के छ खबर ? फुर्सदै फुर्सद, गज्जब छ !

प्रत्यक्ष भेटघाट हुँदा होस् या सामाजिक सञ्जालमा कुराकानीको सुरुवात गर्ने क्रममा‚ हामी धेरैजसोको वार्तालाप के छ खबर ? भन्ने प्रश्नबाट अघि बढ्ने गर्दछ । कथम् शुरुवातमै सोधिएनछ भने पनि कुराकानीको अन्त्यसम्ममा हालखबर सोध्न छुटाउँदैनौं हामी । जवाफमा जवाफ आउँछ–ठीक छ‚ ठिकै छ‚ राम्रो छ‚ खास केही छैन‚ बाँचिएको छ यस्तै यस्तै… । सँगै प्रश्न आउँछ अनि तेरो/तिम्रो/तपाईँको चाहिँ के छ नि ? अब तयारी अवस्थामा रहेको जस्तै लाग्ने उत्तर दिने पालो यताको आउँछ– ठीक छ/ठिकै छ/राम्रो छ/खास केही छैन/बाँचिएको छ…।

आफ्नो हालत जे-जस्तो अवस्थाबाट गुज्रिरहेको भएपनि हामी आफूलाई ठीक देखाउँछौं, ठीक देखाउन मन पराउँछौं । यो एउटा राम्रो कुरा पनि हो । जसले हामीलाई सकरात्मक ऊर्जा पनि मिल्छ र वार्तालापमा रहेको दोस्रो पक्षले उसको खराब अवस्थाप्रति दुःखमनाउ गर्दै सहानुभूति दिइराख्नु पर्दैन । भलाकुसारी गर्ने सहज वातावरण पनि बन्यो र भलाकुसारी अर्को चरणमा प्रवेश गर्न सहज पनि ।

हाल नेपाललगायत विश्वका धेरै देशलाई नयाँ स्वरुपको कोभिड-१९ ले आक्रान्त बनाएको छ । करोडौं मानिसहरू यो भाइरसबाट संक्रमित हुनुका साथै कयौँले ज्यान गुमाइसकेका छन् । यस महामारीको रोकथाम तथा अन्त्यका लागि वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू खोप र औषधिको अनुसन्धान र आविष्कारमा व्यस्त छन् । आशा गरौं निकट भविष्यमै यो महामारीविरुद्ध हाम्रो जीत हुनेछ ।

नेपालमा पनि यो भाइरसको संक्रमण रोक्न काठमाडौं उपत्यकालगायत देशका धेरैजसो जिल्लामा अत्यावश्यक काम बाहेक हिँडडुल गर्न नमिल्ने गरी निषेधाज्ञा लगाइएको छ । अत्यावश्यक वस्तु उत्पादन र बिक्रीवितरण अनि सेवा दिनेबाहेकका व्यापार व्यवसाय बन्द छन् । अति नै आवश्यक नपरी घरबाट बाहिर निस्कन दिइएको छैन भने मानिस आफैं जोखिमबाट जोगिन बाध्य पनि भएका छन् ।

यसले पारेको र पार्न सक्ने आर्थिक, मनोवैज्ञानिकलगायत असरलाई एकापट्टी राख्ने हो भने दैनिक हुने कार्यव्यस्तताबाट मानिस फुर्सदिलो भने भएको छ । सामान्यतया साथीसंगी, इष्टमित्र, सहकर्मी, चिनारुलगायतले मलाई प्रत्यक्ष भेट्दा होस् या फोन, सामाजिक सञ्जालमार्फत् के छ हालखबर भनेर सोध्दा सुरुमा ठीक छ, गज्जब छ भन्ने जस्ता ‘रेडिमेड’ जवाफ दिएतापनि बिस्तारै ‘यो काम गर्न बाँकी छ‚ त्यो बाँकी छ काम केही गर्नै भ्याउँदिन’ यस्तै यस्तै कुरा हुने गरेको छ । नजाने मैले यसो भन्दा उनीहरू म व्यस्त छु भन्ने बुझ्थे या अस्तव्यस्त छ भन्ने बुझ्थे ।

अरूले जे बुझे पनि म आफूले भने आफू व्यस्त होइन अस्तव्यस्त भएको राम्ररी बुझेको थिएँ । यो अस्तव्यस्त अवस्थालाई कसैगरी सुल्झाउनु त छ नै । तर कसरी ? सोच्दै थिएँ‚ एकदिन मलाई फुर्सद मिल्यो । फुर्सद मिल्नुको कारण थियो बत्ती नहुनु ! तब न मैले आफू व्यस्त होइन अस्तव्यस्त हुनुको कारण पत्ता लगाएँ । आजकल मलाई कसैले के छ भनेर सोध्दा ‘फुर्सदै फुर्सद छ, गज्जब छ’ भन्ने गरेको छु । मेरो जवाफ सुनेपछि उहाँहरू धेरैजसोले भन्ने गर्नुहुन्छ‚‘बन्दाबन्दी भइगयो तँलाई मोज छ नि !’ ए हजुर ! यो त्रासदीपूर्ण वातावरणमा घरभित्रै थुनिएर बस्नु परेको छ, जताजतै दिक्क लाग्ने समाचार सुन्नुपरेको छ, कहाँ के भयो होला भन्ने औडाहा र पिडा छ । यसलाई मोज मान्ने हो र ?

खैर यसैलाई मोज मान्ने हो भने यो तपाईंको कुरा भयो‚ यसमा मेरो भन्नु केही छैन । र म फुर्सदिलो हुनुमा यो कोरोना, निषेधाज्ञा, बन्दाबन्दीको कुनै लेनादेना छैन । मलाई फुर्सद हुनुको एउटै कारण भनेको सामाजिक सञ्जालको प्रयोगमा कटौती हो । हुन पनि मोबाइलमा दशथरीका एप राखेको छ । काम एकातिर छ‚ सञ्जालमा कसले के गर्‍यौ भनेर मोबाइलको स्क्रीनमा औंला घिसार्दा घिसार्दै केही गर्नै भ्याइन्न त ! एकैछिन औंला घिसार्न भ्याइएन भने के के नै छुटेको जस्तो हुने मानिलिउँ चन्द्रमामा जाने यान नै छुट्छ जसरी । जब सामाजिक सन्जालका केही जञ्जालबाट बाहिरिएँ त्यस दिनदेखि त फुर्सदै फुर्सद । गज्जबै पो छ त ।

सामाजिक सञ्जाल हाम्रो दैनिकीको अपरिहार्यजस्तै भइसकेको छ । हामीमध्ये धेरैजनाले अधिकांश समय सामाजिक सञ्जालहरुमा व्यतीत गरिरहेका हुन्छौं । कुन ठाउँमा के भयो भइरहेको छ, कुनै सभा, सम्मेलन, जुलुस, भाषण, दुर्घटना, विकास निर्माणका काम, कुनै अपराध, टोल, गाउँ, समाज, देश, विदेशका गतिविधिबारे क्षणभरमा थाहा पाउन सकिन्छ । यसले निकट भविष्यमा आउन सक्ने क्षतिलाई रोकथाम गर्न तथा गलत कदमको खबरदारी गर्न समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सामाजिक सञ्जाल आफैँमा नराम्रो होइन तर यसको प्रयोग गर्न नजान्दा, समय व्यवस्थापन गर्न नजान्दा वा नसक्दा र चाहिनेभन्दा बढि अल्मलिँदा सञ्जालले दैनिक जीवनलाई नै समस्यामा पारिरहेको छ । यसको लतले हामीलाई खतरनाकरुपमा आफ्नो पञ्जामा जेल्दै लगेको छ ।

पत्तै नपाई हामी आफूले आफैँलाई आफ्नो दुश्मनजस्तै बनाइसकेका हुन्छौं ! सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमध्ये अधिकांश युवा वर्गका छौं । युवाको ऊर्जाशील समय सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणीमा नभई समृद्ध समाज र राष्ट्रनिर्माण गर्न आ-आफ्नो ठाउँबाट जे जति योगदान पुर्‍याउन सकिन्छ त्यतातिर ध्यान दिऔं । सामाजिक सञ्जालको प्रयोग हामीले गर्ने हो नकि सामाजिक सञ्जालले हामी आफैँलाई प्रयोग गरोस् । कुनै काममा व्यस्त हुनु राम्रो हो तर अस्तव्यस्त हुनु राम्रो होइन ।

सूचना, समाचार, जानकारी लिनु/दिनु राम्रो हो तर सञ्जालभित्र छिरेर मोबाइलको स्क्रिन तलमाथि गर्दै को कहाँ गयो, के खायो, के लायो, के भन्यो भनेर घण्टौं बिताउने हो भने आफ्नो लागि कहिल्यै फुर्सद नै मिल्दैन । र, अन्त्यमा कोरोना महामारीको बन्दाबन्दीमा घरभित्रै आफू सुरक्षित रही अरूलाई पनि सुरक्षित रहन सहयोग गरौं । सामाजिक सञ्जालको सकारात्मक फाइदा उठाई सकारात्मक सोचका साथ रचनात्मक कार्यमा आफूलाई व्यस्त राखौं ।

कसैले के छ भनेर सोध्दा गज्जब छ भन्नेमात्र होइन गज्जबै बनाउन सकौं । फुर्सदै फुर्सद होस्‚ गज्जबै गज्जब होस् । जसले तपाईंलाई पनि सुन्ने व्यक्तिलाई समेत ऊर्जा मिलोस् ।

स्वस्थ बनौं‚ अस्तव्यस्त होइन‚ व्यस्त बनौं, मस्त रमाऔं ।

प्रतिक्रिया