विज्ञानले विस्थापित गराउनै लागेकाे पेशा
काठमाडौं । स्थान- काठमाडौं र भक्तपुरको सिमाक्षेत्र जडिबुटीको आकाशे पुल नजिकै ।
समय-– बेलुका ७ बजेतिर ।
दृष्य- थोत्रा कपडा र प्लाष्टिकका बोरा डढाएर बालिएको आगोको धुँवा, टाउको दुखाउने र आँखा पोल्ने छ ।
३ वर्षका छोरालाई काखमा च्यापेर आगो ताप्दै बसिरहेका छन् विरेन्द्र ठबई र सोनीदेवी ।
छेवैमा सिलौटो, लोहोरो र खलको चाङ छ । सर्लाहीको नवलपुरमा जन्मिएका विरेन्द्र सानैदेखि लोहोरो सिलौटो बनाउथे । सिलौटो र मूर्तीमा बुट्टा भर्ने उनको पुर्ख्यौली पेशा हो ।
विरेन्द्रलाई याद भएदेखि नै उनका बुबाआमा काठमाडौंको गौशालामा सिलौटामा बुट्टा बनाएर बेच्ने गर्थे । यही पेशा गरेर बुबा आमाले विरेन्द्रसहित चारजना दाजुभाइलाई हुर्काए ।
सोनीको आमा बुबा पनि गौशालामै लोहोरो सिलौटो बनाउँथे । विरेन्द्रले सोनीलाई गौशालामा भेटेका हुन् । भेटपछि प्रेम हुँदै उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो । विवाहको अलिपछि विरेन्द्र गौशालाबाट जडिबुटी सरे । १३ वर्षदेखि यो दम्पती जडिबुटीमा लोहोरो सिलौटो बनाउने बेच्ने गरिरहेको छ ।
जडिबुटी नजिकै ढुङ्गेधारामा जग्गा भाडामा लिएर बनाएको जस्ताको छाप्रोमा बस्छन् । जेठो छोरा स्कुल जान्छन् । कान्छो छोरा सानै भएकाले सोनीले काम गर्ने ठाउँमा आफैसँग राख्छिन् ।
नजिकै राजमार्ग छ । बच्चाले चकचक गर्ने नै भयो । उसलाई हेरिराख्न भ्याइँदैन । त्यसैले सोनी छोरोलाई डोरीले बाँधेर काम गर्छिन् । ‘आफूले ह्याम्मर र छिना चलाउनुपर्छ । बच्चा बोकेर काम गर्न सकिँदैन, अनि उसलाई डोरीले फलामको बारमा बाँधिदिन्छु, कहिले खेल्छ, कहिले रुन्छ‚’ सोनीले सुनाइन् । हुन पनि बच्चा बोक्दै छिनो ह्याम्मर चलाउन सकिँदैन । र छिनो ह्याम्मर नचलाए फेरि जिन्दगी चलाउन सकिँदैन ।
सिलौटा बनाउने ढुङ्गा नेपालकै चुरे क्षेत्र र भारतबाट आउँछ । भारतीय ढुङ्गा महङ्गो पर्ने भएकाले धेरैजसो नेपालकै ढुङ्गा खरिद गर्छन् विरेन्द्र । ठेकेदारसँग एकपटक किनेको ढुङ्गाले तीन महिनासम्म सिलौटा बनाएर बेच्न पुग्ने विरेन्द्रले बताए ।
पहिले विरेन्द्र आफैँले पनि ढुङ्गा फुटाए । त्यसैले तराइका धेरै खोला किनार र पहाडका चट्टासँग उनको गहिरो सम्बन्ध छ । यो सम्बन्ध अझै टुटेको छैन ।
विरेन्द्र ठेकेदारसँग रिङको हिसाबले ढुङ्गा खरिद गर्छन् । एक रिङ ढुङ्गाको करिब एक हजार रुपैयाँ पर्छ । एक रिङबाट मध्यम आकारका तीनवटा सिलौटा बन्छन् । एउटा सिलौटो पाँचदेखि आठ सय रुपैयाँसम्ममा बिक्छ । ‘ज्याला कटाउँदा एउटा सिलौटोबाट ५० देखि सय रुपैयाँ नाफा हुन्छ‚’ विरेन्द्र भन्छन् ।
ठेकेदारले एकैपटकमा ३० रिङ ढुङ्गा ल्याइदिन्छन् । ढुङ्गा लिन विरेन्द्रले ऋण लिन्छन् । त्यसको ब्याज पनि तिर्नुपर्छ । तर कति प्रतिशत ब्याज भन्ने उनलाई थाहा छैन ।
फस्टाउँदो जडिबुटी टाक्सिँदो व्यापार
सर्लाहीमा विरेन्द्रको जायजेथा केही छैन । चाडपर्वका बेला कहिलेकाहीँ गाउँको सम्झनाले मात्र उनी गाउँ पुग्छन्, अरुबेला जडिबुटीमै रमाउँछन् । ‘१० वर्ष पहिले यो बाटो यति फराकिलो थिएन । जडिबुटी त शहरजस्तै लाग्दैनथ्यो । मान्छे पनि कम थिए, अहिले त जडिबुटी पनि ठुलो शहरै बनिसक्यो,’ विरेन्द्र सम्झन्छन् ।
जडिबुटी व्यस्त बन्दै गएपनि विरेन्द्रको व्यापार भने त्यस्तो गुल्जार छैन, बरु घट्दो छ । पहिले जडिबुटीमा दुईवटा मात्र सिलौटो पसल थिए । १० वर्ष पहिले मान्छेहरू खोजी खोजी सिलौटो किन्न आउँथे । तर अहिले उनको छेउमा सात आठवटा यस्ता पसल छन् । सोनी भन्छिन्, ‘अहिले त दिनमा बढीमा पाँचवटा मात्र सिलौटा बिक्री हुन्छ । कहिलेकाहिँ त एउटा पनि बिक्दैन, रित्तै हात घर फर्किनुपर्छ ।’
आजकाल व्यापार घट्दै गएकोमा विरेन्द्रलाई पिर परेको छ । ‘अहिले मिक्स्चर प्रयोग गर्ने धेरै भयो, त्यसैले सिलौटा व्यापार खस्कियो । अबको केही वर्षमा त मिक्स्चरले सबै सिलौटा खाइदिन्छ ।’ उनी दुखी सुनिए । उनको अनुमानमा अब १० वर्ष जति पछि कोही पनि मानिसले सिलौटा खोज्दैनन् ।
तर कहिलेकाहिँ सिलौटोमा पिसेको जस्तो स्वाद मिक्स्चरमा आउँदैन भन्दै सिलौटो खोज्दै आउने ग्राहक देख्दा भने उनको मरिसकेको आश ब्यूझिएर आउँछ । तर यसरी आउने मान्छे अति नै थोरै मात्र हुन्छन् । यति थोरै ग्राहकलाई पर्खिएर व्यापार गर्न त गाह्रो हुन्छ नि । विरेन्द्रले बनाएको सिलौटा विदेश पनि निर्यात हुने गरेको छ । यो व्यापार ठप्पै भयो भने ? एउटा अत्यासलाग्दो प्रश्न विरेन्द्र र सोनीलाई ।
‘त्यो त अब त्यहिबेला थाहा हुन्छ,’ विरेन्द्र निराश भए‚ ‘छोराहरू हुर्कँदै गएपछि हामीलाई हेर्छन् होला नि !’ लगत्तै उनमा आशाका त्यान्द्राहरू सल्बलाए ।
अन्य आर्जनको भरथेग
विरेन्द्र र सोनीसँग ढुङ्गाको मुर्ती कुँद्ने सीप पनि छ । उनीहरुले सबै देवीदेवताको मुर्ती बनाउन सिकेका छन् । तर यो सीपको प्रयोग भने मनग्ये गर्न पाएका छैनन् । ढुङ्गाको मुर्तीको अर्डर नै आक्कलझुक्कल मात्र आउँछ । मुर्ती बनाउन धेरै समय लागे पनि पैसा भने राम्रो आउने उनीहरुले बताए ।
उनीहरु जाँतो पनि बेच्छन् । काठमाडौंका ‘पुराना मान्छेहरू’ जाँतोको अर्डर दिन आउँछन् । अहिले होटल, रेस्टुरेन्टमा सजावटका लागि पनि जाँतो बनाउने अर्डर आउने गरेको छ ।
आफ्नो कामबाट जेनतेन गुजारामात्र चलेको छ । अलि पैसा कमाउन विदेश जाने कि भन्ने सोच पनि आउने विरेन्द्रले बताए । ‘लेखपढ छैन‚ के नै कमाइ होला र ?’ उनी सोच्छन्‚ ‘फेरि बालबच्चा पनि छाडेर जानुपर्छ । होस्‚ बरु यहिँ ठिक छ, घर परिवारसँगै त बस्न पाएको छु ।’ अनि चित्त बुझाउँछन् ।
छोरा र सपनाहरू
आफ्नो जीवन ढुङ्गामा छिना खोपेरै चलाइरहेका विरेन्द्र र सोनीलाई छोराहरु भने यो पेसामा अड्याउन मन छैन । दुवै छोरालाई राम्रो पढाउने उनीहरुको धोको छ । उनीहरु छोराहरुलाई सिलौटा र मूर्ति बनाउने सीप भने सिकाउन चाहन्छन् ।
‘छोराहरुलाई यो सिप त सिकाउँछु ताकि भोलि आवश्यक परे उनीहरूले सिप उपयोग गरुन् तर पेशा नै यहीचाहिँ नबनाओस्‚’ उनले भने ।
आमाको काखमा बसिरहेका सानो छोरा पवन ठबईले तोते बोलीमा ‘डाक्टर’ भन्ने सपना सुनाए । उनको उत्तर सुनेर दङ्ग परेका विरेन्द्रले उसलाई देखाउँदै भने ‘यो निकै बाठो छ ।’ कुरा गर्दा गर्दै टुप्लुक्क बुबाको छेउमा आइपुगेका विरेन्द्रका ९ वर्षीय जेठो छोरा विष्णुले ठूलो भएर पुलिस बन्ने बताए ।
विरेन्द्रलाई भगवानको मुर्ति बनाएर व्यवस्थित तरिकाले बेच्ने रहर छ । तर त्यसका लागि आफूसँग लगानी छैन । मुर्ति बेच्न पाए अलि राम्रो कमाइ हुन्थ्यो कि भन्ने उनीहरूको आशा हो । जसबाट उनीहरू अहिलेको जिविकोपार्जनसँगै अलिकति बचत पनि गर्न सकून् । ताकि यसले छोराहरुको अझ छोराहरूमार्फत आफूले देखेको सपना पूरा गर्न उनीहरुलाई राम्रो स्कुलमा पढाउन सकियोस् ।