस्थाहरु कमजोर भए । सरकार डेलिभरिमा चु्क्यो । अर्कातिर पपुलरिज्म बढ्यो । विश्वका धेरै देशमा जस्तै नेपालमा पनि सस्तो लोकपृयताको बाढी आयो । जसले लोकतन्त्रका लागि सबैभन्दा डरलाग्दो अवस्था सिर्जना गरिरहेको छ । एकटा पपुलिज्मको बिचार, पार्टी, नेता र तरिका अघि बढिरहेको छ यो खतरनाक हो ।
अहिले सबै राजनीतिक दलको नेतृत्व हेरौँ २०६२-६३ सालमा राजनीतिक नेतृत्वको एक आह्वानमा हतियारसहित दशक बढी विद्रोह गरेको पार्टी शान्ति प्रकृयामा आयो । लाखौँ नागरिक आन्दोलनमा सहभागि भए । मतलव राजनीतिक दलको शीर्ष नेतृत्वले ठूलो विश्वास आर्जन गरेको हो नि । तर त्यो विश्वासलाई शिर्ष नेतृत्वले आत्मसाथ गर्न सकेन । सबै दलमा त्यसपछि अहिलेसम्म मृत्यु भएका केही नेताबाहेकका नेताहरु त उही नै छन् । नागरिकको पुस्तान्तरण भयो । तर नेताहरु उहि नै रहे नेतृत्वमा । नागरिकको दलसँग सम्बन्ध जोडिने, चिनिने, देखिने, भनेको त त्यहि नेता मार्फत नै हो । हो यो हिसाबले नागरिकको भरोसा गुम्दै गएको छ । सबैभन्दा ठूलो भ्याकुम चाहिँ म यहाँनेर देख्छु ।

२०६२-६३ सालपछिको कुरा मात्र होइन २०४६ सालपछिदेखि नै लोकतन्त्रको संस्थागत विकाशका लागि यसका आदर्शलाई कुल्चिइएको हो । नाम प्रजातन्त्र वा लोकतन्त्र जे भनेपनि नाम लिंदै त्यहि ब्यवस्थाको हुर्मत लिने काम भयो ? राजनीतिक दल वा नेतृत्वप्रतिको वितृष्णा आउनुमा स्वयम दल र नेताहरु अर्थात् तपाईँहरु नै त दोषी हुनुहुन्छ नि होइन र ?

२०४६ सालमा आर्जन गरेको विश्वास २०५९ सालमा आइपुगदा राजनीतिक नेतृत्वले पूरा गुमाएकै हो । तर २०६२-६३ मा आइपुग्दा नियतिले फेरि एकपटक मौका दिएको हो । त्यसबेला शीर्ष नेताहरुले फेरि विश्वास र भरोसा आर्जन गर्न पाउनुभयो । तर त्यसलाई उहाँहरुले कायम राख्नुभएन । अब चाहिँ उहाँहरुलाई कुनै पनि हालतमा त्यो मौका पाउने सम्भावना छैन । उमेरको कारणले पनि यो अब सम्भव छैन । किनभने अब कतिपटक कुन-कुन बहानामा मौका दिइरहने त नागरिकले ?
२०४६ सालमा हामीले चिनेको जुन-जुन नेताहरु हो २०-२५ जना बयस्क पुरुष नेताहरु, केही वित्नुभयो बाँकी त फेरिनुभएन । उहाँहरु नै अहिलेपनि दलको शिर्ष तहमा हुनुहुन्छ । उहाँहरु आफ्नो साइजभन्दा ठुलो आसन जमाएर बस्नुभएको छ । यो कटु सत्य हो । अर्कोतिर अहिलेको अवस्था खासमा हामीहरु अर्थात राजनीतिको पछिल्लो पूस्तामाथि पनि हो । हामी लोकतन्त्रका लागि काम गरिहेका छौँ । हाम्रो अवस्था कस्तो हो भने हामी कुनै एक्जिक्युटिभ पावर पूरा उपयोग गर्ने अर्थात हस्तक्षेपकारी ठाउँमा पनि पुगेका छैनौँ, पार्टीभित्र पनि र सरकारमा पनि । हामी सहभागि त भयौँ तर पूरा एक्जिक्युटिभ अधिकार पाएको पूस्ता त बन्न पाएका छैनौँ । तर यसो भनेर मात्र पनि हामीले सुख पाउँदैनौँ किनकी हाम्रो पुस्ता पनि राजनीति मै छ । हामी पनि देखिने सुनिने र चिनिने ठाउँमै छौँ । नागरिकको निराशा त धेरथोर त हामीप्रति पनि त हो नि ।

२०६२-६३ सालपपछि चाहिँ खासमा कहाँनेर चुकियो त ?

२०६२-६३ सालपछि हामीले प्रजातन्त्रलाई लोकतन्त्र भन्यौं । समावेशिता लगायतका धेरै कुराहरुको ग्यारेन्टी गर्यौँ । यो उल्लेख्य छ । नयाँ संरचनामा गयौँ । नयाँ संविधान बनायौँ । तर हामीले मूख्य गरि एउटा कुरा चाहिँ फेर्दै फेरेनछौँ । राजनीतिक दल कसरि सञ्चालन गर्ने भन्ने कुरा बदल्न सकिएन छ । सरकारको स्वरुपको कुरा, निर्वाचन प्रणालीको कुरा, संघीय संरचनाको कुरा लगायत फेरियो तर दलभित्र जवाफदेहीताको विकास गर्न सकेनछौँ । अघिल्लो पुस्ताको नेतालाई हाम्रो पस्ताले पनि विस्थापित गर्न सकेन । र दलका नेताहरुले चुनाबबाट हारेपछि म पदबाट बाहिरिन्छु भन्ने बनाउन सकेनछौँ । जस्तो कि म योग्य छु भनेर नागरिकसम्म पुगेको नेताले हार्यो भने उसले पद त्याग गर्नुपर्ने कि नपर्ने ? हामीले राजनीतिक दल सञ्चालनको तरिका चाहिँ एक रत्ति पनि बदलेनछौँ । प्रजातान्त्रिक ब्यवस्थामा जे भएपनि लोकतान्त्रिक ब्यवस्थामा जवाफदेहिताको राजनीतिको थिती बसाउन सकेको भए पुस्तान्तरण भन्ने कुरा स्वत भइहाल्थ्यो नि ।

यो सन्दर्भ पनि फेरि तपाईँहरु अर्थात पार्र्टीभित्र पछिल्लो पुस्ताको प्रभावकारी उपस्थिती र हस्तक्षेपकारी भूमिकासँग जोडिन्छ होइन फेरि पनि ? तपाईँहरुले सही बाटोमा ल्याउन नसकेकाले नै अघिल्लो पुस्ता मनमौजी भएको होइन र ?

हामी र हाम्रो पुस्ता यहिँनेर चुकेको हो, म यो कुरा स्वीकार्छु । हामीले पनि सकेन छौँ । केही प्रयत्न त गरेको हो तर पर्याप्त भएन । जस्तो मेरो कुरा गर्नुहुन्छ भने अघिल्लो महाधिवेशनमा मैले मुख्यमध्येको एक कार्यकारी पदमा उम्मेद्वारी दिएँ र दाबेदारी पेश गरेँ । तर म सफल भइनँ । यो मैले ब्यक्तिगत रुपमा गरेको मेरो हस्तक्षेप थियो । यसमा सन्तुष्टि जनाउने कुरा एउटा होला तर सामुहिक रुपमा पार्टीलाई सञ्चालन गर्न जुन तौरतरिकामा काम गर्नुपर्ने थियो त्यसमा हामी चुकेकै हो । हामीले गर्न नसकेकै हो । कांग्रेसमा मात्र पनि होइन एमालेमा, मोआबादीमा वा अरु दलमा पनि हामी पछिल्लो पुस्ताले यसमा प्रभावकारी भूमिका खेल्न नसकेको सत्य हो ।

नेपाली कांग्रेसले आफुलाई लोकतान्त्रिक दलको रुपमा दाबी गर्छ अझ शुद्ध लोकतन्त्रबादी म मात्र हुँ भन्छ । तर पार्टीभित्र पनि र बाहिर पनि कांग्रेसको भूमिका लोकतान्त्रिक नभएको स्पष्टै देखिन्छ । लोकतन्त्रप्रति आम मानिसमा निराशा बढ्नुमा कांग्रेसको भूमिका चाहिँ कति जिम्मेवार छ ?

हामीले पछिल्ला १२-१५ बर्षमा दलभित्रको नेतृत्वको कुरा दल र समाजको सम्बन्ध पु्नपर्रिभाषित गर्ने र रिन्यू गर्ने कुरामा चुकेको कुरा छँदैछ । सँगै, खासगरि पछिल्लो चुनाबपछि हामीले विपक्षीका रुपमा जुन भूमिका पाएका थियौँ त्यसमा पनि हामी चुक्यौँ । हाम्रो जस्तो संसदीय ब्यवस्थामा विपक्षीको भूमिकाको एकदमै ठूलो अर्थ हुन्छ । नागरिकलाई आजभन्दा भोली राम्रो हुन्छ भन्ने आशा जगाउने काम विपक्षीको हो । सरकाले काम गरेन भन्नेमा खबरदारी गर्ने त छँदै छ, सरकारले काम गरेन भन्दै गर्दा नागरिकलाई विश्वास दिलाउने काम विपक्षीले गर्ने हो । यो सरकारले काम प्रभावकारी गर्न सकेन लोकतन्त्रको रक्षा गर्न सकेन, चरित्र लोकतान्त्रिक बनाउन सकेन, विधी र पद्धती बसालेन बरु भत्कायो भन्दै विपक्षी दलले चाहिँ अब अर्को चुनाबसम्म पर्ख हामी आएपछि यो अवस्था अन्त्य गर्छौ । तिम्रा आशा र भरोसा मर्न दिँदैनौ भनेर आशा जगाउने काम गर्नुपर्ने हो । यसो हुँदा सरकारप्रति नागरिकको अविश्वास हुन्थ्यो होला सत्तारुढ दलप्रति भरोसा टुटे अर्को दलप्रति विश्वास जाग्थ्यो । भन्नुको मतलब सिंगो ब्यवस्थामाथि नागरिक असन्तुष्ट हुने थिएनन् । ब्यवस्थामा भरोसा गर्दै पात्र वा दल फेर्ने कुरामा नागरिक लाग्ने थिए । दुखका साथ भन्नुपर्छ त्यो हुन सकेन । पछिल्लो समय यो भूमिका नागरिकले कांग्रेसलाई दिएका हुन् । यो अवधिभर विपक्षी दलका रुपमा तिमिले यो काम गर भनेर नागरिकले दिएको जिम्मेवारीमा हामी खरो उत्रन नसकेकै हो । हामी चुकेकै हो । यो स्वीकार्नुपर्छ । म इमान्दारिताका साथ भन्छु यो काममा हामी चुक्यौँ ।

यो भरोसा जगाउनका लागि अब दलहश्रले गर्ने काम के हुन् ? तपाईँले नै भन्नु्भयो अघिल्लो पुस्ताले अब त्यो मौका पाउनेवाला छैन भनेपछि तपाईंहरुकै पूस्ताले यो काम गर्नुपर्यो होइन र ?

अब विपक्षी दलका रुपमा हामीले जिम्मेवारी निर्वाह गर्नुपर्छ । हामी अहिलेपनि विपक्षमै छौँ । यसको चरित्र भनेको प्रश्न गर्ने खबरदारी गर्ने । बैकल्पिक सरकारका रुपमा आफुलाई तयार राख्ने र नागरिकसँग बढी घुलमिल हुने हो । सरकारसँग कुनै लसपस नगर्ने । मोलाहिजा नगर्ने । सरकारसँग होइन नागरिकसँग नजिकिने, सरकारसँग होइन नागरिकसँग हाम्रो रुझान हुनुपरेयो, सबै सम्बन्ध पारदर्शी बनाउने काम गर्नुपर्छ । यी कुरामा हामी अहिलेसम्म चुकेका छौँ यसमा तत्कालै ध्यान दिइहाल्ने र सुधार गरिहाल्नुपर्ने कुरा हो ।

सरकारले सरकारको भूमिका र विपक्षी दलका रुपमा कांग्रेसले त्यो भूमिका इमान्दारीताका साथ काम गर्ने हो । सरकारले संविधानको सिमाभित्र रहेर नागरिकको अधिकारलाई विस्तारित गर्दै सेवा प्रवाहलार्ई चुस्त दुरुस्त बनाउने हो । कार्यकारीका आफ्ना सिमाहरु हुन्छन् । ऊ अदालत होइन संसद होइन ऊ सरकार हो । ऊसले सरकारको सिमाभित्र रहेर काम गर्नुपर्छ । हाम्रो सरकारको समस्या अहिले के हो भने उसले आफुलाई नागरिकबाट चुनिएर आएको मान्यो ठिक छ, चुनिएर आएको हो । तर, मजस्तै चुनिएर आएको विपक्षी दल छ भन्ने कुरालाई उसले मानेन । चुनिएर आएको संसद छ भन्ने कुरालाई अनदेखा गरिरहेको छ । संविधानबाटै निसृत भएर आएको अदालत छ वा अन्य निकाय छन् भन्ने कुरालाई ऊ मानिरहेको छैन । लोकतान्त्रिक ब्यवस्थामा सबै निकायका अधिकार र सिमा पनि हुन्छन् । यो कुरालाई सरकारले पटक्कै एडमिट गरेको छैन । यो गलत हो । सरकारले यो कुरा सुधार गर्दै डेलिभरि लाई ध्यान दिनुपर्छ ।

लोकतन्त्रको विकल्पमा रुपमा कोही धर्मका नाममा वा जातका नाममा वा राष्ट्रबादका नाममा कोही आउने चेष्टा गर्ला वा आउला पनि तर उसले समाधान दिँदैन हाम्रो अर्को एक पुस्ता फेरि पछि धकेलिने छ । त्यसैले यसको विकल्प यहि ब्यवस्थाभित्रैबाट खोजौँ । यसैलाई सुधार्न र समुन्नत बनाउन लागौँ ।

अर्कोतिर राज्यका निकायहरुले पनि कमजोरी स्वीकार्नुपर्छ । यी निकायहरुले आफ्नो गरीमा कायम राख्न सक्नुपर्छ । हस्तक्षेप स्वीकार्नु हुन्न । परास्त गर्नुपर्छ । संविधानको दायरामा रहि आफ्ना अधिकारको उपयोग गर्दै पालना गर्नुपर्छ । गएका १२–१५ बर्षमा हामीप्रतिको भरोसा किन घट्दै गइरहेको छ भनेर बुझ्नपर्छ ।

दलभित्र जवाफदेहीता विकास गर्नुपरयो । दलभित्र विधीको शासन हुनुपर्यो । उदाहरणका लागि यो हुने वित्तिकै कांग्रेसभित्रको एउटा मण्डली जसले बीसौँ बर्षदेखि पार्टीभित्र कब्जा गरेको छ उनीहरुलाई अहिलेलाई विदाई हुन्छ । म पूस्ताको आधारको मात्र कुरा गर्दिन । तर पटकपटक पाएको अवसरमा आफुलाई प्रमाणित गर्न नसकेको पुस्ता जवाफदेहिताका आधारमा पनि अब बदल्नुपर्छ । यसो हुनासाथ नयाँ आशा र भरोसा जाग्छ । नयाँ पुस्ता आयो अब यसले नागरिकसँगको सम्बन्ध नविकरण गर्छ भन्ने आशा हुन्छ ।

म नयाँ पुस्ताका साथीहरुसँग नागरिकको आशा र भरोसाअनुसार राजनीतिले काम गर्न नसकेको स्वीकार्छु । जे हुनुपर्ने हो जति गर्नुपर्ने थियो त्यो हुन सकेन म मान्छु । म २०५९–६० सालमा अहिलेको तपाईँहरु जस्तै थिएँ । त्यो बेलामा राजनीतिक दलको अक्षमता र आक्रोशलाइ राजाले उपयोग गरेर र बैकल्पिक शासन दिन्छु् भनेर मौका उपयोग गरे । तर २ बर्षमै उनी काम नलाग्ने रहेछन् भनेर हामी युवाहरु फेरि सडकमा उत्रनुपरेको कुरालाई स्मरण गर्न चाहन्छु । त्यसैले लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । यसैभित्र रहेर विकल्प खोज्ने हो । लोकतन्त्रको विकल्पमा रुपमा कोही धर्मका नाममा वा जातका नाममा वा राष्ट्रबादका नाममा कोही आउने चेष्टा गर्ला वा आउला पनि तर उसले समाधान दिँदैन हाम्रो अर्को एक पुस्ता फेरि पछि धकेलिने छ । त्यसैले यसको विकल्प यहि ब्यवस्थाभित्रैबाट खोजौँ । यसैलाई सुधार्न र समुन्नत बनाउन लागौँ ।

                                                                 लोकतन्त्र दिवसको शुभकामना ।

प्रतिक्रिया