झुत्रो मजेत्रो (कविता)
अरे ओ !
झुत्रो मान्छे,
तिमीले छाडेको झुत्रो मजेत्रो
झुत्रै याद बोकी बसेको छ, बसिरहने छ
र, सधैं तिम्रै अभावको आभास
गराइरहेको छ, गराइरहने छ
किन छोडेर गयौ ?
यी झुत्रो याद झुत्रै मजेत्रोभित्र
किन लगेर गइनौ ?
झुत्रो मजेत्रोसँगै
झुत्रो याद
जुन सधैं यै झुत्रो सिरानीमा हुन्छ
हुन्छन् यो झुत्रो मजेत्रोभित्र
झुत्रै यादहरु
यादहरुमा हुन्छन्
तिम्रा स्पर्श
तिम्रो ओठका स्पर्श अनि
मेरो ओठको स्पर्शका लागि व्याकुल
तिम्रो ओठको स्पर्श
तिम्रो रुपभित्रको विरुप आकृति
यौवनको प्यास मेट्न आतुर
योवनकै जवानी
यादमा यादकै स्नानपछिको चिसो कपाल
सायद
तिमीले लगेकी भए
या नछोडेकी हुँदी हौ त
यो झुत्रो मजेत्रो
सायद न्यूटनको ग्र्याभिटीले झैँ
तान्दैनथ्यो रातको निद्रा
तिम्रो अभावमा
अनि फाल्दैनथ्यो होला
मैलेझैँ तिम्रो यादमा फालेको ठुटो
जस्तैगरी
रातले बेचैनी
सायद भेल झैँ
बर्सिने थिएनन् आँसु
वा,
हुने थेँ होला एक्काइसौं शताब्दीको
रोडसाईड रोमियो
वा हुने थिएनन् होला
यो बुढो कविमार्फत
यो झुत्रो कविता
किन
छोडेर गयौ
झुत्रो मजेत्रो झुत्रै सिरानीमा
जसकारण,
हर साँझ
रातका प्रहर विछ्यौनाको सिरानीमा
यो झुत्रो मजेत्रो
झुत्रो भाग्य भएको खप्परमा चढाइ
मस्त निद्राको
नाटक गर्न विवश छ बुढा
झुत्रो मान्छे
तर,
जे होस्
झुत्रो मान्छे
यो झुत्रो मजेत्रोभित्र
झुत्रै–झुत्रो माया अटाएकै छ
मिठो अपुरो सपना अटाएकै छ
प्रत्येक साँझ बिहानको
आँसुका प्रत्येक थोपा अटाएकै छ
अनि
झुत्रै भए नी मायाको इतिहास अटाएकै छ
अन्ततः
झुत्रो मान्छे !
तिमीलाई नि थाहा होला
यो बुढाको
इतिहाससँग कति झुकाव छ
कति प्रेमिल छ
त्यसैले यो झुत्रो मजेत्रो
अनि झुत्रो मजेत्रोभित्रको झुत्रो मान्छे
बुढाको मनसँग
सधैं प्रेमिल थियोे
सधैं प्रेमिल छ
सधैं प्रेमिल हुनेछ
वा भनौं बुढा अझै झुत्रो मान्छेसङ्ग
प्रेममा छ, थियो र हुनेछ ।