आगो !
यो त्यही आगो हो
त्यो कलिलो नानीलाई सेकाउँदा
कति प्यारो लागेको
कति न्यानो लागेको
यो त्यही आगो हो
त्यो चिसो सोलामा सल्काउँदा
कस्तो कठोर लागेको
कस्तो निर्दयी लागेको ।
यो आगो त्यही हो
जसले सारा जङ्गल जल्दा
मुखमा चाबी लगायो
यो आगो त्यही हो
जसले सिंहदरबार आगलागी हुँदा
केही वस्तु छानी–छानी जोगायो ।
एक समय थियो कसैकसैको लंका जलाउने
अब फेरि एउटा समय हुनेछ
जहाँ मान्छेहरुको प्रयासमा
पानीमा आगो लगाउने ।
त्यस्तो भयङ्कर भएर पनि
त्यो आगो त्यो गरिबको अगेनोमा बल्न सकेन
त्यो दुखीको चुलोमा नबले पनि
त्यसको मुटुमा दन्किएको तातो चाहिँ
सबैभन्दा अभद्र तरिकाले चर्किँदो रहेछ
जसलाई निभाउन
कुनै दमकलको उपायले पनि नसक्दो रहेछ ।
कहिलेकहिले कुराकानीमा
मान्छेले हामी त आगो खाएर अङ्गार ओकल्न सक्छौँ भनेको सुनेको थिएँ
यो के भनेको होला भनेको त
अन्त्यमा जीवनको घडी बन्द भएपछि
आगोले मान्छेलाई जलाएर खरानी बनाउँदोरहेछ
पो भनेको रहेछ ।