गण्डकी प्रदेश : अविश्वास प्रस्तावमा मतदान हुँदै, के होला मुख्यमन्त्री गुरूङको भविष्य ?

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि बुधबार जारी प्रदेश सभामा मतदान हुँदैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ल्याएको अविश्वास प्रस्तावमा मतदान हुन लागेको हो ।

अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने विश्वास विपक्षी दललाई छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले पनि आफ्नो दलले प्रस्तावको पक्षमै मतदान गर्ने बचन अन्य तीन दललाई दिइसकेका छन् । अध्यक्ष केसीले मकालु खबरसँग भने– ‘जनमोर्चा न सरकारलाई समर्थन गर्छ नसरकारमै जान्छ । प्रतिगमनतिर जाने दललाई कसैले समर्थन गरेर बस्दैन ।’ यता स्वतन्त्र सांसद दीपक मनाङ्गले भने आफू जनमोर्चाकै कित्तामा उभिने बताउँदै आएका छन् । यसरी सरासरी संसदीय गणित हेर्दा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना न्यून छ ।

प्रदेशमा २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्  । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।

मंगलबार प्रदेश सभा सदस्यहरूको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा तीन जना सदस्यहरूलाई कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया