भाइरस र भोकको चपेटामा…
लकडाउनका सुरुवाती दिनहरू रमाइलोसँगै बिते । अफिस जान नपरेकाले ढिलोसम्म सुत्न पाइने, आनन्दले खान पाइने, मन लागेको कुरो पकाउन पाइने, मोबाइल धित मरुन्जेल चलाउन पाइने, साथीहरूसँग भिडियो कलमा बोल्दै हाँस्दै रमाउन पाइने, मलाई सुरु सुरुको लकडाउन दशैँ छुट्टीजस्तो लाग्न थाल्यो ।
तर हप्ता भनेर सुरु गरिएको लकडाउनले महिना पार हुन लागेसँगै जसलाई देख्दा पनि डर लाग्न थाल्यो । मलाई कोरोना लाग्छ होला भनेर मानसिक पिडा हुन थाल्यो । लकडाउनमा बिस्तारै कैद भएजस्तो महशुस हुन थाल्यो । समय परिस्थतिअनुसार सबै कुराको सामना गर्दै यात्रा गर्नुपर्दोरहेछ । जीन्दगी सोचेजस्तो हुने रहेनछ ।
लकडाउन लम्बिँदै जाँदा हुने खानेले त घरभित्रबाटै फोन गरेर रासन र मीठा मीठा खानेकुरा घरघरै मगाउन सक्षम छन् । कोही खुत्रुके र भुड्की फुटाएर भेला गरेको पैसा लिएर बल्लबल्ल पसलसम्म पुग्दा पनि पुलिसका लाठी खानुपरेको छ । हुनेहरू खाइरहेका छन् र नहुनेहरु भोकले छट्पटिरहेका छन् । घर भएकाहरू घरमै बसेका छन् ।
घरबारविहीनहरु कहाँ जाउन् बस्न ? कसरी पुगोस् घरभित्रै बसेर खान ? आखिर बाँच्ने सवाल त जीवनको सबैभन्दा पहिलो र ठुलो विषय हो नि ।
अस्पतालमा अक्सिजन त नपाइने देशमा भोका मानिसले खानाको राहत पाएन भनेर गुनासो गर्नु पनि मुर्खता पो लाग्दो रहेछ । भन्न त भनिन्छ- भाइरसले वर्ग, जात, धनी, गरिब केही भन्दैन, तर यतिबेला श्रमिक र निम्न वर्गका मानिस एकातिर भाइरसको चपेटामा र अर्कातिर भोकको चपेटामा परेका छन् ।
ठालु प्रवृत्ति देख्दा मलाई अच्चम लाग्छ । स्थानीय तहदेखि केन्द्रीय सत्तासम्मको देशको सिस्टमप्रति मलाई दिक्क लागेको छ । कोरोना भाइरससँग बच्ने पहिलो उपाय भनेको भौतिक दुरी कायम गर्नु थियो । उनीहरू आफैँ हुल बाँधेर लकडाउनको उल्लंघन गरेर अरुमाथि नियम पालना गर्न आदेश दिइरहेका थिए । स्वयम् नियमबद्ध नबनी अरुलाई नियम सिकाइरहेका थिए । अलिकति पनि लाज सरम नमानीकन ।
देश र जनताको यस्तो आपत्कालिन स्थितिलाई लात हानेर आफनो शक्ति र सत्ताका लागि खेल खेल्ने हाम्रा नेताहरुसँग म लज्जित छु । आफ्ना कर्मले लजाउनुपर्नेहरू नलजाएपछि देख्नेहरू नै त लजाउनुपर्ने रहेछ नि ! जनता भोकभोकै मरिरहेको आपत्कालीन घडीमा देश र जनताको जिम्मा लिएका नेताहरू भने कसैलाई लडाउने दाउ त कसैलाई बचाउने दाउमा व्यस्त छन् । सम्पूर्ण विश्व नै एक ढिक्का भएर लड्नुपर्ने बेलामा हाम्रा नेताहरू एक ठाउँमा उभिएर यो संकटकालीन स्थितिमा देश र जनतालाई कसरी बचाउने ? नागरिकलाई प्रभावकारी उपचार व्यवस्था कसरी मिलाउने ? देशबाहिर अलपत्र परेका नेपालीको उद्धार कसरी गर्ने ? धरासायी उद्योग व्यवसायलाई कसरी बचाउने ? शैक्षिक क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने ? गरिबीले थला पारेका र रोजगारी गुमाएकाहरुका लागि के गर्ने ? यस्ता अनेकौँ अति आधारभूत समस्याहरुमा एकजुट भएको देखिएन ।
एकै दलभित्र पनि मारामार र पानी बाराबारको लाजमर्दो राजनीति देख्नुपर्यो । यो कठीन समयमा कसरी लड्ने र पार लगाउने भन्नेबारेमा छलफल गर्नुपर्ने बेलामा बेला न कुबेला प्रधानमन्त्रीलाई विश्वासको मत लिने रहर पलायो । जसले आफैँप्रति आम नागरिकको भरोसा होइन, आक्रोश बढायो भन्ने अब त उहाँले बुझ्नुभयो कि !
कहिले लकडाउन त कहिले निषेधाज्ञाको सजाय भोगिरहँदा आर्थिक र मानसिक पीडा सहिरहनु पर्दा दिनानुदिन मानिसको मृत्युदर बढिरहेको, हस्पिटलमा बेड र अक्सिजन नपाएर ज्यान गुमाउनुपरिरहेको, आर्यघाटमा शवको लस्कर देख्दा, अत्यावश्यक वस्तु किन्न जाँदा मान्छेले कुटाइ खाएको दृष्य देख्दा त्यसै त्यसै भाउन्न भएर आउँछ ।
यस्तो बेलामा घरमै बसिरहूँ, कोरोनाबाट जोगिऊँ भन्ने कसलाई लाग्दैन होला र ? तर घरमै बसेर सबैको गर्जो कहाँ टर्छ र ? आखिर बाँच्नु सर्वाधिक महत्वपूर्ण कुरा हो नि त जीवनमा । पक्कैपनि अहिले घर बाहिर जानुपर्नेहरुका पनि आफ्नै बाध्यता होलान् । निषेधाज्ञा कडा भएन भनेर मानिसहरु कराइरहेको पनि देख्छु । सर्सर्ती हेर्दा ठीकै पनि हो तर जो यस्तो जोखिमको बेलामा पनि घर बाहिर निस्कन बाध्य छन्, उनीहरुको आँखाबाट पनि हेर्ने हो कि ! सरकारले सटर वा कोठा भाडामा लिएर व्यापार गर्नेहरुको भाडाको जिम्मा म लिन्छु भनोस्, बैंकको ब्याजको चिन्ता तिमीहरुले गर्नुपर्दैन भनोस्, बिहान-बेलुका खानाको छाक टार्न नसक्नेहरुका लागि खाद्यान्नको व्यवस्था म गर्छु भने लकडाउन आफैँ कडा हुँदैन र ? को निस्केला यो भाइरसको बिगबिगीका बिच सडकमा ? भोकले बाध्य बनाएपछि भाइरसको भय पनि कम हुँदो हो ।
समसामयिक बिषयमा राम्रो छ ।