जनमोर्चाको मागपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । जनमोर्चाकी गण्डकी प्रदेश सचेतक पियारी थापाले सांसद शाही सम्पर्कविहीन भएको  भन्दै सभाको कारबाही रोक्न माग गरेपछि बैठक अर्को सूचना नआइन्जेलसम्मका लागि स्थगित भएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चा गण्डकी प्रदेशका संसदीय दलले नेता शाही सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

जनमोर्चाका तीन सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतकसमेत रहेकी थापाले बुधबार नै प्रदेश सभामा पत्र दिएकी थिइन् ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल भइसकेको छ । जसमा आजै मतदान हुने कार्यसूची थियो । तर, सांसद शाही सम्पर्कविहीन भएको भन्दै थापाले प्रदेश सभा बैठक रोक्न माग गरेकी हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव पारित हुनको लागि ३१ मत चाहिन्छ । यदि प्रदेश सभा बैठक स्थगित नभइ आजै मतदान भएको खण्डमा प्रस्ताव फेल हुन सक्थ्यो । किनकी, सांसद शाहीबिना विपक्षी संयुक्ता मोर्चाको बहुमत आउँदैनथ्यो । प्रदेशमा एमालेका २७ सांसद छन् ।

प्रतिक्रिया