आमा, अङ्ग्रेजी र अभि सर

४६ वर्षको बुढोसँग १० वर्षकी केटीको बिहे ! अहिले त सम्झँदै अचम्म लाग्छ । तर केही दशकअघिसम्म यो नेपाली समाजका लागि नौलो थिएन । बरु, सामान्य नै मानिन्थ्यो । उमेरको बेमेलमा पनि विवाह गरेका धेरै आमाहरू अहिले पनि छँदैछन् । अनि एकभन्दा धेरै विवाह गर्ने चलन पनि नौलो थिएन ।

मेरी आमा र बुबाको विहे भएको त विसं १९८३ सालको कुरो ।

मेरा बुबा भाष्कर सुवेदी तत्कालीन राणा सरकारसमक्ष चिनापर्ची र पहुँच पुर्‍याउनेमध्येका एक हुनुहुन्थ्यो । तेह्रथुम सदरमुकाम म्याङलुङ्गसँग जोडिएको गाउँ साब्लाका जमिनदार भएकाले पनि उहाँको काठमाडौं आउजाउ भइरहने । यसै मेसोमा उहाँलाई तत्कालीन सरकारले ‘सुबिदार’ बनाएर कुनै प्रसाशनिक इकाइ/थानामा खटाउने निर्णय गर्‍यो । मोरङ वा पहाडी जिल्लामध्ये एक छान्न भनिएको रहेछ । त्यसबेलाको मोरङ्ग अहिलेको जस्तो सुगम र सहज थिएन । मोरङ्ग जानुभन्दा पहाड नै उहाँले रोज्नुभएछ ।

अहिलेको तेह्रथुम, पाँचथर र ताप्लेजुङ्गको सीमानाको शायद च्याङ्गथापु इलाकामा उहाँ खटिनुभयो । काम गर्न अनेकौं रणनीति बनाउनुपर्ने थियो । सरकारको प्रतिनिधि कम्ति चतुर भएर पुग्थेन । बुबाले केही चतुर्याइँ र केही योजनासहित अर्को बिहे गर्ने योजना बनाउनुभएछ ।

स्थानीय केटी बिहे गरेपछि त्यो ससुराली गाउँ हुने भएकाले काम गर्न सजिलो हुने भयो । सँगै, बुबाले यो सानी केटीलाई बिहे गरेर पढाउन पाए उसले मलाई कामकाजमा पनि सघाउँथी भन्ने योजना रहेछ । बुबाको लेखपढ सामान्यमात्र थियो । आमालाई पढाउन सके ‘ऊ मेरो बैदार हुन्छे’ भन्ने सोच्नुभएको रहेछ उहाँले ।

त्यहाँका उप्रेती र लिम्बु अलि अध्ययनशील र आलोचनात्मक चेतका पनि रहेछन् । मेरा मावली खलक लिम्बु समुदायसँग अति नै निकटको सम्बन्ध भएका । यहि खलकमा सम्बन्ध गाँस्न पाए उनीहरुलाई हात लिएर काम गर्न सजिलो पनि हुने बुबाको आँकलन हुँदो हो ।

गाउँ घुम्ने क्रममा उहाँ सुभाङ गाउँका उप्रेतीको घर अर्थात मेरो बनिनसकेको मावली घरमा पुग्नुभएछ । ‘सुबिदार साहेब’को सञ्चो बिसञ्चोबारे सोधिखोजी भयो । कुरै कुरामा घर परिवारबारे पनि सोधनी भएछ ।  बुबाले ‘एउटी जहान घरमै छोडेर आएको , यता जहान नहुँदा समस्या भइरहेको र कुनै कन्या भए बिहे गर्ने विचार गरेको’ बताउनुभएछ । त्यसबेला बहुविवाहको कुरा कति सजिलै लिइँदो रहेछ भन्ने कुरा यो  प्रसंगले पनि थाहा पाउन सकिन्छ ।

कुरैकुरामा, ख्यालख्यालैमा जस्तोगरी घरमूलीले आँगनमा खेल्दै गरेकी कन्यालाई देखाउँदै भनेछन्- ‘हाम्रा घरमा त ऊ यही फुच्चीमात्र छे । अब यसैले हुने भए त विवाहका लागि हामी मञ्जुरै छौं ।’

बुबाले ‘हुन्छ’ भन्नुभएछ । बिहे भयो । बुबा र आमाको उमेर क्रमशः ४६ र १० वर्ष ।

आमाका सात र बा का २१ जना सन्तानमध्ये म सबैभन्दा कान्छो सन्तान हुँ ।

बुबाले मेरी आमालाई पढाउन भारतको दार्जेलिङबाट शिक्षक झिकाउनुभएछ । नाम थाहा छैन‚ आमाले तिवारी गुरु भनेको चाहिँ थाहा छ । यिनै तिवारी गुरुसँग मेरी आमा र मेरी अर्की आमापट्टिका दाजु पढ्न थालेछन् । उनीहरुको उमेर पनि लगभग एकै थिएछ । गुरुले संस्कृत र बंगाली भाषा पनि पढाएछन् ।

विहेको चार पाँच बर्ष पछि अर्थात् आमा १४/१५ बर्षको हुँदा आमापट्टि मेरो जेठा दाजु जन्मिनुभयो । त्यसबेलासम्म आमाले तमसुक लेख्न, चिठिपत्र लेख्न, किताब पढ्न सक्ने भइसक्नुभएको रहेछ ।

एकातिर हेर्दा आमाको विवाह विडम्बनापूर्णजस्तो थियो । १० वर्षकी बालिकालाई ४६ वर्षको मान्छेसँग विवाह हुनु कुनै पनि हिसाबले न्यायोचित त थिएन ।तर, शिक्षाको हिसाबले हेर्ने हो भने चाहिँ यो बिहे आमाका लागि एक अवसरजस्तो हुन गयो । विरोधाभाषजस्तो नि ! बुबासँग बिहे नभएको भए आमाले पढलेखको अवसर पक्कै पाउनुहुने थिएन होला ।

आमा बंगाली पनि पढ्न जान्नुहुन्थ्यो । संस्कृत र नेपाली पनि फरर भयो । उहाँ रामायण, महाभारतका श्लोक भाका हालेर गाउनुहुन्थ्यो । अहिले म बंगाली मजाले पढ्छु तर लेख्नचाहिँ जान्दिनँ । आमाको काखमा बस्दाबस्दै उहाँले पढेको हेरेरै मैले बंगाली पनि पढ्न सक्ने भएको रहेछु । म अलि तिखो तिखो खालकै केटो रहेछु भन्ने पनि लाग्छ ।

आमाले बुबालाई लेखपढमा धेरै सहयोग गर्नुभएछ । बुबालाई पनि पढेर धेरै कुरा उहाँले सुनाउनुभएछ । आमा हामी सबैका लागि छोराबुहारीका लागि आदर्श बन्नुभएछ । तर एउटा बिडम्बनाचाहिँ मलाई के लाग्छ भने छोरीहरुको पढाइमा भने धेरै जोड आमाले पनि गर्नुभएन । म अहिले पनि सम्झिन्छु मेरा दाजुहरुले पढे । मैले पढेँ । तर दिदीहरुले पढ्नुभएन । उहाँहरू साक्षर त हुनुभयो तर औपचारिक शिक्षाचाहिँ लिनुभएन । यो हेर्दा पनि मलाई त्यो बेलाको समाजले छोरीलाई पढाउने बारेमा चाहिँ निकै रुढ र पछौटे नै रहेछ भन्ने बुझ्छु म । छोरीहरूले औपचारिक शिक्षा लिन नपाएकोमा पछिसम्म पनि आमाले खासै दुःख मानेको मैले पाइनँ । यसले ‘छोराहरुलाई धेरै पढाए भइगयो नि !’ भन्ने नै मानसिकता थियो भन्ने देखिन्छ ।

अंग्रेजी र आमा
हाम्री आमा, छोरालाई भारतको अंग्रेज शासकसँग पनि सम्बन्ध विस्तार गर्न सक्ने बनाउनुपर्छ भन्ने ठान्नुहुँदो रहेछ । उहाँले यसो भन्ने गरेको मेरा दाजु दिदीहरु सुनाउनुहुन्थ्यो । यसको अर्थ अंग्रेजी जान्नुपर्छ भन्नेमा उहाँको जोड थियो । मसँग पनि उहाँ संस्कृत र अंग्रेजी दुवै जान्नुपर्छ भन्नुहुन्थ्यो । यसैले गर्दा पनि म अंग्रेजीतिर धेरै लहसिएँ ।

हामी साब्ला आइसकेका थियौं । म सिंहबाहिनी हाइस्कुल पढ्न थालेँ । स्कुलमा इंग्लिसका दूईजना राम्रा राम्रा टिचर आए । उनीहरू क्रिस्चियानिटीको प्रचार गर्न भारतबाट आएका रहेछन् । भारतको केरलातिरबाट आएका थिए । सिधै धर्म प्रचार गर्न नपाउने भएकाले उनीहरु टिचर भएर आउँथे ।

म पढाइमा टाठो थिएँ । त्यसैले कक्षाबाहेक पनि म ती टिचरहरुसँग नजिक भएँ । संगत बढ्दै गयो । उनीहरु अंग्रेजीमात्र बोल्थे । किताबहरु पढ्न दिन्थे । म अंग्रेजी किताबहरु पढ्न थालेँ । ७/८ कक्षामा पुग्दासम्म म अंग्रेजी किताब खररर पढ्न सक्ने भइसकेको थिएँ । उपन्यासहरू पनि पढ्थेँ । अहिलेको अंग्रेजीको आधार नै त्यहि भयो मलाई ।

९ कक्षामा पुग्दा फेरि भारतकै दूईजना साधुहरू आए दुईजना । उनीहरू क्रिष्चिनियाटीको विरोधमा आएका थिए । म पनि उनीहरुको नजिक भएँ । उनीहरू पनि अंग्रेजीमात्र बोल्थे । उनीहरू पनि मप्रति बडो मैत्री भए । पछि ड्यानियल ड्यानी भन्ने अर्का टिचर पनि आए । उनले पनि मेरो अंग्रेजी थप निखारे । एसएलसी सक्दा त म अंग्रेजीमा छुरा भइसकेँ । भारतको न्यू एज भन्ने अंग्रेजी पत्रिका आउँथ्यो । त्यो पत्रिका म मित्रलाललगायतका मेरो कम्युनिष्ट दाजुहरुलाई पढेर सुनाउथेँ ।

अंग्रेजी किताब पढ्ने क्रममा अनेक अनेक किस्साहरू भए । जस्तो कि- कान्छो छोरो भएकाले पनि मलाई काममा खासै कहिल्यै लगाइएन । बिदाको दिनचाहिँ आमाले कहिलेकाहीँ ‘जा जा कान्छा एकछिन भैँसी चराएर आइज’ भन्नुहुन्थ्यो । एकपटक सरहरूले मलाई ब्रदस कार्माचोभ भन्ने द्रस्तोस्कीको उपन्यास दिनुभएको थियो ।

मैले भैँसीमाथि चढेर उपन्यास पढ्दै भैँसी चराउने विचार गरेँ । म पढ्नमा यति दत्तचित्त भएर लागेछु कि भैंसीले चर्दै चर्दै अर्काको बारीमा कोदो खाइसकेको रहेछ । मैले पत्तै पाइनँ । पिताम्बर फुदोङ्ग दाजु हुनुहुन्थ्यो । उहाँले मलाई भैँसीलाई कोदो किन खुवाइस् भनेर कान निमोठ्दा पो म बल्ल झल्याँस्स भएँ ।

उहाँले भनेको अहिले पनि सम्झन्छु‚ ‘हेर् कान्छा तँ भैँसी हेर् ठिक छ, भैँसी हेर्दै पढ् त्यो पनि ठीक छ तर भैंसीमा चढेर पढेको भन्दैमा बारीमा कोदो त खुवाउनु भएन नि हाव ।’ अहिले सम्झँदा बडो रोमाञ्चक अनुभूति हुन्छ मलाई । यस्तो लाग्छ- भैँसीमा चढेर द्रस्तोस्कीको ब्रदस कार्माचोभ पढ्ने मान्छे मैमात्र हुँला कि क्याहो !

२०१८ सालमा हिँडेर धरान आएर एसएलसी दिएँ । पास भएपछि आइए पढ्न मोरङ्ग कलेज भर्ना भएँ । म अंग्रेजी नै पढ्न चाहन्थें । पढेँ र पास पनि भएँ । पूर्वाञ्चलभरिमा सर्वाधिक नम्बर ल्याएछु । त्यसबेला महिनाको १२५ रुपैयाँ छात्रवृत्ति दिन थाल्यो । तर पछि म राजनीतिमा लागेँ । म राजनीतिमा देब्रे ढल्कुवा थिएँ । यो कुरा थाहा भएपछि मेरो त्यो छात्रवृत्ति पनि रोकियो । पछि ज्ञानेन्द्रबहादुर कार्की र मेरो भतिजलगायतको पहलमा त्यो पैसा एकमुष्ट आयो ।

बीए पढ्न काठमाडौं आएँ । त्रिचन्द्रमा अंग्रेजी विषय खुलिसकेको रहेनछ । फेरि धरान फर्किएँ र अँग्रेजी नै पढें । आमाले के कति पढिरहेको छस् भन्ने खुब चासो राख्नुहुन्थ्यो । निगरानी गर्नुहुन्थ्यो । अहिलेसम्म जे जती भयो यसमा सबै आमाकै कारण हो ।

काव्य र आमा

साहित्यमा पनि मेरो मोह आमाकै कारण जागेको हो । अझ विशेष गरि काब्यमा रुची बढ्नुमा उहाँको मात्र हात छ ।

आमाले भाका हालेर कविता वा श्लोक पढ्नुहुन्थ्यो । उहाँ तुलसी दासको महाभारतका श्लोकहरू गाउनुहुन्थ्यो । अहिले पनि मलाई मुखाग्रे आउँछन् ती श्लोकहरू । ती सबै मैले आमाबाटै सुनेको हुँ ।

आमा बंगाली भाषाका किताब पनि पढ्नुहुन्थ्यो । उहाँको काखमा बसेर उहाँले पढेको सुनेर हुर्किने क्रममा मपनि बंगाली साहित्य पढ्न सक्ने भएँ । तर मलाई लेख्न चाहिँ केहीपनि आउँदैन बँगाली अक्षर । अक्षर लेख्न नआएपनि आमाले पढेका भरमा बंगाली अक्षर छिचोल्न सकेको सम्झँदा म अलि तिखो तिखै केटो रहेछु भन्ने पनि लाग्छ ।

उहाँ उच्च स्वरमा भानुभक्तको रामायणका श्लोक गाउनुहुन्थ्यो । उहाँको श्वर पनि मीठो थियो ।
‘को हो आज मलाई केही नभनी … भित्र जाने…’ यस्तै यस्तै श्लोकहरू । म जति जान्दछु त्यो सबै त्यहि बेला सुनेका हुन् । बिहानीपखमा यी श्लोक र कविता सुन्दा ताराहरु ओइलाउँदै गएको, रातो रातो पूर्वको आकाश भएको हुन्थ्यो त्यो परिवेश र काव्यको प्रभाव ममा एकसाथ पर्‍यो । आमाले गाएका कविता  र श्लोक सुन्दा म काव्यलाई आकाश, तारा, ध्वनी, दृष्य, प्रकाश आदिको विम्बका रुपमा पाउँथे ।

कविता भनेको दृष्य पनि हो‚ ध्वनी पनि हो र ज्योती पनि हो रहेछ भन्ने छाप र ठम्याई त्यही बेलादेखिको हो मेरो । यो बुझाइ अहिले पनि मेरो उही छ । मैले मेरा विद्यार्थीहरूसँग काव्यको पढाइका बेला पनि यो कुरा भनेको छु ।

कविता र श्लोकहरुकै प्रभावले पनि हुनुपर्छ मैले बालखमै कविता लेखेँ । ११ वर्षको हुँदै मैले कविता लेखेको थिएँ । जुन म १३ वर्षको हुँदा छापियो । तारानाथ दाइहरूले ”नाैलाे पाइलो” मा छापिदिनुभएको थियो । यसरी म काव्यिक हुनुका पछि काव्यप्रति सम्मोहित हुनुका पछिल्तिर आमाकै कारण छ । उहाँकै भूमिका छ ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया