सुदूरपश्चिममा अक्सिजन अभाव हुन नदिइने, निजी अस्पतालसँग सहयोगको अपील
काठमाडौं । सुदूरपश्चिम प्रदेशका अस्पतालमा अक्सिजन अभाव हुन नदिनेगरी तयारी गरिएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको आह्वानमा बिहीबार बसेको बैठकले अस्पतालमा अक्सिजनको कमी हुन नदिनेगरी कोरोना संक्रमितको उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगर मेयर, सामाजिक विकास मन्त्रालयका सचिव, संघीय जनस्वास्थ्य महाशाखा प्रमुख, प्रदेश स्वास्थ्य आपूर्ति प्रमुख, सेती अस्पतालका मेसुलगायतको सहभागिता थियो ।
बैठकले गेटा मेडिकलका एउटा भवनमा आइसोलसन र होल्डिङ सेन्टर स्थापना गर्नेदेखि आइसीयू र संक्रमितको उपचारका लागि निजी अस्पतालसंग सहकार्य गर्ने लगायतका निर्णयहरु गरिएको छ ।
यस्ता छन् चार निर्णय:
१. सबै जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण भइरहेकाले सुदूरपश्चिममा रहेका अक्सिजन सप्लायर्सले आपूर्ति गर्न नसके बाहिरबाट भएपनि खरिद गर्ने ।
२. संघीय मन्त्रालयसँग समन्वय गरी आजैदेखि गेटा मेडिकल कलेजको एउटा भवनमा आइसोलेसन र होल्डिङ सेन्टर स्थापनामा जुट्ने ।
३. नाकामा चेकजाँच गरेर मात्रै नेपाल प्रवेश गराउने । त्यसका लागि थप व्यवस्थापन, आवश्यक जनशक्ति तथा कीटहरूको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने ।
४. गम्भीर प्रकृतिका बिरामी बढ्दै गएकाले सेती अस्पतालमा आवश्यकताअनुसार थप भेन्टिलेटर तथा आइसीयू बेड थप्ने, संक्रमितको उपचारमा निजी अस्पतालहरुसँग सहयोगको आग्रह गर्ने ।