भारतसँगको सीमा सील गरौं, स्वास्थ्य मापदण्ड अपनाएर उद्योग चलाऔं

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोक्न ठाउँठाउँमा निषेधाज्ञा जारी भइरहेको छ । जोखिमसँगै निषेधाज्ञा पनि बढ्दै गएको छ । धेरै ठाउँमा एक हप्ताका लागि घोषणा गरिएपनि निषेधाज्ञा कति दिनका लागि हुन्छ वा कुन कुन क्षेत्र ठप्प हुन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

गत वर्षको लकडाउनमा पनि सरकारले सम्पूर्ण उद्योग क्षेत्रमा लकडाउन गर्दा निजी क्षेत्रले ठूलो नोक्सानी व्यहोरिसकेको छ । अर्थतन्त्रमा यसले पारेको असरको क्षतिपूर्ति गर्न अझै कति समय लाग्नेछ । उत्पादनमा आएको भारी गिरावटका कारण उद्योग क्षेत्र नै शिथिल बनिसकेको छ । होटल पर्यटनलगायतका क्षेत्रको नोक्सानीको कुरा त अझ गरिसाध्य छैन ।

अहिले बिस्तारै केही राहतको महशुस गर्न थालेको उद्योग क्षेत्रलाई पूर्णलकडाउन वा निषेधाज्ञा गर्ने हो भने यसले पुर्‍याउने असरको अनुमानसम्म पनि गर्न सकिँदैन । अर्थात् यो नोक्सानी डरलाग्दो हुन्छ ।

हामीले कोभिड संक्रमणलाई कम गर्नुपर्ने पनि छ । जोखिमका बेला सावधानी अपनाउनैपर्छ । तर यसो भन्दैमा सबै क्षेत्र ठप्पै पार्नुपर्छ भन्ने होइन । सुरक्षा र सतर्कताका पर्याप्त सावधानी अपनाएर काम गरौं । उत्पादन र व्यापारलाई व्यवस्थित गर्न सकिएन भने खाद्य सामग्रीको अभाव हुन्छ । मानिस भोक र शोकको शिकार हुने निश्चित छ ।

उद्योग बन्द हुँदा आम मानिसको रोजगारी कटौती हुन्छ । आय घट्छ । तर, घर तथा पसल कवलको भाडा घरधनीले छुट दिँदैनन् । छोराछोरीको विद्यालय शुल्कमा छुट हुँदैन । बैंकको ब्याज छुट हुँदैन । यसले मानिसमा भोकको शिकारसँगै शोक पनि बढ्छ । बैंकको ब्याजदरलगायत लगानीको प्रतिफलका आर्थिक दायित्वहरू निर्वाह गर्न नसक्दा मानिस तनावमा पुग्छ । यसका अनेकौँ नकारात्मक प्रभाव पर्छन् ।

गतवर्षकै तथ्यांकलाई हेर्ने हो भने संक्रमणबाट भन्दा आत्महत्या गरेर मृत्यु हुने मानिसको संख्या ज्यादा देखिएको थियो । यी कारणले उद्योग व्यवसायलाई स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालनमा राख्नुपर्छ भनेर हामीले सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई भनिरहेका छौं ।

भारतमा कोभिडको संक्रमण तीव्र देखिएको छ । त्यसमा पनि उत्तर प्रदेशमा बढी संक्रमण छ । त्यसको असरका रुपमा नेपालको बाँके जिल्ला कोरानोको हटस्पटजस्तै बनेको छ । त्यसो हुँदा सीमा खुला राखेर देशभित्र जति नै निषेधको नीति लिएपनि संक्रमण कम हुने देखिँदैन । वीरगञ्ज, विराटनगर, नेपालगञ्जजस्ता ठाउँमा कोरोना फैलिरहेको छ । यसमा सरकार एक हिसाबले चुकिसकेको छ ।

अबको सबैभन्दा उत्तम विकल्प भनेको सीमा नाका सील गर्ने र देशभित्रका संक्रमणको हटस्पट बनेका ठाउँहरुमा निषेधाज्ञा लगाउने गर्नु नै हो । निषेधाज्ञा लगाएका ठाउँमा पनि उद्योग कलकारखाना तथा व्यापार व्यवसाय सुचारु राख्न स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिन आवश्यक छ ।

बिहान बेलुका कार्यालय सममयमा मात्रै औद्योगिक तथा व्यवसायिक कर्मचारी बाटोमा हिँड्ने हुन् । उनीहरुलाई परिचयपत्रका आधारमा उद्योगसम्म जाने र आउने वातावरणमात्रै बनाइदिए पनि समस्या हुँदैन । त्यस्तै, समय तोकेर उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ । उद्योगहरुलाई स्वास्थ्य मापदण्डलगायत सुरक्षा सतर्कता अपनाउन दबाब दिन सकिन्छ ।

भारतलगायत तेस्रो देशबाट आउने औद्योगिक कच्चापदार्थ ल्याउँदा स्वास्थ्य मापदण्ड अपनाएर निःसंक्रमण गरेर ल्याउन सकिन्छ । आयात निर्यात दुवैतर्फ कडा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउन सकिन्छ । यी सबै विकल्पमा जानु उपयुक्त हुन्छ । यसै विषयमा हामीले सरकारलाई ध्यानाकर्षण पनि गराइरहेका छौं ।

(नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया