मेटलाइफ फाउन्डेशनद्वारा ५० हजार अमेरिकी डलर अनुदान

काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) लाई नेपालमा कोभिड–१९ को संकटबाट प्रभावितहरूका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ ।

एएनएमएफ सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पुर्‍याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैरनाफामूलक संस्था भएको जनाएको छ ।

मेटलाइफ फाउन्डेशनको सो अनुदानले ए.एन.एम.एफ. लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटरलगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुने जनाएको छ ।

उच्च संख्यामा बढिरहेका गम्भीर अवस्थाका बिरामीहरुका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले एएनएमएफलाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण गर्न थप सक्षम बनाउन मद्दत गर्ने विश्वास लिएको छ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्‚ ‘आवश्यकताको यस घडीमा हामी सबै अहिलेको विश्वव्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितकालागि हरसम्भव प्रयासहरू गरिरहेका छौं । मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेशनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोगसमेत प्रदान गरिरहेको छ ।’

मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको हो । स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा, मेटलाइफ फाउन्डेशनले ९० करोड अमेरिकी डलर अनुदान तथा साढे ८ करोड अमेरिकी डलर मेटलाइफ सञ्चालनमा रहेका ठाउँहरुको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुसँग सम्बन्धित लगानी गरिसकेको बताएको छ ।

यसको वित्तीय स्वास्थ्य कार्यको पँहुच ४२ देशहरुका १ करोड ३४ लाख भन्दा ज्यादा कम र मध्यम आय भएका व्यक्तिहरुमाझ रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *