गण्डकी प्रदेश : तीन सांसदलाई कोरोना, के हुन्छ अविश्वास प्रस्ताव ?
काठमाडौं । गण्डकी प्रदेश सभाका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सभाकी सूचना अधिकारी सपना अधिकारीले मकालु खबरलाई दिएको जानकारीअनुसार तीन जना सांसद र एक जना सभाका कर्मचारीमा संक्रमण पुष्टि भएको हो । ‘तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ अधिकारीले भनिन्– ‘सँगै एकजना कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको छ ।’
प्रदेश सभा स्रोतले मकालु खबरलाई बताएअनुसार दुई जना एमाले सांसद र एक जना कांग्रेस सांसदलाई कोरोना पुष्टि भएको हो । स्रोतले भन्यो– ‘दुई जना कांग्रेस सांसद र एक जना कांग्रेस सांसदमा कोरोना संक्रमण पुष्टि भएको भन्ने छ । दुई जना एमाले सांसदलाई चाहिँ पहिलेदेखि पनि रुघाखोकी लागेको थियो । त्यसको आधारमा पनि उहाँहरुलाई भने संक्रमण पुष्टि भएको भन्ने थप पुष्टि हुन्छ ।’
गत सोमवारबाट शुरु भएको संसद्को विशेष अधिवेशनअन्तर्गतको प्रदेश सभा बैठक बुधवार (आज) पनि दिउँसो १ बजेबाट शुरु हुँदैछ । त्यहाँ मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको छ । यसअघि मंगलवार बसेको बैठकमा सत्तारुढ एमालेले बैठक अवरुद्ध गरेको थियो । सबै सांसदमा कोरोना संक्रमण परीक्षण गरेर मात्रै पुनः बैठक बस्नुपर्ने उनीहरुको माग थियो । मंगलवारको बैठकमा एमाले सांसद राजीव पहारीले भने थिए– ‘कोरोनाकाल चलिरहेको छ, पीसीआर परीक्षणबिना बैठक बस्नु जोखिमयुक्त हुन्छ । सबै सांसदको पीसीआर गरेर मात्रै बैठक बस्नु उचित हुन्छ ।’ तत्पश्चात् सोहीअनुुरूप सांसदहरुले कोरोना परीक्षण गराएका थिए । सो क्रममा तीन सांसदसँगै एक मर्यादापालकमा संक्रमण पुष्टि भएको हो ।
यसपछि अब खासगरी मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव कसरी अगाडि बढ्छ भन्ने कौतुहुलता थपिएको छ । सभामुख नेत्रनाथ अधिकारीले भने तीन जना सांसदमा संक्रमण देखिँदैमा सदन नभाँडिने बताउँछन् । ‘संसद् बैठक निर्धारित समयमै शुरु हुन्छ,’ सभामुख अधिकारीले भने– ‘माननीयहरुलाई बोल्न समय दिइन्छ । मत हाल्न दिने सहमति हिजै भइसकेको छ । कोरोना देखिँदैमा संसद्को कार्यसूची तलमाथि हुँदैन ।’
अविश्वास प्रस्तावमाथि बिहीबार मतदानको तयारी छ । प्रदेश सभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।