वाह ! दिदी वाह !
यो पटकको भारतको पश्चिमी बंगाल विधान सभा चुनाव र नतिजाको चर्चा चलिरहेकै छ । चुनावमा ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमुल कांग्रेसले नरेन्द्र मोदी र अमित शाहलगायत घगडान र ‘राष्ट्रिय राजनीतिका हस्तिहरू’ रहेको भारतीय जनता पार्टीलाई हराएको छ । बितेको एक दशकमा भारतमा हुने साना ठूला चुनावलाई उनका पक्षधर र आलोचक दुवैले नरेन्द्र मोदीको नायकत्वको परीक्षणका रुपमा हेर्ने गरेको कुरा विदितै छ ।
सुविधाअनुसार चुनावी नतिजालाई मोदीको ‘करिश्माई चुनावी चेहरा’को हार वा बंगालमा ठोस रुपमा भाजपा‚ खासगरी दक्षिणपन्थी राजनीतिको विजारोपणका रुपमा फरक फरक विश्लेषणहरु गरिएका छन् । तर चुनावी लडाइँलाई नायकहरूको पुनरोत्थान, निरन्तरता र स्खलनको नजरले हेर्न अभ्यस्त भइसकेको आम भारतीय मानसमा यो जीतले ममता बनर्जी अर्थात् दिदीको राजनीतिक हैसियतलाई नयाँ र थप उँचो बनाएको छ ।
बंगालको राजनितीमा एक दलीय दबदबा नयाँ कुरा होइन । लामो समय बंगालमा शासन गरेका बामपन्थीहरू भलै चुनावबाट शासक भएका होउन् तर उनीहरुको अकण्टक शासनसँगै विपक्षीविरुद्ध गरिने सत्ता प्रायोजित राजनीतिक हिंसा र अराजनीतिक प्रतिशोधको समानान्तर कहानी बंगालसँग छ ।
वाम राजनीतिको सकल विघटनपछि समेत उनीहरूले प्रतिशोध र हिंस्रक प्रतिवादको राजनीति बंगाली राजनीतिक खेलको अहम चरित्र रहिरह्यो । यो कुरा यहाँ किन पनि उल्लेख गर्न जरुरी छ भने बंगालको मौजुदा हालतको तुलना ९० को दशकको काश्मिरसँग गर्न थालिएको छ‚ तर बंगालको हिंसा काश्मिरको आतंकभन्दा पुरानो हो । नतिजापछिको परिदृष्यले यसको निरन्तरतालाई संकेत गरको छ ।
ममता त्यसको नयाँ ब्रान्ड एम्बेसेडेर भएको आरोप पनि अब नयाँ रहेन । चुनावी नतिजासँगै बंगाल ८० को दशकमा फर्किएको आभाष भएको छ‚ जहाँ बाहुबली प्रदेश सरकार र केन्द्र समर्थित निरीह विपक्ष थियो । अब तत्कालीन वामको ठाउँ ममता र उनको दलले लिएको छ र तत्कालीन भारतीय राष्ट्रिय कांग्रेसको भूमिकामा भारतीय जनता पार्टी खडा छ ।
भिड्नेमात्र टिक्ने बंगालको राजनीतिमा देशभर भिड्ने र जित्ने छवि बनाएको मोदी−शाह गठबन्धनको पोस्टमा ममता बनर्जीले एक गोल लगाएकी छन् । गोल लगाउनेले नै ‘खेला शेष’ गर्ने त्यहाँको रित हो । वाम गठबन्धन र भारतीय राष्ट्रिय कांग्रेसको खेला शेष यसै रितको निरन्तरताको परिणाम हो ।
नरेन्द्र मोदी भाजपासँग भएको यस्तो बहुउपयोगी चुनावी ‘ब्रान्ड’ हुन्‚ जसलाई पार्टीले आवश्यकताअनुसार विकास वाहक, धर्म रक्षक, पिछडा, प्रगतीशिल, राष्ट्रवादी वा अनेक यस्तै स्वरुपमा उतार्ने गरेको छ । उनी विहार आउँदा ‘विहारका बेटा’ हुन्छन्, बंगाल जाँदा ‘मुक्ति आन्दोलनका सेनानी’ । तर उनको बहुआयमिक प्रचार कलाले हिन्दी भाषी प्रदेशका मतदातामा जति अपील गर्छ‚ त्यति अन्यत्र गरेको पाइँदैन । स्थानीय सबल नेतृत्वको अनुपस्थितिमा मोदीको नाममा मात्र महाराष्ट्रमा नजितेको र विहारमा लड्दै नलडेको भाजपाले बंगालमा जित्न सकेन, यो अनौठो होइन । अपितु, केही वर्षको अवधिमा बंगालजस्तो ठुलो प्रान्तमा संगठन खडा गर्नु र पारम्पारिक शक्तिहरूको विकल्पमा आफूलाई खडा गर्न सक्नु भारतीय जनता पार्टीका लागि उपलब्धी त हो नै, सँगै चुनावी नतिजाले बंगालको राजनीतिक परिदृष्यलाई ‘लेफ्ट टु सेन्टर’बाट ‘सेन्टर टु राइट’को दिशामा अघि बढ्ने भविष्यलाई इङ्गित गरेको छ ।
तात्कालीन हार-जीतको हिसाबभन्दा माथि दक्षिणपन्थी राजनीतिक फैलावटका लागि, यो भारतीय जनता पार्टीको वैचारिक विजय अवश्य हो । सन् २०१४ मा १५ प्रतिशत आसपास मत भएको पार्टीले सात वर्षमा ४० प्रतिशत मत पुर्याउनु चानचुने कुरा भन्ने पक्कै होइन । यद्यपि बंगालमा भाजपाको राजनीतिक उपस्थितिको मूल कति तृण स्तरमा छ, यो परीक्षणको विषय भने अझै बाँकी नै छ । दिदी नै सेतो सारीमा ‘मोदी’ हुन् भनिएको बंगालमा ‘दाडीवाला मोदी’को सकस सकिएको छैन ।
प्राप्त चुनावी सफलता साँच्चैको राजनीतिक उपलब्धीको उपज हो वा ममताविरोधी एक्लो विपक्षी भएको नाताले प्राप्त प्रतिक्रियात्मक मतमात्र हो, यो हेर्न बाँकी छ । यसपटक कमल छापबाट जितेका ७७ विधायकमध्ये औँलामा गन्न सकिने मात्र भाजपा वा राष्ट्रिय स्वयंसेवक संघ पृष्ठभूमीका छन् ।
करीब ७० विधायक पूर्वटीएमसी, पूर्ववाम वा पूर्वकांग्रेसी हुन् । यहाँ भाजपाई हुनु र भाजपाको टिकटमा चुनाव जित्नुको फरक बताइरहन पर्दैन । यसर्थ तत्काललाई यो जीत लगभग त्यै कोटीको जीत हो‚ जो सिक्किममा भारतीय जनता पार्टीले हालसालै हासिल गरेको छ । यद्यपि, लोकप्रियता र चुनावी रण कौशलको शिखरमा रहेकी मौजुदा तथा सम्भावित मुख्यमन्त्रीका रुपमा रहेकी ‘दिदी’लाई चुनाव हराउन सक्ने भाजपाले बंगालको राजनीतिमा आफ्नो अलग हैसियत भने स्थापित गरेको छ‚ जसले प्रशस्त सम्भावनाहरू समेतलाई इंङ्गित गर्छ ।
लामो समय लेफ्ट राजनीतिको प्रभावमा रहेर होला‚ अन्य उत्तर भारतीय राज्यमा जस्तो बंगालमा धार्मिक ध्रुवीकरण असामान्य परिदृश्य हो । यदाकदा बाहेक त्यस्तो धार्मिक ध्रुवीकरण यो चुनावमा समेत भएन । बरू बंगाली आत्म−अस्मिता चुनावको केन्द्रमा रह्यो ।
ध्रुवीकरणको दक्षिणपन्थी परीक्षण उपर हावी भएको ‘माँ माटी मानुष’ एजेण्डाले आठ चरण लामो चुनावी अवधिभर ममता वनर्जीलाई चुनावी लडाइँको ‘फ्रन्ट रनर’ बनाइरह्यो । मोदी ‘ब्रान्ड’को असामान्य इम्पोजिसनको बहानामा तृणमूलले खडा गरेको ‘गुजराती भर्सेस बंगाली’ फाइटमा बंगाल आगे हुने नै भयो । स्थानीय नेतृत्वलाई छायाँमा राखिएको भारतीय जनता पार्टीको चुनावी रणनीतिले यसलाई थप मलजल गर्यो ।
विपक्षी पार्टीभित्र खेल्ने भाजपाई रणनीतिप्रति ममता र उनको चुनावी रणनीतिकारको सचेतना प्रष्ट रुपमा देखियो । चुनावको मुखमा पार्टीप्रति असन्तुष्ट वा छाडेर जान खोज्नेहरूलाई बाटो खुला गरिदिने काम सामान्यतया स्पर्धी पार्टीले गर्दैन तर तृणमुलको यो कृत्य अनौठो र नयाँ प्रयोग थियो ।
यसलाई ममताको आत्मविश्वास वा चुनावी रणनिती दुईवटै मान्न सकिन्छ । तर सामूहिक रुपमा भएको दल बदलले तृणमूललाई त्यति कमजोर बनाएन जति प्रापक दल भाजपामा अनावश्यक आन्तरिक किचलो खडा गरिदियो । ममताको यो जितमा प्रादेशिकतावाद सँगसँगै उनको ‘बंगालकी दिदी’ रुपमा निर्मित छविको पनि उत्तिकै भूमिका रह्यो । नेताको छविको बलमा चुनाव लड्न माहिर नरेन्द्र मोदी र उनको पार्टी बनर्जीको यो छविप्रति सचेत थिएन भन्ने कुरा मोदीले चुनावी सभामा अनेक पटक दिएको ‘दिदी ओ… दिदी’ लल्कारबाट नै प्रष्ट हुन्छ ।
अन्त्यमा, ममता बनर्जी भारतीय राजनितीमा कांग्रेसधारकी त्यो ‘गैर कांग्रेसी’ नेतृ हुन्‚ जसले मूलधारको कांग्रेस इतर रहेर आफ्नो राजनीतिक दबदबा प्रमाणित गरेकी छन् । यो विगतमा के कामराज, एनडी तिवारी वा शरद पवारजस्ता दिग्गजले गर्न नसकेको काम हो । अर्कातर्फ आफ्नै बुतामा उनले लामो समय सत्तासीन रहेको लेफ्ट फ्रन्टलाई हराएको दशकपछि शक्ति र प्रभावको चरममा रहेको राइट फ्रन्टलाई पनि हराएकी छन् । नेतृत्व संकट भोगिरहेको सेन्ट्रल राजनीति र त्यसको शुभचिन्तकका लागि अल्पकालीन नै किन नहोस्‚ ममता बनर्जी ‘वाह ! दिदि वाह !’ कहलिएकी छन् । यसको विशेष महत्व यसकारण छ कि, यो नतिजा नरेन्द्र मोदीले चुनावी प्रचारको क्रममा भन्ने गरेको ‘दिदी ओ… दिदी’ लल्कारको व्यवहारिक र ब्यालेटको जवाफ हो ।