गण्डकीमा सरकार ढाल्ने र बनाउने रस्साकस्सी

पोखरा । एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारको निरन्तरता हुने कि नहुने भन्नेबारे बुधवार छिनोफानो हुँदैछ । विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदैछ ।

अहिले चलिरहेको प्रदेश सभा बैठकमा सांसदहरुले बोल्ने क्रम चलिरहेको छ । यसपछि निर्णयार्थ प्रस्ताव पेश हुने कार्यसूची तय भइसकेको छ ।

बैठक चल्दै गर्दा प्रस्ताव पारित होला कि नहोला भन्न सकिने अवस्था छैन । एक–एक मतको पनि ठूलो मुल्य देखिएको प्रदेश सभामा स्वतन्त्र सांसद रहेका राजीव गुरुङ (दीपक मनाङ्गे) बैठकमा उपस्थित भएका छैनन् । उनको फोन स्वीच्ड अफ गरिएको छ ।

यस्तै, अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा उभिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका तीनमध्ये एकजना सांसद बैठकमा उपस्थित भएका छैनन् । जनमोर्चाका सांसद खिमविक्रम शाही बैठकमा उपस्थित नभएका हुन् । उनलाई बैठकमा उपस्थित गराउन कांग्रेस माओवादी र जनमोर्चाका नेताहरु लागिपरेका छन् ।

प्रस्ताव पारित हुन अर्थात् अहिलेको सरकार हटाउन प्रस्तावको पक्षमा कम्तिमा ३१ जना सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र एकजना सांसद छन् । माओवादीबाट एक सांसद सभामुख रहेकाले ११ जनाले मात्र मतदान गर्न पाउँछन् । यसअघि एमालेलाई समर्थन गरेको जनमोर्चाले समर्थन फिर्ता लिने बताएको छ । स्वतन्त्र सांसद गुरुङ्गले पनि जनमोर्चाले जे निर्णय गर्छ त्यही गर्ने बताएका थिए । तर, आजको बैठकमा उनी उपस्थित छैनन् । जनमोर्चाका पनि ३ मध्ये २ सांसद मात्र उपस्थित छन् । यस्तै जसपाका सांसदले प्रस्तावको पक्षमा अर्थात विद्यमान सरकारको विपक्षमा मतदान गर्ने बताए पनि अन्तिम अवस्थासम्म के हुने भन्ने संशय नै रहेको विपक्षी दलका एक सांसदले बताए ।

कांग्रेस र माओवादीसहित जनमोर्चाका तीनैजना र जसपाका दुई सांसदले समर्थन गर्दा मात्र अविश्वासको प्रस्ताव पारित हुने अवस्था छ । यस्तो अवस्थामा जनमोर्चाका एक सांसद अनुपस्थित भए वा विपक्षमा मतदान गरे बहुमत पुग्दैन ।

फ्लोर क्रसको सम्भावना न्यून
कर्णाली प्रदेशमा जस्तो गण्डकीमा एमालेभित्रकै सांसदले फ्लोर क्रस गर्ने सम्भावना अति न्यून मात्र छ । प्रदेशसभामा खनाल–नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटा मात्र हुन् ।

प्रतिक्रिया