हामी त आलुजस्ता मान्छे (कविता)
हामी पानीजस्ता मान्छे
बग्दै जान्छौं, छुट्दै जान्छन् यादहरू
जसरी छुट्छन् बालुवा, ढुंगा र किनारहरू
हामी त पानीजस्ता मान्छे ।
हामी बादलजस्ता मान्छे
अभावको हुन्डरीले उडाएर लैजान्छ परपर
बाटोमै उभिन्छन् विभेदका अग्ला पहाडहरू
ठोकिनु र खस्नु त हाम्रो नियति हो
काखैमा सन्तान गुमाएर, जसरी बर्सिरहेका छन् आमाका आँखाहरू
हामी बादल जस्ता मान्छे
हामी त झरीजस्ता मान्छे ।
हामी बाटोजस्ता मान्छे
हिंड्नेहरू छातीमा टेकेरै हिंडिरहेछन्
पुग्नेहरू गन्तव्यसम्मै पुगिरहेछन्
वर्षौंदेखि उसैगरी तेर्सिरहेछौं हामी
न जानु कहीँ छ, न पुग्नु कहीँ छ
केबल पुरानो घनजस्ता पैतालालाई
शासकले छातीमै कुल्चिँदा पनि ऐयाधरि भन्दैनौं
हामी त बाटोजस्ता मान्छे ।
हामी पुलजस्ता मान्छे
कहालीलाग्दो खोंचमा
एकलासको जङ्गलमा
दिनमा, रातमा, झरीमा, हुरीमा
कतै खहरेमा कतै नदीमा
जहाँ झुन्डिरहेका छौं वर्षौंदेखि
र, झुन्डिरहनेछौं वर्षौंसम्म
मुठ्ठिमा धर्म बोकेकाहरू पनि तरेर गए
पोल्टामा पाप बोकेकाहरू पनि तरेर गए
पापीलाई पनि तारिरहेछौं
विभेदकारीलाई पनि तारिरहेछौं
हामी त पुलजस्ता मान्छे ।
हामी आलुजस्ता मान्छे
यता पनि ठिक्क, उता पनि ठिक्क
जता पनि ठिक्क हुँदा जीवन भयो दिक्क
चुनाव आउँछ नोटमा भोट हाल्छौं
आलुलाई नेता बनाउछौं
नेतालाई आलु बनाउछौं
महामारीमा हामी आलु भयौं,
हामीले आलु खायौं
हामी त आलुजस्ता मान्छे ।