लघुकथा

पहिराे

  • घनबहादुर थापा

‘एउटी कुल घरानकी सुन्दर कन्याको कुरा आएको छ । बिहे गर्ने हो बाबु ?’, लमिबाजेले सेता दाँत फिस्स देखाउँदै सोधे ।

विदेशबाट भर्खर फर्केर बिहे गर्ने सुर कसेको रमेशलाई के चाहियो र ! यत्ति भनेपछि उसको मन पग्लिहाल्यो । भोलिपल्टै लमिबाजेको पछि लागेर केटीको दैलो टेकिहाल्यो । पहिलो हेराइमा चार आँखा दुई भए । पहिलो भेटमै मनभित्र माया गढेकोले ऊ पुलकित भयो । मनले खोजेजस्तै युवतीसँग लगनगाँठो कस्न पाउँदा उसले चन्द्रमा टेकेझैँ महसुस गर्‍यो ।

जीवनमा उसले आफूलाई पहिलो पटक सफल भएको ठान्यो । खुसीका दिन सँधै कहाँ आउँछन् र ! विवाहको दिनलाई उसले जीवनकै उत्कृष्ट दिनको रूपमा लियो ।

विवाह गरेको तेस्रो दिन दुराने जाने भन्छन् । ‘आज त ससुराली जाने पहिलो दिन छिटो तयार होऊ है !’, रमेशले सुनितालाई अत्त्यायो ।

‘मलाई पनि माइतीघर जान हतार त छ नि’, सुनिताले कड्केर भनी, ‘दुई मिनेटमै तयार हुनलाई के म तैयारी चाउचाउ हो र ?’

सुनिताको ब्यङ्ग्यले रमेश ट्वाल्ल पर्‍यो ।

रातो साडीमा सजिएर सुनिता निस्किएपछि ऊ फुरूङ्ग हुँदै पछि लाग्यो । रमाइला गफमा भुल्दै हिँड्दा बाटो काटेको पत्तै भएन । ससुराली घरको आँगनमा केही मान्छेहरू चर्कोचर्को स्वरमा कुरा गरिरहेको सुनियो ।

‘आहा छोरीज्वाइँ आउँदैछन् भन्ने थाहा पाएर तिम्रा गाउँका मान्छेहरू स्वागत गर्न भेला भएजस्तो छ’, रमेशले व्यङ्ग्य शैलीमा सुनितालाई जिस्क्यायो ।

सुनिता पनि के कम ? भनिहालिन्, ‘तिम्रा गाउँका मान्छे जस्ता हुन् र हाम्रा छिमेकी ! पाहुनाको आदर सत्कार कसरी गर्नुपर्छ भन्ने सबै थाहा छ ।’

आँगन टेक्ने वित्तिकै एक जना गर्जेको सुनियो, ‘घर गरी खान नसकेर माइतीमा आएर बसी भन्दैमा बिहे नै गरेर दिन मिल्छ र ? सुनिता मेरी पत्नी हो । अर्कैसँग बिहे गरेपछि फिर्ता ल्याउन त मिलेन तर, जारी भने मलाई चाहिन्छ ।’

ज्वाइँछोरी टुप्लुक्क आएको देखेर सुनिताका बा घोसेमुन्टो लगाए । पूर्वपति देखेर सुनिता केही बोल्न सकिनन् । रमेशको मनमा भने गर्ल्यामगुर्लुम पहिरो गयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *