सरकारले चाहे कोभिड महामारीविरुद्ध धेरै डाक्टरलाई परिचालन गर्न सक्छ

असारमा हुने मेडिकलको स्नातकोत्तर तह एमडी एमसको प्रवेश परीक्षाका लागि अहिले ‘टुप्पी कसेर’ पढिरहेको छु । गएको चैतसम्म म दोलखाको बैतेश्वर गाउँपालिकामा करार सेवामा कार्यरत थिएँ । त्यसयता प्रवेश परीक्षाकै लागि म कतै काम नगरी लगभग पढ्नेमात्र काम गरिरहेको छु ।

सामाजिक सञ्जालमा पनि कमैमात्रै आउन खोज्छु । तर महामारीको बेला छ, एक चिकित्सक हुनुको नाताले मन आत्तिन्छ ।

कहाँ के के भयो होला ? आज कति नयाँ केस भेटियो, कहाँ उपचारको कस्तो प्रबन्ध भयो ? स्वास्थ्यकर्मीले कसरी काम गरिरहेका होलान् ? यी र यस्ता प्रश्नले घरिघरि घच्घच्याइरहन्छ । र सामाजिक सञ्जाल र सञ्चारमाध्यम चियाइरहन्छु । यसले मेरो अध्ययनमा थोरबहुत अवरोध पनि पुर्‍याइरहेको छ ।

दोलखामा काम गर्नुअघि म रुकुमको आठबीसकोट नगरपालिका अस्पतालमा मेडिकल अफिसर थिएँ । अहिले पनि त्यहाँका साथीहरूसँग, स्वास्थ्यकर्मीहरुसँग म सम्पर्कमै छु । कोभिडको प्रकोप बढेपछि यो सम्पर्क थप बाक्लिएको छ । टेलिमेडिसिन जस्तो गरी फोन वा भिडियोमार्फत् म आफूले जानेको कुरा उहाँहरुलाई भनिरहेको छु । केही दिनअघि त्यहाँबाट हेलिकोप्टरमार्फत् उद्धार गरी थप उपचारका लागि एकजना बिरामीलाई ल्याइयो । तर उहाँ बितेको खबर थाहा पाएँ ।

एकदमै नरमाइलो लाग्यो । म रुकुममै भएको भए, अलि बेलैमा उहाँलाई रेफर गर्ने थिएँ वा हेलिकोप्टरको उद्धारको पहल गर्ने थिएँ होला, जसले गर्दा उहाँ बाँच्न सक्नुहुने थियो होला भन्ने सम्झेर एकदमै नमज्जा लागिरहेको छ अहिले पनि ।

एक डाक्टरका लागि कोही पनि एकजना बिरामीलाई बचाउन सक्नुभन्दा अर्को खुशी शायदै होला ।

तर रुकुम छोड्नु मेरो रहर नभएर बाध्यता थियो । त्यसपछि दोलखा छोड्नु पनि बाध्यता नै थियो । उच्च शिक्षाका लागि प्रवेश परीक्षा आएकाले पढ्नका लागि मैले त्यो करारको जागिर छोड्नु नै पर्ने थियो । करार यसै पनि चैतमै सकिएको थियो ।

अहिले कोभिडको महामारीले जताततै साम्राज्य फैलाउँदै गएका बेला मेरो तन कोठामा र किताबहरुसँगै भएपनि मन भने अस्पताल र बिरामीहरूसँगै छ ।

समाचारहरू पढ्छु, तस्बिर/भिडिओहरू हेर्छु, स्वास्थ्यकर्मी कतै पीपीई सेट लगाएरै कुर्सीमा आड लागेर केहीबेर आँखा चिम्लिएर निद्रा पुरा गर्न बाध्य छन् । कतै कोभिड संक्रमण देखिएका डाक्टर हातमा स्लाइन लगाएरै बिरामीको रिपोर्ट हेरिरहेका छन् । कतै बेड छैन, त कतै उपकरण । अनि कतै उपकरण चलाउने जनशक्तिको अभाव छ त कतै अक्सिजन ।

हाम्रोजस्तो देशमा हर कुराको अभाव हुन्छ । यस्ता समाचार नौला हुँदैनन् । तर, स्वास्थ्य क्षेत्रको अभाव भनेको सामान्य कुरा होइन । महामारीको बेलामा त यो झनै दुःखद हो ।

यो महामारीले उत्कृष्ट स्वास्थ्य सुविधा भएको भनिएका देशलाई त त्राही त्राही बनाइरहेका छन् हाम्रोजस्तो अति नै कमजोर स्वास्थ्य प्रणाली भएको देशको के कुरा ?

सरकारको एक निर्णयले झण्डै ३ हजारभन्दा धेरै चिकित्सक सेवामा फर्किन सक्छन् ।

अहिले मजस्ता हजारौं चिकित्सकहरू उच्च शिक्षा अध्ययनका लागि काम छाडेर तयारी गरिरहेका छौं । चिकित्सा शिक्षा आयोगले असारमा परीक्षा हुन्छ भनेको छ । परीक्षामा सहभागी भएर मात्र भएन, नाम निकाल्न धेरै नै मेहनत गर्नुपर्छ । यो हाम्रो भविष्यको कुरा पनि हो । कुनैपनि क्षेत्रमा लागिसकेपछि भविष्यको कुरा जोडिएर आउँछ नै । मेडिकल क्षेत्रमा पनि एमबीबीएसभन्दा माथिल्लो तहको अध्ययन अब अत्यावश्यक बन्दै गइरहेको छ । यस्तो बेलामा सबैले भविष्यलाई चटक्कै माया मार्ने भन्ने कुरा हुँदैन ।

तर, सरकारले चाह्यो भने मजस्ता हजारौं डाक्टरहरुलाई यो महामारीका बेला काममा फर्काउन सक्छ । यसका लागि सरकारले खासै ठूलो काम पनि गर्नुपर्दैन । एमडी एमएसको प्रवेश परीक्षा असारमा नगरी परीक्षा केही महिना (३ महिनाजति) सार्ने निर्णय गरे पुग्छ ।

यसले एमडी एमएसको शैक्षिक सत्रलाई कुनै असर पनि गर्दैन किनभने गएको चैतमा मात्र एमडी एमएस नयाँ वर्षको अध्ययन शुरु भएको छ । त्यसैले ६ महिनासम्म नयाँ शैक्षिक सत्रलाई पर सार्न कुनै समस्या छैन । अतः सरकारले यो प्रवेश परीक्षा अहिले नगर्ने निर्णय गर्दै चिकित्सकलाई काममा फर्काउने आग्रह गर्ने हो भने मेरो विचारमा ३ हजारभन्दा धेरै चिकित्सक सेवामा फर्किन सक्छन् ।

मेडिकल अफिसरका रुपमा उनीहरू सेवामा फर्किनु कोभिडलाई नियन्त्रण गर्ने दिशामा धेरै ठूलो कदम हो ।

सरकारले अवकाश प्राप्त डाक्टरहरुलाई काममा लगाउने निर्णय गरेको छ, म यो कामको विरोध गर्दिनँ र उहाँहरुप्रति सम्मान व्यक्त गर्दै यत्ति कुराचाहिँ भन्न सक्छु कि, यो बेलामा ६५/७० वर्ष पुगेर रिटायर्ड भएका डाक्साबहरूभन्दा युवा डाक्टरहरू बढी खटिएर काम गर्न सक्छन् । सरकारले यो बेलामा काममा खटिने डाक्टरलाई माथिल्लो तहको अध्ययनमा केही नम्बर थप गरिदिने निर्णय गर्न सक्छ ।

गत वर्ष ६ हजार डाक्टरले एमडी एमएसको प्रवेश परीक्षा दिएका थिए भनेपछि यसैलाई आधार मान्ने हो भने पनि ३ हजारभन्दा धेरै डाक्टर फर्किन्छन् । उनीहरुमध्ये धेरै डाक्टर काम छोडेर तयारी गरिरहेका मजस्ता छौं भने केहीले हप्तामा एकदिन मात्र ड्युटी गरिरहेको अवस्था छ ।

भारतले भर्खरै यस्तै परीक्षा रोक्ने निर्णय गरेपछि कम्तिमा १२ हजार डाक्टर काममा फर्किएका थिए । यसले अरू स्वास्थ्यकर्मीलाई पनि ठूलो नैतिक समर्थन हुन्छ । बिरामीलाई पनि सकारात्मक ऊर्जा प्रदान हुन्छ । उनीहरू सबै कम्तिमा १ वर्ष मेडिकल प्राक्टिस गरिसकेका डाक्टरहरू हुन्छन् ।

यस्तै, अमेरिका बेलायतलगायत देशमा उच्च शिक्षामा जान तयारी गरेर बसिरहेका डाक्टरहरू पनि नेपालमा हजारको हाराहारीमा हुनुहोला भन्ने लाग्छ । उहाँहरुलाई पनि सरकारले मोटिभेसन गर्न सक्छ । नेपालमै मेडिकल अफिसर (डाक्टर) का लागि लोकसेवाको परीक्षा बर्सेनि नियमित भन्ने हो भने पनि ठूलो मोटिभेसन हुन्छ ।

अचम्म लाग्न सक्छ लोकसेवाले मेडिकल अफिसर (आठौं तह) को विज्ञापन नगरेको चार वर्ष भइसक्यो । आठौँ तहमा अहिले देशभरि कार्यरत मेडिकल अफिसरहरू औँलामा गन्न सकिनेमात्र छन् । अस्पताल र स्थानीय तहले करारमा लिएका केही मेडिकल अफिसरहरू छन् । बाँकी सबैजसो त बिदामा वा करार सकेर अध्ययन गरिरहेकाहरू छन् ।

करारमा कार्यरत डाक्टरको तलब पनि मासिक ४० हजार रुपैयाँ तोकिएको छ । शतप्रतिशत दिने भनिएको भत्ता आधामा झारिएको छ । यस्ता कुराले त मोटिभेसन होइन, झन् हतोत्साह हुन्छ ।

करारमै भएपनि खाली भएका दरबन्दीमा भ्याकेन्सी खोल्न सकिन्छ । यसले आकर्षण बढाउँछ । उनीहरुलाई भोली अस्थायी वा स्थायीका लागि केही अतिरिक्त नम्बर दिने भनेर मोटिभेसन गर्न सकिन्छ ।

यसले ठाउँठाउँमा आईसीयूलगायत शैय्या सञ्चालन गर्न डाक्टर अभाव भइरहेको भन्ने समस्या पनि तत्काललाई समाधान हुनेछ । उपकरण किने पनि सही ढंगले सञ्चालन गर्न सकिएन भन्ने समस्याको समाधान हुन्छ ।

तत्कालै डाक्टर उत्पादन गरिहाल्न सम्भव छैन तर यति बुद्धि लगाउने हो भने देशभित्र रहेका हजारौं डाक्टरलाई यो महामारीमा काममा फर्काउन सकिन्छ । एकजना स्वास्थ्यकर्मीको त अतुलनीय भूमिका हुने यो कालमा हजारौं डाक्टर सेवामा हाजिर हुनु भनेको चानचुने योगदान हुनेछैन । बस् ! सरकारले यसका लागि एउटा निर्णय गर्न सक्नुपर्‍यो । र, निर्णय पनि यस्तो कि, जसले कुनै हानी गर्दैन तर सबैलाई फाइदा गर्छ ।

प्रतिक्रिया