परदेशबाट आमालाई चिठी

आमा !
प्यारी आमा !

मनभरी तिम्रै सम्झनाका आवेगहरू‚ आज उथलपुथल भइरहेका छन्… !

खै, कुन शब्दले तिम्रो सम्झना र मायालाई सम्बोधन गरूँ ! जति सम्झन्छु‚ उति फिका लाग्छ । मायाको बाँध जति फुटाए नि तिम्रो गला भिजाउन सक्दिनँ । माफ गर है ! तिमीलाई खुशी दिने बाहानामा परदेसिएका यी सन्तानलाई । थाहा छ, तिमीले माफ गर्नेछौ । सन्तानका हजार गल्तीलाई पैतालाले कुल्चिएर मुस्कुराउँदै सजायको भागीदार बन्ने आखिर बानी परिसकेको छ तिमीलाई ।

धेरै पटक सम्झिएँ, कति पटक रोएँ, कयौं पटक तिम्रै लागि शब्द कोर्ने प्रयास गरे, सकिनँ ! आखिर मनलाई दह्रो बनाउथेँ, भोलिको त्यो मिठो पल कल्पिएर । तर त्यो भोलि आउला कि नआउँला मन त्यसै हतासिन्छ । बुझ्दैन यो मन । अहँ ! पटक्कै बुझ्दैन, फगत तिमीलाई नै सम्झिएर । खै सबैलाई यस्तै हुन्छ की मलाईमात्रै हो ! तिम्रोबारे केही बोल्न खोज्छु, केही लेख्न बस्छु । मन मडारिन्छ, शरीर सिरिङ्ग हुन्छ, आँखा रसाउँछन्, दिमाग स्तब्ध हुन्छ । अक्षर रोकिन्छ अनि प्रयास व्यर्थ बन्छ ।

तै फेरि कोशिस गर्दैछु,
आमा ! म यहाँ सञ्चै छु, आशा छ तिमी नि विसेक नै छ्यौ । प्रार्थना गर्छु, भगवानको नजरले सुख‚ सन्तोष‚ लाभ भइरहोस् । खै कुन कुरा सुनाऊँ । दुःख र अप्ठ्यारो सुनाउँ त तिमीलाई चोट पर्ला । सुख र रमाइलो अनुभूति सुनाऊँ‚ त्यो खै कसरी पत्याउँली र !

हरेक दिन नमिठा खबर सुनिन्छन् । कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । कोरोनाको कहर बढिरहदा राजनीतिक खिचातानी उस्तै उत्कर्षमा छ । लाजमर्दो र घिनलाग्दो गतिमा । विषम परिस्थितीमा पनि एक भई समाधानको विकल्प पहिल्याउन नसक्ने कस्तो निकम्मा सन्तानले देश बनाउँदैछन् छी ! सम्झिदा नि घृणा जाग्छ । शक्ति, बुद्धि र विवेकले देश र जनताको रक्षा गर्लान् भनिएकाहरू खाली आसक्तिमात्रै देखाउँछन् । धेरैको काम, दामको मेलो छुटेको छ । दिन कटाउने मेलो समाजिक सञ्जाल बनेको छ । त्यो नि भाइरल हुने तस्बिर र पोस्ट अनि अफवाह फैलाउने खबरले हैरान र दिक्दारी बनाउँछ । देशमा कस्तो संस्कारको विकास हुँदैछ खै !

आमा !
आज आमाको मुख हेर्ने विशेष दिन भन्छन् । हुन त आमा सबै सधैंका लागि उत्तिकै प्रिय र अनन्त छिन् । तै देशको मुहार फेर्छु भनेर सदन र सञ्जालभरी भाइरल हुनेहरूले पनि एकपटक आमालाई एउटा कोणबाट सम्झिदिएमात्र पनि पुग्ने थियो । आफू के गरिरहेको छु र कसका लागि गरिरहेको छु‚ सोचिदिए हुँने थियो ।

आज सामाजिक सञ्जाल आमाका तस्बिरले भरिएका छन्, खै तिमीले पत्तो पाउँदैछौ कि छैनौ ! त्यसले तिमीलाई खुसी मिल्छ कि आनन्द वा कागलाई बेल पाकेझैं हो ! उति मेसो पनि पाउदिनँ । तर जे सुकै होस् तिमी एकफेर हाँसिदिए संसार जित्ने थिएँ झैं लाग्छ ।

साँच्चै तिम्रो याद नआउने दिनै छैन आमा ! आज झनै गाढा भइरहेका छन् ती याद । ती बालपन आज झझल्को बनेर आइरहेका छन् । कहिले तिम्रो फरियामा लपेटिँदै गर्दा कति पनि घिन नमानी सिंगानका लप्काहरू पुछिदिन्थ्यौ । कहिले भिजेको शरीर तिम्रै पछ्यौरीको सप्कोले न्यानो पार्थ्यौ । तिम्रो फरिया र पछ्यौरीसँगको नाता पनि बेजोडकै लाग्छ । तिमीजस्तै प्रिय, आत्मीय, निर्दाेष र मायालु ।

जब मेरो शरीरका ज्ञानेन्द्रियहरू चनाखो हुँदै गए । आँखाले तिमीलाई देख्यो, कानले चिन्यो, छालाले तिम्रो संवेदनालाई स्पर्श गर्देगर्दा बिस्तारै तिमीलाई बुझ्दै गएँ । तिमीसँगै तिम्रो फरिया र पछ्यौरीसँग पनि गहिरो प्रित बस्यो । र त आज पनि तिम्रो कोमल हृदयसँगै तिम्रो फरिया र पछ्यौरीले मलाई यसै त्यसै लपेटिरहन्छ । फरियाको फेर समाएर तान्दै गर्दा तिमीलाई लाज बचाउन कति हम्मे पर्‍यो होला ।

अनावश्यक माग राखेर भुईंमा लडिबुडी गरिरहँदा भोक र थकान अनि रीसलाई पैतलाले किचेर मायाले अंगालोमा बाँध्न कति सकस भयो होला ! खैर ती दिनको हिसाब किताब तिमीलाई नै बढी आउला । अक्षर र कलमको तालमेल मिलाउन उत्सुकताले स्कूल पठाउँदा बिछोडको पिडाले छटपटियौ होला । बेलुका फर्कंदा घरमा खाजा बनाउन नभ्याउँदा मन कुड्यायौ होला ।

भोलि सुख पाउँला भन्ने आशामा जसैतसै जागिरे हुन शहर पठाउँदा कुना बसी सुकसुकायौ होला । बिरामी पर्दा‚ शरीर गलेका बेला एक गिलास तातो पानी पिउन नपाउँदा बिरानो शहरलाई धिक्कार्दै भक्कानियौ होला ! अरु के के आइलाग्यो, तिमीमाथि । जो तिमीमात्रै जान्दछ्यौ तर कोहीसामु कहन्नौ तिमी । आखिर तिमी आमा हौ ।

संसार यतिबेला फेरि कोरोना कहरमा छ । गतवर्ष देशभित्र रहँदा परदेशका खबरले मन कुडिन्थ्यो । सुनिन्थ्यो, परदेशमा मान्छेको लाशले पहाडका गल्छीहरु पुरिँदैछन् । आज छिमेकी राष्ट्र भारत उही लयमा देखिँदैछ । सँगै नेपालमा पनि कोरोनाको संक्रमण डरलाग्दो गतिमा बढिरहेको खबरले मन अमिलो भएकोे छ । यति नै बेला तिम्रो काख र गाउँघरको सम्झनाले खुबै पिरोलिरहेको छ, आमा !

घरभित्रै वरपर गरिरहनु, सके र जानेसम्म योग र ध्यान गर्नू । सुन्छु, पिसाब बढी लाग्छ भनेर पानी खान झर्को मान्छ्यौ । तर मात्रा घटाएर पनि पानी पटक पटक खाइरहनु ल ! सरसफाइ र खानपानमा विशेष ध्यान दिनू । आफूलाई माया गर्नूं, आफ्नो विशेष ख्याल गर्नू । के तिमीलाई थाहा छ ? धेरैले कोरोना संक्रमणलाई जितेका छन् नि ! यही खानपान र अनुशासनमै रहेर ।

आफूलाई बलियो बनाउन सके कोरोनालाई जित्न सकिने रहेछ आमा ! कोरोनाको संक्रमण नहोस् भनेर अहिले संसारभरका मानिस घरभित्रै त छन् । हुन त तिमी बाहिर कहाँ पो जान्थ्यौ र ? सधैं घरको चौघेराबाटै संसार नियालिरहेकी त छौ नि हगि ! तिमीले देखेको संसार कस्तो लाग्दैछ, भन्दै गर है, मन नखुम्च्याई रमाउँदै गर है‚ आफैंसँग आमा ! एकदिन फेरि हामी एकै साथ खुसी साटौँला नि !

उही तिम्री …

प्रतिक्रिया